प्रदेश १ : कोरोना विरुद्धका सामाग्री प्रदेशभर पुग्यो, कोरोना जनसुरक्षा कोषमा ११ करोड बढी जम्मा

विराटनगर, २० चैत । प्रदेश १ सरकारले प्रदेशका विभिन्न अस्पतालहरलाई कोरोना संक्रमित र शंकास्पद विरामीको उपचारको लागि आवश्यक पर्ने सामाग्री वितरण गरेको छ । कोरोना संक्रमण जोखिम बढेसंगै सरकारले विभिन्न जिल्लाका अस्पताल स्वास्थ्यकर्मीका लागि संघीय सरकार र अन्यत्रबाट प्राप्त सामाग्री वितरण गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सचिव भरतमणि रिजालका अनुसार सरकारले प्राप्त गरेका र मौज्दात रहेका स्वास्थ्य सामाग्री वितरण भइरहेको छ । प्रदेश सरकारले सबैभन्दा धेरै ४२ हजार १ सय थान मास्क वितरण गरेको जनाएको छ । हाम्रोमत दैनिकको अनलाइनमा खबर छ ।

कोरोना रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा बुधबारसम्ममा ११ करोड रुपैयाँभन्दा बढि रकम जम्मा भएको छ । कोषमा प्रदेश सरकारले १० करोड रुपैयाँ जम्मा गरेको छ भने सामाजिक संघसंस्था, बैंक, वित्तिय संस्था र व्यक्तिहरुले १ करोड ९४ हजार रुपैयाँ जम्मा गरेका छन् ।

कोषमा मन्त्रिपरिषद्का सदस्यहरु र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक जम्मा गर्नुभएको छ । त्यस्तै प्रदेशसभाका सभामुख र उपसभामुखले १ लाख २१ हजार, प्रदेशसभा सदस्यहरुले २२ लाख ३० हजार, राउत कन्ट्रक्सन सर्भिसले ११ लाख, हुलास वायरले ११ लाख, अरिहन्त मल्टिफाइवरले ११ लाख, रघुपति जुटमिलले १० लाख रुपैयाँ जम्मा गरेका छन् । हाम्रोमतमा खबर छ ।

प्रदेश १ मा कोरोना भाइरस ९कोभिड १९० संक्रमणको आशंका गरिएका मध्ये बुधबारसम्म ५४ जनाको स्वाब संकलन गरी ल्याब परिक्षण गरिएको छ । त्यसमध्ये ४२ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

प्रदेशका विभिन्न अस्पतालबाट ५४ जनाको स्वाब संकलन गरि कोरोना भाइरसको परिक्षण गरिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सुरेश मेहताले बताए । । उद्घोष दैनिकको अनलाइनमा खबर छ ।

Loading...