टाउकामाथिको तरवार बन्यो घाँटीको पासो


दलजित श्रीपाइली


‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्नँ। म देश र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतीज्ञा गर्दछु’ यो भनाइ नेपाल सरकारको हो।

नेपाल सरकारका सबै अंग र निकायहरुमा यो साइनबोर्ड झुण्डयाएको छ। नेपाल सरकार देश र जनताको अभिभावक हो। जनताको भाग्य र भविष्य सरकारकै हातमा छ।

तर बढलिदो परिस्थितिसँग नेपाल सरकारको ‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने नारा नै सरकारलाई आफैलाई घाँडो बनेको छ। टाउकोमाथिको तरबार र घाँटीको पासो बनेको छ।

छिमेकी राष्ट्रहरु चीनले भ्रष्टाचारीलाई गोली हानेर मारिदिन्छ, भारतले बलात्कारीलाई झुण्डयाएर मारिदिन्छ।

विश्वका विभिन्न देशहरुले संविधान, ऐन, कानूनको उल्लंघन गरी गम्भीर अपराध ठहर गरेपछि सार्वजनिक स्थल, सडक चोकमा लिएर ढुंगाले हिर्काएर, कोर्रा लगाएर मारेका इतिहास साक्षी छन्।

गम्भीर अपराध पुष्टि भएमा जनतादेखि उच्च पदस्थ व्यक्तिहरु समेतलाई गोली हानेर, झुण्डाएर, फाँसी दिन्छन्।

नैतिकताका प्रश्न उठनेबित्तिकै राजीनामा दिन्छन् र कानूनी कार्वाहीको भागिदार बन्छन्। देश र जनतालाई राज्यको संविधान, ऐन, कानूनले बाँधेको छ। विधि र प्रणालीमा सरकार र जनताहरु चलेका छन्।

हाम्रो देश नेपालमा बनेको संविधान, ऐन, कानूनहरु सम्भवतः विश्वमै उत्कृष्ट मानिन्छन्। तर, व्यवहारमा लागू हुन नसक्दा नेपालमा हत्या, बेपत्ता, लुटपाट, आगजनी, बलात्कार र भ्रष्टाचारका घटनाहरुले सीमा नाघेका छन्।

दण्डहिनताका कारण पीडक उम्कने र पीडितले न्याय नपाउने अवस्था छ। सरकारको मौनता र रमितेपनले देश नै अशान्त बनेको छ।

नेपाली जनताहरु चाहन्छन्, ‘सरकारले अपराधीहरुलाई फाँसीको सजाय दिनुपर्छ।’ सरकार भन्छ, ‘शान्ति राष्ट्र नेपाल, संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र, फाँसी दिने कानून छैन।

सरकार र जनताबीचको यो दुरीले न्याय र स्थायी शान्तिको दुरी टाढिएको भान हुन्छ।

संविधान, कानून अपरिवर्तनीय विषय होइन, संविधान, ऐन, कानून संशोधन गरेर नेपालमा सजायको स्वरुप निर्धारण गर्न सकिन्छ।

दुइतिहाई बहुमतको सरकार छ, नेपाली जनताको साथ छ। यसतर्फ ध्यान नदिनु र देशमा दिन प्रतिदिन घटिरहेका गम्भिर अपराधका घटनाहरुप्रति सरकार मौन रहनुले सरकारको क्रियाकलाप र नियतप्रति नै जनताहरुले प्रश्न उठाइरहेको छन्। ।

घटनाका प्रकृतिहरु विभिन्न छन्। तर यतिबेला भ्रष्टाचारले सबैको ध्यानाकर्षण गरेको छ।
भ्रष्टाचारका मुख्य श्रोतहरु तथ्य र सत्य प्रमाणसहित अख्तियार दुरपयोग अनुसन्धान आयोगले पुष्टि गर्न सक्छ।

अख्तियारको नजरमा सवैभन्दा बढी भ्रष्टाचारको थलो सरकारी कार्यालय, कर्मचारी र राजनीतिक व्यक्तित्व, उद्योग, व्यवसायी, विकास निर्माण, यातायात, राजश्व विभाग नै पर्दछन्।

जनगुनासा र अपचलनका मुद्दाहरु जति पनि अख्तियारमा दर्ता छन्, ती सबै सत्यतथ्य पत्ता लगाई कार्वाही हुन सकेको छैन।

बेनामी मुद्दाहरु अख्तियारमा जानुले सत्यतामा प्रमाण जुटाउन अख्तियार आफैमा अल्मलिने र कमजोर बन्ने गरेको छ।

कर्मचारी र राजनीतिक नेतृत्वबीचको मिलोमतोमै भ्रष्टाचार र भ्रष्टाचारी मौलाएका छन्। राजनीतिक नेतृत्वभन्दा टाक्कटुक्क मिलाउने काममा कर्मचारीहरु नै अगाडि भएको कुरा दिउँसोको घामझैं छर्लङ्ग छ।

ऐन, कानून छल्ने र नीतिगत रुपमा योजनाहरु मन्त्रीपरिषदबाट पारित गराउने विधि कर्मचारीलाई बढी थाहा हुन्छ। राजनीतिक नेतृत्व भ्रष्टाचारीहरुको घेरामा पर्‍यो भने भ्रष्टाचार मौलाउने खतरा बढ्छ। राजनीतिक नेतृत्व क्षणिक सुविधाका लागि वर्गच्यूत हुनु हुन्न।

भ्रष्टाचारको असली श्रोत नीतिगत योजनाको निर्णय गराउने र कार्यन्वयनमा विश्वासी सहयोगी र आफन्तको प्रयोग गरी कमिशन लिने र कमिशन बाँडीचुँडी खाने प्रवृत्तिले संस्थागत भ्रष्टाचार हुने गरेको छ। भ्रष्टाचारका उर्वर क्षेत्रहरु अरु धेरै हुन सक्छन्, त्यो परिस्थितिले खुलाउँदै जाला।

भ्रष्टाचारको अन्त्य सर्वप्रथम मानिसको दिमागबाटै हुनुपर्छ। त्यसपछि भ्रष्टाचारीको दिन अन्त्य हुन्छ र देशमा सुशासन आउँछ, जनतामा सुख, शान्ति, अमनचयन कायम हुनेछ।

कार्यालयका भित्तामा ‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्नँ, म देश र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतीज्ञा गर्दछु’ भन्ने साइनबोर्ड टाँसेर भ्रष्टाचारको अन्त्य हुँदैन। भ्रष्टाचार देश र जनताका लागि क्यान्सर हो।

सरकारले भ्रष्टाचार र भ्रष्टाचारीहरु नेपाल र नेपाली जनताका लागि ज्यानमारा क्यान्सर रोग हुन् भनेर समयमा उपचार विधि अपनाउनुपर्छ। क्यान्सर पालेर बिरामी सञ्चो भएको इतिहास छैन।

युद्ध, प्राकृतिक प्रकोप, महामारी जस्ता महाविपत्ति पैदा भएको बेला जनताको सेवा गर्नुभन्दा पनि भ्रष्टाचार गर्नतिर लाग्ने जो कोही पनि जनताका सेवक हुन सक्दैनन।

देशको संविधान, ऐन, कानूनअनुसार कार्वाही नभएसम्म देशमा स्थायी शान्ति र सुशासन कायम हुनै सक्दैन। ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माण गर्ने एवं समाजवादको लक्ष्यमा बाधा पुर्‍याउने जो कोही पनि कानूनी कठघरामा उभिनैपर्छ।

यतिबेला विश्व समुदाय कोरोना भाइरस ९कोभिड–१९० बाट पीडित छ। आपसी सहयोग, मित्रता, सदभाव, भावना र संवेदनाबीच विश्व मानव समुदाय कोभिड–१९ विरुद्ध एकजुट भई लड्नुपरेको छ र विश्व मानव समुदाय नै कोभिड–१९ बाट मुक्त हुनु परेको छ।

जनतालाई आएको सहयोग भ्रष्टाचार गरी स्वाहा पार्ने होइन, जनताको सेवामै खर्चिन आवश्यक छ। नेपाल सरकारका सम्माननीय प्रधानमन्त्रीज्यूले चालेको भ्रष्टाचार निर्मुल गर्ने निर्णय र निर्देशन स्वागतयोग्य छ, यसलाई सफल पारौं।

भ्रष्टाचारीलाई कार्वाही गरौं, नेपाललाई भ्रष्टाचार र भ्रष्टाचारीमुक्त देश बनाऔं।
( यो लेख पुर्व खेलकुद मन्त्री दलजित श्रीपाइलीको फेसबुकबाट साभार गरिएको हो)

Loading...