भारतमा जुम्ल्याहाको नाम ‘कोरोना’ र ‘कोभिड’ राखियो

एजेन्सी, २१ चैत । विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का बेला जन्मिएको भन्दै भारतमा जुम्ल्याहाको नाम ‘कोरोना’ र ‘कोभिड’ राखिएको छ ।

बीबीसीका अनुसार भारतको छत्तीसगढस्थित रायपुर शहरमा जन्मिएका नवजात जुम्ल्याहाका नाम कोरोना र कोभिड राखिएको हो ।

कोरोनाको प्रकोपका बेला जन्मिएका उनीहरूको नाम अभिभावकले कोरोना र कोभिड राखेको बीबीसीले जनाएको छ ।

ती जुम्ल्याहा रायपुरस्थित डा. बीआर अम्बेडकर मेमोरियल अस्पतालमा जन्मिएका हुन् ।

उनीहरूका अभिभावकले विश्वले भोगिरहेको अप्ठेरो समयमा जन्मिएका हुनाले त्यसलाई सम्झिरहन सन्तानहरूका नाम त्यसरी राखेको बताएका छन् ।

स्थानीय सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा ती जुम्ल्याहाकी आमाले बच्चा जन्माउँदा निकै कठिनाइ भएको बताइन् ।

उनले भनिन्, ‘हामीले धेरै चुनौती खेप्यौँ, म र मेरा श्रीमान् यो दिनलाई विशेष बनाउन चाहन्थ्यौँ ।’

उनलाई २६ मार्चमा बेथा लागेको थियो भने त्यसको भोलिपल्ट जुम्ल्याहा जन्माएकी थिइन् ।

Loading...