एघार दिनपछि खुले चिया बगान

झापा, २२ चैत । लकडाउन भएको ११ दिनपछि शनिबार झापाको चिया बगान आंशिकरुपमा खोलिएको छ ।

नेपाल चिया उत्पादक सङ्घले व्यक्तिगत सुरक्षा अपनाएर चिया बगान खोल्न सरकारले नै अनुमति दिएको जनाएको छ । झापामा ३० वटा चिया उद्योग र सानाठूला गरी ३०० भन्दा बढी चिया बगान रहेका छन् ।

कोडिभ–१९ सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनसँगै बन्द गरिएका बगानहरु व्यक्तिगत सुरक्षा सामग्री प्रयोग गरेर मजदूरले काम गर्ने गरी आंशिकरुपमा खोलिएको हो ।

नेपाल चिया उत्पादक सङ्घका उपाध्यक्ष आदित्य पराजुलीले चियाको पहिलो मुना बगानमै हुर्किएर काम नलाग्ने भएपछि त्यसलाई काट्ने, स्प्रे गर्ने र पानी पटाउनेलगायतका काम थालिएको बताए ।

बगानको काम मास्क, ग्लोब लगाएर गर्न सकिने उनको भनाइ छ । बगान नबिग्रियोस् भनेर अहिले आंशिकरुपमा काम सुरु गरिएको उनको भनाइ छ ।

आगामी दिनको अवस्था हेरेर सुरक्षित तवरले मजदूरलाई काम लगाउने सकिने वातावरण भए पूर्णरुपमा चिया बगान र कारखाना खोलिने उनले बताए ।

नेपाल चिया विकास निगम भाडामा सञ्चालन गरिरहेको साङ्घाई ग्रुपले कन्याम, टोकला, बर्नेलगायतका इलाम र झापामा रहेका बगान र फ्याक्ट्री पूर्णरुपमा खोलिएको जनाएको छ ।

साङ्घाइ ग्रुपका सञ्चालक सुवास साङ्घाइले चिया बगानमा मजदूरलाई हात धुने साबुन पानी, मास्कलगायतका व्यक्तिगत सुरक्षाका सामग्रीको व्यवस्था गरेर काममा लगाइएको बताए ।

Loading...