कोरोना त्रास (कविता)

नारायण खड्का 

स्वच्छ छ आकाश

स्वच्छन्द छ बतास

हाँसिरहेछ हिमाल

तर सुनसान छ सडक

गुमनाम छ बजार

मौन छन् आवाजहरु

र मलिन छन् मुहारहरु ।

काल पसेको छ

डरलाग्दो भाइरस बनेर

मान्छे आफन्तसँगै डराइरहेछ

आफ्नैलाई बिरानो सम्झिंदै

एकान्तमा चुपचाप हराइरहेछ

मुन्टो बटार्छ आफैंसँग झर्किन्छ

छिमेकीसँग अनायासै तर्सिन्छ ।

मृत्युको भय छाएको छ

तर्सिरहेका छन् मनहरु

काँपिरहेका छन् स्वरहरु

गुम्सिएको छ मान्छे

स्तब्ध छन् भावहरु

ठूलो छाल आउने हो कि

घोर अन्धकार छाउने हो कि ।

हतोत्साहित छ मान्छे

मनहरु भित्रभित्रै जलिरहेछन्

अदृष्य भाइरसको भयले

शरीरहरु हरदिन गलिरहेछन्

मृत्युको भयमा अत्यासिएर

सपनाहरु गर्ल्यामगुर्लुम ढलिरहेछन् ।

थाहा छैन

घाम डुब्न लागेको बेला

आँधिबेहरी आउने हो कि

क्वारेन्टाइनमा बस्दा

कालो बादल छाउने हो कि

कुन रात अन्तिम हुने होला

कुन बात अन्तिम हुने होला ।

ताराको चमक हरायो

जुनले मौनता साँधिरहेछ

कहिले हुरी वेगमा चल्छ

कहिले बादल धुम्म बस्छ

बेमौसमी खडेरी पर्ने हो कि

अनायसै असिना झर्ने हो कि

प्रकृति आफैं डराए जस्तो

जिउने आशै हराए जस्तो ।

मृत्युको विजय कहाँ छ?

मृत्युको खील कहाँ छ?

अब उठ्नै पर्छ विश्व फेरि

जोड्नै पर्छ भाइचाराको डोरी

कोरोना साम्राज्य तोडिनै पर्छ

लकडाउनको जन्जीर फोडिनै पर्छ

आउनुहोस् जगाऔं जीवनका आशाहरु

उमारौं उमङ्ग¸ खुशी र हाँसोहरु

र भगाऔं कोरोना¸ मृत्यु र निराशाहरु ।

काठमाण्डौं

Loading...