लकडाउनमा भीखारीलाई भोकको पीर

मोहन ढकाल
विराटनगर– २० चैत

मिति–२० चैत २०७६
समय–अपरान्ह्र दिउँसो ।
स्थान– विराटनगर महानगरको काली मन्दिर अगाडि ।

मन्दिर अगाडिको फुटपाथमा दुई व्यक्ति अगाडि हेरेर बसिरहेका छन् । एकजना ह्वील चियरमा र अर्काे भुइँमा बसेर कसैले दिएको पैसा मिलाउँदै छन् । उनीहरू दुवैको मुहार निन्याउरो छ ।

ह्वील चियरमा बसेका बोल्न सक्दैनन् । अर्की वृद्धा छिन् । दुवैको ध्यान बन्द भएको मन्दिरमा बाहिरबाटै भएपनि कोही दर्शन गर्न आउला र हामी जस्ता दुःखीलाई केही देलाकी भन्नेमा छ । कसैले केही दिँदा उनीहरूको मुहारमा केही उज्यालो छाए जस्तो हुन्छ ।

….

काली मन्दिर अगाडि देखिएका दुई भिखारीहरू प्रतितिधि पात्र मात्रै हुन् । विराटनगरमा उनीहरू जस्तै मागेर गुजारा चलाउने एक सयभन्दा बढी छन् । उनीहरू विभिन्न मन्दिर अगाडि साँझ–बिहान बसेर माग्ने गर्छन् । र, प्राप्त भएको अन्न र पैसाले आफ्नो गुजारा चलाउँछन् । कोही बजारका पसल–पसल र घर–घर चहारेर रुपैयाँ–पैसा संकल गर्छन् । कोही दिनभरि संकलन गरेको पैसाले आफू र परिवारको पेट पाल्छन् भने कोहीचाहिँ फजुल खर्च गरेर सिध्याउँछन् ।

….

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको त्राससँगै देशमा ११ चैतदेखि पूर्ण लकडाउन भएको छ । र, लकडाउनसँगै उद्योग व्यापार, पेशा, सबै बन्द भएका छन् । यति मात्र हैन भीडभाड हुने सिनेमा घर, मल, यातायातदेखि मन्दिर, मस्जिद र गीर्जाघरहरू पनि बन्द गरिएका छन् ।

जसको असर घर र पसलमा जानेहरू मात्र नभएर मन्दिर, मस्जिद र गीर्जाघरहरूमा भीख माग्ने भीखारीहरूमा प्रत्यक्ष परेको छ । उनीहरू भोकभोकै पर्न थालेका छन् । कसैले दयाले केही दिइहाल्लाकी भनेर उनीहरू भन्ने आशमा मात्र छैनन् । थाहै नपाई एकबाट अर्कामा सर्ने कोरोना प्राणघातक कोरोना भाइरस संक्रमणको जोखिमबारे भीखारीहरूलाई कुनै मतलब छैन ।

उनीहरूमा छ भने मात्र एउटै पीर छ त्यो हो लकडाउन अन्त्य्, होस धार्मिक केन्द्र र बजार खुलुन् । लकडाउनले गर्दा उनीहरू घरघर भएर भीख माग्न पनि पाउँदैनन् । गयो भने नयाँ मान्छे कोरोना लिएर आयो भनेर मानिसहरूले खेदाउँछन् ।

यसैले उनीहरू आफ्नो नेत्रलाई तन्काएर दिनभरि मन्दिरमा कोही आउला र देलाकी भनेर पर्खिरहन्छन् । ‘उठ भीखारी फडकार छाला जहाँ जाला मागेरै खाला’ भन्ने लम्पट सर्वहाराको उपाधि पाएका भीखारीहरू लकडाउन अझै लम्बिएमा भोकले मरिएलाकी भन्ने पीरले त्रसित छन् ।

तर गरिब–दुःखीहरूलाई सहयोग गर्नुपर्छ भन्ने भावना मान्छेमा अझै मरेको छैन । यसैले लकडाउनमा पनि उनीहरूलाई कसैन कसैले केही न केही दिइरहेका छन् । कहिले कसैले दिएको खाना त कहिले पाएको पैसाले उनीहरू गुजारा चलाउँदैछन् ।

तर लकडाउन महिनौं लम्बिएला र आफूहरूलाई सहयोग गर्नेहरू पनि कोही हुने छैनन् भन्ने उनीहरूलाई पीर छ । वर्षौंदेखि विराटनगरमा भीख मागेर गुजारा चलाइरहेका भीखारी रमालाल भन्छन्, ‘मान्छेलाई कोरोनाले मरिएला की भन्ने त्रास छ तर हामीलाई भोकले मरिने भैयो भन्ने पीर भयो ।’

Loading...