काठमाण्डौ , २० चैत । लकडाउनका कारण गाईपालन व्यवसाय संकटमा पर्न थालेको छ
सरकारले लकडाउनको समयमा दुध, हरियो तरकारी, दैनिक उपभोग्य सामान, खाना पकाउने ग्यास, इन्धन लगायतका ढुवानीका साधन निर्वाध सञ्चालन हुने भनेपनि व्यवहारमा त्यस्तो नदेखिएपछि गाईपालन व्यवसाय संकटमा पर्न थालेको हो ।
पहिलो चरणको लकडाउनको समयमा गाईका लागि आवश्यक दाना, भुसा, पराल लगायतको मुस्किलले जोहो गरेका गाईपालक कृषक लकडाउनको समय लम्बिएपछि मर्कामा परेका छन । लकडाउन थपिएसंगै दाना, भुस, पराल लगायत आपुर्तिमा समस्या भएको छ ।
खासगरि काठमाण्डौ उपत्यका र आसपासका जिल्लाका शहर बजारमा गाईलाई खुवाउने दाना, भुसा, पराल पाईन छाडेको छ ।
यसैले गाइपालकहरु गाईनै फुकाएर छोड्ने स्थितिमा पुगेका छन् । खानाको कमिले गाईको स्वास्थ्यमा प्रतिकुल असर पर्दा दुध उत्पादनमा पनि कमि आउन थालेको निलबाराही मिश्रीत कृषक समुहका अध्यक्ष एवं गाईपालक किसान ताराबहादुर भण्डारीले बताए ।
गाईपालक कृषक प्रदिप श्रेष्ठले नेपाल सरकारले केही गरेर मान्छेलाई पाले जस्तै गाईबस्तु पनि बचाउनुपर्ने बताए । गाईपालकहरुका अनुसार काठमाण्डौ उपत्यकामा झण्डै ५ लाख गाई रहेको अनुमान छ ।
उनीहरुले गाईलाई आवश्यक पर्ने दाना, भुसा र परालको सहज आपुर्तिको समयमै व्यवस्था गर्नुको साथै उत्पादितको दुध व्यवस्थापनको प्रबन्ध मिलाउन र सरकारसँग राहत प्याकेज घोषणा गर्न माग गरेका छन् ।
कोरोना भाइरस संक्रमण रोकथामकालागि भएको लकडाउनले गर्दा दुधको संकलन र बिक्रिममा पनि पचास प्रतिशत कमी आएको छ । जसको प्रत्यक्ष असर गाईभैसी पाल्ने कृषहरुमा परेको छ ।