लकडाउनको मारमा कवाडी संकलन गर्नेहरू

मोहन ढकाल
विराटनगर, २१ चैत । कोरोना भाइरस संक्रमण रोकथामका लागि भएको देशव्यापी लकडाउनको असरले विराटनगरका दैनिक मजदुरी गरिखाने रिक्सा ठेलावाला मात्र नभएर कवाडी संकलन गर्नेहरूसमेत मारमा परेका छन् ।

विराटनगर महानगरमा कवाडी संकलन गरेर दैनिक गुजारा गर्नेहरू ५० जनाभन्दा बढी छन् । लकडाउनले गर्दा उनीहरूको काम ठप्प छ ।

कवाडी संकलन गर्न हिँडडुल गर्न पाउँदैनन् । र संकलन भएका कवाडी पनि किनिदिने कोही छैनन् ।

मोरङको आमतोला घर बताउने सोनु भुजेल कवाडी संकलन गरेर गुजारा चलाउन थालेको ५ महिना भयो । लकडाउनपछिचाहिँ उनी भोकभोकै पर्न थालेका छन् ।

उनी कहिले कसैले एक छाक दिएको खान्छन् भने कहिले भोकै बसेर दिन काटिरहेका छन् ।

लकडाउनमा भोकै नपरियोस् भनेर कवाडी संकलन गनेहरू आजकल १५–२० जनाको समूह बनाएर फुटपाथमा भेला भएर समय कटाउने गर्दैछन् ।

राति पनि उनीहरू फुटपाथमै सुत्छन् ।

कोही साथीले केही खाना ल्याएमा बाँडेर खाएर उनीहरू भोक शान्त पार्ने गरेका छन् ।

सबैलाई एउटै चिन्ता छ, ‘लकडाउन खुल्ला, कवाडी खोज्न निस्कौंला र बेचेको पैसाले अघाउँजी मासुभात खाउँला ।’

टोल सडकमा डुलेर फोहोरमा कवाडी संकलन गर्नेहरू कोरोना भाइरस संक्रमणको उच्च जोखिममा हुन्छन् ।

कोरोना सल्काउने त्रासले उनीहरूलाई शहरका टोलमा जान पनि मनाही छ । जानुपनि कसरी सबैतिर टोलबासीले नयाँलाई प्रवेश निषेध भनेर तगारो हालेका छन् ।

यसैले उनीहरू दिनभरि एकैठाउँ बसिरहन बाध्य छन् ।

लकडाउन कहिले खुल्ला र कवाडी खोज्न निस्कौंला भन्ने पर्खाइमा रहेका उनीहरूलाई कोरोना लाग्ला मरिएला भन्ने पीर पटक्कै छैन ।

तेह्रथुम घर बताउने कवाडी संकलक रत्न बस्नेत भन्छन्, ‘हामीलाई कोरोनाको भन्दा पनि भोककै डर धेरै लागेको छ ।’

Loading...