लकडाउनमा घरघर पुग्छ तरकारी

काठमाडौं, २२ चैत । कोरोना महामारी नियन्त्रणका लागि सरकारले लक डाउन आह्वान गरेको छ । लक डाउनका कारण बजार पसल बन्द छन् ।

लक डाउनमा किसानको बारीमा तरकारी कुहिने र उपभोक्ताले खान नपाउने स्थिति श्रृजना भएपछि भक्तपुरका युवाहरु उपभोक्ताको घर घरमा तरकारी पुर्याउन थालेका छन् ।

कृषि उत्पादनले बजार नपाउने तथा उपभोक्ताले खान नपाउने स्थिति श्रृजना भएपछि भक्तपुरका युवाहरु किसानको बारीबाट सिधै उपभोक्ताको घरमा तरकारी पुर्याउन काममा जुटेका हुन् ।

भक्तपुरका अगुवा कृषकहरु यतिबेला किसानको बारीमा गएर तरकारी संकलन गर्ने र उपभोक्ताको घर घरमा पुर्याउने काममा व्यस्त बनेका छन् ।

उनीहरुलाई प्रत्येक दिन बिहान किसानको खेतमा गई तरकारी संकलन गर्ने , संकलित तरकारीलाई प्याकेजिङ गर्ने र उपभोक्ताको घर घरमा पुर्याउने काम भ्याईनभ्याई छ ।

किसान प्रचण्ड प्रधान कालिमाटीको तरकारी बजारको मुल्यलाई आधार बनाई हरेक दिन कृषकबाट तरकारी किनेर ढुवानी र ज्याला खर्च थप गरि सिधै उपभोक्ताकोमा पुर्याउने गरेको बताए ।

खेर जाने हरियो तरकारीमा २५ देखि ३० र खेर नजाने आलु प्याज जस्तो तरकारीमा १० देखि १२ प्रतिशत मार्जिन राखेर युवाले उपभोक्ताको हातसम्म तरकारी पुर्याउने गरेका हुन ।

चाँगुनारायण र सूर्य विनायक नगरपालिका तथा वडाका पदाधिकारीसंग समन्वय गरेर तरकारी टोलटोलमा पुर्याउने गरिएको उनीहरुले बताए ।

तरकारी बोकेको गाडी स्थानीय पदाधिकारी र स्वयम सेवकहरुसंगको समन्वयमा टोलटोलमा पुग्छ । र १–१ मिटरको दुरीमा रहेका उपभोक्तालाई प्याकेजिङ गरेको तरकारी वितरण गर्छन् ।

बिहान सांझ उपभोक्ताको घर घरमा पुर्याउने तरकारी वितरणमा पनि यो समुहले थप सर्तकता अपनाएको छ । तरकारीमा विषाधी छर्दा लगाउने रेनकोट जस्तो पोशाक, पञ्जा, मास्क लगाएर तरकारी वितरण गर्ने गरिन्छ । गत बर्ष कृषि ज्ञान केन्द्रले विषधी छर्ने बेला लाउने गरि दिएको पोशाक नै किसानसँग मागेर अहिले तरकारी वितरणका बेला लगाउने गरिएको नेमा फुकीले बताए ।

Loading...