सभ्य बलात्कारी (कथा)

-राज अवस्थी

उनी छिटै सुते, थाकेर होला ।
म भने सुत्न सकिनँ किनभने सुहागरात केवल चलचित्र या कथामा मात्र रमाइलो थियो । उनको पुरुषत्व र आवेगले मेरो पेटका मांशपेसी दुखेको थियो ।
म सुत्न सकिनँ, उनको सन्तुष्ट घुराइमा म आफूलाई खोजिरहेकी थिएँ तर शायद पाइनँ मैले आफूलाई उनीभित्र।

उनले मलाई सोधेनन्, मेरो थकाइ बारे कुनै प्रश्न गरेनन् । हरेक बिहान ओच्छ्यानमै उनलाई चिया चाहिएको थियो र हरेक साँझ ओच्छ्यानमै मेरो शरीरको डस्ना । उनले मलाई माया गर्छु भने, मैले पत्याइरहेँ ।
मलाई मेरो माइतीले पनि त त्यही सिकाएको हो, पतिलाई माया गर्नु, सेवा गर्नु, मैले गरिरहें ।
उनलाई उसका घरकाले पत्नीलाई माया गर्न सिकाउन भ्याएनछन्, उनी सभ्य बलात्कारी बनेर मलाई बलात्कार गरिरहे ।

शुक्रबारको साँझ थियो र मेरा पति साँच्चै राति अबेरसम्म कार्य गरिरहेका थिए । उनी ती दिनमा वास्तवमैं व्यस्त थिए । मलाई नराम्रो लाग्छ किनभने उनले हप्तामा केवल एकदिन मात्र बिदा पाउँछन् तर खुशी लाग्छ किनभने उनी भन्छन् कि म तिमीलाई माया गर्छु !

म केवल गृहणीमात्र हैन, म त महत्वपूर्ण भूमिका निर्वाह गर्ने गृहणी पनि हुँ । उनी कमाउने कार्य गर्दछन् र म ब्यबस्थापन गर्ने गर्दछु । पैसाले मात्र खाना पाक्दैन नि, म त्यो स्त्री हुँ जसलाई जीवनका रसायन र घरको भौतिक विज्ञान पनि थाहा छ ।

अफिसबाट सोझै घर आएका उनले लुगासम्म फेर्न भ्याएका थिएनन् । काम सकाएर कोठामा आए । सुस्तरी कपडा खोले, मैले उठेर उनलाई कपडा खोल्न सर्टका बटन खोलेर सहयोग गरेँ ।  मेरो कम्मरमा समाते र आफ्नो शरीरतर्फ ताने, मैले नाईँ भनेँ । मेरो पेटमा पीडा थियो । भनेँ “माफ गरिदिनुहोस्, नछुने भएको केवल अस्तिको सोमबार मात्र हो ।“ उनले मलाई छाडे यसरी मानौ आँप खाएर कोया फाले झै फाले !
उनले भने, हस ठीकै छ म बाहिरै केही व्यवस्था गर्छु… लुगा बाँडेजस्तो म श्रीमान बाँड्न कहाँ सक्छु र ?
मैले सहिरहें उनको बाहिरी व्यवस्थापनको कुराले मेरो पीडालाई मैले माफ गरेँ, उनी चढिरहे म रोइरहेँ, आँखाबाट आँसुका ढिक्का झारिरहेँ ! 

मलाई ओच्छ्यानमा फालेर उनी हामफाले, यस्तो लाग्यो कि माया गर्नु उनका लागि विकल्प हैन बाध्यता हो । उनी भन्छन्, तिमीलाई म माया गर्छु!
शायद यो मायाले नै होला मेरो शरीरको अवस्थाको उनलाई वास्ता छैन । मलाई मेरो श्रीमानको यो कुरा मन पर्दैन, विवाहदेखि ओच्छ्यानसम्म उनले सँधै मेरो भावनाको कदर गरेका छैनन् ।

अरु केही हैन, मेरो मन हुन्छ या हुँदैन्, पीडा छ या छैन त कम्तिमा सोध, मेरो भावना बुझिदेऊ ।

म अनि मजस्ता धेरै आजसम्म पनि यस्ता सभ्य बलात्कारको शिकार भएका छन् । बलात्कारीलाई थाहा होला नहोला तर हाम्रा पेटका मांशपेसीहरु दुख्दछ, कम्मरमुनिको त्यो दुखाईबीच हामी मुस्काइरहेका हुन्छौं तर पीडा झुठो हुँदैन । श्रीमानले माया गर्दछ भन्दैमा श्रीमानलाई नाई भन्न नहुने यो कस्तो चलन हो ? मलाई मिलेर बस्नु छ, मेरा श्रीमान राक्षस पनि त हैनन् ।

उनी साँच्चै मलाई माया गर्छन्, अब मैले नाईँ भन्न थालेकी छु । बाहिरी व्यवस्थापनको धम्कीलाई जस्ताको तस्तै जवाफ पनि दिन्छु । दुई अक्षर पढेकी छु, उनको जत्तिकै कमाई म पनि गर्न सक्छु हैन र ? सम्बन्ध बिच्छेद मेरो ओखती हैन्, दुबैबीचमा हुने समझदारी मेरो ओखती हो ।

नारी र पुरुष बिना यो समाज चल्दैन्, आजभोलि मैले बोल्न थालेपछि श्रीमानले बुझ्न थाल्नुभएको छ । दुवैलाई इच्छा लाग्दा गरिएको मायाले पुरुषत्व र नारीत्वलाई पुनर्ब्याख्या गरेको छ । मेरा सभ्य बलात्कारी अब त्यस्ता छैनन्, मेरो मौनताले उनलाई बलात्कारी बनाएको रहेछ ।

कहिलेकाहिँ उनले अधिकार जमाउन खोज्दा मैले चुप लगाउन जानेकी छु ।
किनकि म पनि त उनै श्रीमानकी पत्नी हुँ !!!!

महेन्द्रनगर, कंचनपुर

Loading...