क्वारेन्टाइनमा राखिएकाको स्वास्थ्य परीक्षण भएन, निजी डेरी उद्योग धमाधम बन्द

विराटनगर, २१ चैत । क्वारेन्टाइनमा राखिएको ९ दिन वितिसक्दा पनि एक युवकको स्वास्थ्य परीक्षण हुन सकेको छैन । कोरोना भाइरसबाट सङ्क्रमित भएकी युवतीसंगै नेपाल आएका बाह्रदशी गाउँपालिका–१ खयरवारीका एक युवकलाई क्वारेन्टाइनमा राखेको नौ दिन बितिसक्दा पनि उनको स्वास्थ्य परीक्षण हुन नसकेको हो ।

कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीसंगै ती युवक पनि नेपाल आएका थिए । उनलाई चैत ११ गतेदेखि बाह्रदशी गाउँपालिका–३ राजगढमा गाउँपालिकाले तयार गरेको एस्तार हस्पिटल एण्ड रिसर्च सेन्टरको क्वारेन्टाइनमा राखिएको छ । हाम्रोमत दैनिकको अनलाइनमा खबर छ ।

चैत १२ देखि घोषित लकडाउनका कारण देशभरका निजी डेरी उद्योग धमाधम बन्द भइरहेको बेला ती डेरी उद्योगमा संकलन हुने दुधलाई विराटनगर दुग्ध वितरण आयोजनामा रहेको धुलो दुध कारखाना ल्याएर धुलो बनाउन थालिएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमपछि निजी डेरी उद्योगहरुले दुधजन्य वस्तुको उत्पादन बन्द गरेका छन् । निजी डेरी उद्योगहरुमा संकलन हुने दुधलाई पाउडर दुध उत्पादनका लागि उनीहरुले दुग्ध विकास संस्थानको विराटनगर दुग्ध विकास आयोजनामा पठाएका हुन् ।

प्रदेश १ का विभिन्न १० वटा चिस्यान केन्द्र र विभिन्न स्थानबाट संकलन गरिएको दुधमध्ये आयोजनाले दैनिक २५ हजार लिटर दुधलाई प्रसोधन गरेर धुलो दुध उत्पादन गर्दै आएकोमा लकडाउनपछि दैनिक ७५ हजार लिटर दुधलाई धुलो बनाइरहेको आयोजनाका निमित्त प्रमुख गणेशकुमार यादवले बताए । उद्घोष दैनिकको अनलाइनमा खबर छ ।

Loading...