“सेवा बनोस् जिन्दगी” (कविता)

कृष्णशरण उपाध्याय

कालो बादल झैँ बनी मुलुक मा, बाँच्ने कुरा त्याग्नु छ
औँसी को रजनी सधैं हृदय मा, साँच्ने कुरा त्याग्नु छ
बाधा – विघ्न सँगै निरन्तर लडी, गन्तव्य खोजूँ सधैं
बाँचेको किन हो भनेर मन मा,  फर्केर सोधूँ सधैं

लामो आयु लिएर रावण बनी, बाँचेर के हुन्छ खै ?
राम्रो स्वास्थ्य लिएर दानव बनी, हाँसेर के हुन्छ खै ?
आत्मा मा यदि रक्तबीज छ भने, यो देह चाँडै ढलोस्
पग्लोस् तर्तर घाम बाट हिउँ झैँ, सन्ताप बन्दै गलोस्

ढुङ्गा झैँ छ सुषुप्त निष्क्रिय भने, त्यो लाश हो जिन्दगी
अल्छी निश्चल जीर्ण चित्त छ भने, त्यो भास हो जिन्दगी
यस्तो जीवन बाँच्नु छैन भगवान् ! देऊ नयाँ जीवन
कीरा भैकन खान कत्ति न परोस्, यो जिन्दगी को कण

अल्छी को सपना बनेर न रहोस्, आगो बनोस् जिन्दगी
जोड्ने जाति र धर्म को गहकिलो, धागो बनोस् जिन्दगी
हेर्दा मात्र युवा छ किन्तु मन ले, बूढो न होस् जिन्दगी
नौला पल्लव-पुष्प-पत्र न दिने, मूढो न होस् जिन्दगी

थोरै बाँच्न मिलोस् परन्तु मह झैँ, मीठो बनोस् जिन्दगी
टर्रो तिक्त विषाक्त या अगतिलो, गीठो न होस् जिन्दगी
मायाँ केवल मातृभूमि सँग होस्, सेवा बनोस् जिन्दगी
भावी सन्तति का निमित्त बलियो, टेवा बनोस् जिन्दगी

Loading...