निराशाले जन्माएको नकारात्मक सोचाइ र नयाँ सुरुआत

writter
डा. राजेन्द्र उप्रेती

वर्तमान दशक सामाजिक सञ्जालहरूले समाजलाई डोहोर्‍याइरहेको दशक बनेको छ । विभिन्न समय र घटनाहरूलाई मोड्न र ठीक गर्न सामाजिक सञ्जाल र यसका अभियन्ताहरूले उल्लेखनीय काम गरेका छन् । योसँगसँगै हाम्रो समाजलाई हेर्ने र बुझ्ने एउटा राम्रो माध्ययम पनि बनेको छ, सामाजिक सञ्जाल ।

आजभोलि हामीले प्रयोग गरिरहेका प्रायः सामाजिक सञ्जालहरूलाई सरसर्ति केलाउने हो भने बहुसंख्यक पोष्टहरू, नकारात्मक समाचारहरू र सोचले भरिएका हुन्छन् । त्यसमा पनि बहुसंख्यक त नकारात्मक शीर्षक हेरेर भित्र के छ पढ्दै–नपढी काइदाको खजाना भेटिए जसरी पोष्ट गरिएका हुन्छन् ।

वास्तविकताबाट धेरै टाढा रहेका यस्ता पोष्टहरूमा आ–आफना पट्टाधारी पक्षहरूमा लागेर अन्धाधुन्द कमेन्टहरू हुन्छन् । लाग्छ, वैचारिक युद्ध सुरु भएको छ । तर धेरैजसो त्यस्ता पोष्टहरूको सत्यतथ्यसँंग कुनै नाता हुँदैन स्यालहुइँयामा यस्ता समाचारहरू जन्मिन्छन् फैलिन्छन् र समाजमा नकारात्मक सोचाइको अर्को तह जमाएर हराउँछन् ।

यस्ता पोष्ट हाल्ने र फैलाउनेमा सर्वसाधारणदेखि आफूलाई निक्कै जान्नेसुन्ने हुँ भन्नेसम्म सक्रिय देखिन्छन् । सर्वसाधारण मानिसहरू त लहडमै कुदिहिँड्छन् तर आफूलाई निक्कै जान्नेसुन्ने हुँ भन्नेहरूचाहिँ जानिजानि आ–आफना निजी स्वार्थ पूरा गर्न र मालिकहरू रिझाउन यसरी सक्रिय भएका देखिन्छन् ।

नकारात्मकता बढ्ने केही कारणहरू

हरेक मानिससँग आ–आफना सपना हुन्छन् । त्यसलाई पूरा गर्न उनीहरू लागिरहेका हुन्छन् । प्रायः सबै पूरा भएका सपनाहरू कडा परिश्रम निरन्तरको प्रयास र क्रमिक प्राप्तिको यात्राहरूबाट निस्किएका हुन्छन् । तर विगत दशकहरूमा समाजका केही मानिसहरू कुनै देखिने पेशा नगरी वा नदेखिने कार्यहरूबाट रातारात धनि भए र मानिसहरूलाई बिलासी जीवनशैली प्रदर्शित गर्नथाले ।

यो देखाइबाट समाजको युवापुस्तामा परिश्रम नगरी चाँडै धनी हुने वा भनौं समाजमा देखापरेको नयाँ धनाढ्यहरूलाई पछ्याउने लहरहरू बढ्दै गए । हामी हाम्रा परम्परागत कामहरू जुन दीगो थिए, भरपर्दा थिए, अनि संगठित भएर गर्ने खालका थिए, त्यसलाई छोड्दै गयौं । गाउँका मान्छेहरू गाउँबाट हराएर वा सहर पसेर रातारात धनि भएको देखेपछि अरु धेरैहरू गाउँ छोड्दै गयौं र सहरिया हुनथाल्यौं ।

खुल्ला आकाश र हरियालीमा अभ्यस्त हामी सहरबजारका साना कोठाहरूमा र तिनकै चारदिवारीभित्रको निसासिने वातावरणमा बस्न अभिसप्त भयौं । हाम्रा दृष्टिहरूको सीमिततासँगै सोचाइहरू साँघुरिँदै गए । हाम्रा सामाजिक सम्पर्कहरू ध्वस्त हुँदै गए र हाम्रा सहकार्यहरू मासिँदै गए । त्यसले निराशाहरू बढाउँदै लग्यो र नकारात्मकतालाई मलजल हुँदै गयो ।

यहीँ दशकहरूमा वैदेशिक रोजगारीमा जाने र रेमिट्यान्स भित्र्याउने मानिसहरू बढ्दै गए र सहरिया आकर्षणमा रंगिएको हाम्रो समाज र मानिसहरू आफन्तले पठाएको रेमिट्यान्सको भरमा आफ्ना गरिरहेका कामहरू छोड्दै सहर पस्ने र बसिखाने प्रवृति हावी हुँदै गयो ।

काम कम हुँदै गएपछि समय बिताउन कठिन हुँदै जानथाल्यो अनि खाली घर भूतको डेरा भन्ने उखानलाई चरितार्थ गर्दै मानिसहरू सिर्जना होईन नकारात्मकताको खेतीमा लागे । सामाजिक सञ्जालले यो प्रवृतिमा आगोमा घिउको काम गर्‍यो ।

हामीहरू एकअर्काको चियोचर्चो गर्ने र आफू केही नगर्ने तर केही गर्ने प्रयास गरिरहेकालाई केही हुँदैन भन्दै निरुत्साहित गर्ने उद्योगमा धेरै लाग्यौं । सजिलो काम र चमत्कारिक पैसा फलाउने पेशाहरू हामी धेरैका प्राथमिकता बने । यस्ता कामहरू प्रायः फल्दैनन् र फलिहाले पनि दीगो हुँदैनन् जुन कामहरूका पछि लागि हिँड्दा धेरै मान्छेहरूले आफ्ना सम्पत्ति डुबाए । यसले पनि यहाँ केही हुँदैन भन्ने नकारात्मक सोचलाई बढाउँदै लग्यो ।

यो बेला राज्य संयन्त्रले मानिसहरूका आशा जगाउन सक्नुपर्थ्यो तर त्यो पनि सक्षम हुनसकेन । बिगत धेरै वर्षहरू हाम्रा सरकारहरू पार्टीगत सत्ताको छिनाझपटिको चपेटामा परिरहे र अरु धेरै मानिसहरू यो अस्तब्यस्त मौकामा चौका हान्दै धनी हुँदै गए ।

नेपालमा पेशा बेगरका मानिसहरू धनाढ्य बन्ने दशकहरूको रूपमा देखिए बितेका दुई दशकहरू । राज्यसंयन्त्र कहिल्यै नागरिकमैत्री हुन सकेन । यहीँ दशकहरूमा स्वदेशी–विदेशी गैरसरकारी संस्थाहरूको क्रीडास्थल बन्यो नेपाल । केही अपवाद छोड्ने हो भने यी संस्थाहरूको धेरैजसो लगानी जनचेतनाको नाममा नकारात्मकता रोप्ने, फलाउने र आ–आफ्ना जिविकोपार्जन गर्नमा केन्द्रित रहे ।

केही मध्यम खाले धनाढ्यहरू गैरसरकारी संस्थाहरू चलाउनेहरू पनि बने । यो देखेर गैरसरकारी संस्था बनाउनेहरू देशैभरि च्याउसरी उम्रिए । तर सबैले आफ्ना संस्थाहरूलाई पैसा फलाउने उद्योग बनाउन सकेनन् । नसक्नेहरू समाजमा नकारात्मकता रोप्न सक्रिय भए । यस्ता धेरै नकारात्मक मौसमी खहरेहरू जोडिँदै गए र नकारात्कताको बाँडी ल्याए जसमा हाम्रो समाज बगिरहेकोछ र झन्–झन् नकारात्मक बनिरहेको छ ।

आशाहरू सकिएका छैनन्

जबसम्म मानिसहरू यो संसारमा रहन्छन् र प्रकृतिले आफ्नो चक्र चलाइरहन्छ त्यो बेलासम्म आशाहरू सकिँदैनन् । प्रकृति हरेक पलमा सिर्जनशील बनिरहेको हुन्छ, जीवन रोपिरहेको हुन्छ र जीवन फलाइरहेको हुन्छ ।

आफ्ना घर छेउछाउमा गोलभेडा, काँक्रा वा करेलाका बिरुवाहरू देख्दा वरिपरि छेस्काहरू गाडेर त्यसलाई जोगाउने र लहरिन थालेपछि थाङ्ग्रो हालेर त्यसलाई फैलिन र फल्न मद्धत गर्ने मानिसहरू होइनौं र हामी आज कहाँ गयौं हाम्रो त्यो सिर्जनशीलता र हामी सहरबजारका साना कोठा र छिँडिहरूमा निसासिने गरी आफूले आफैंलाई सीमित गर्दा मरेको होइन र त्यो सिर्जनशीलता र हामिले त आफूले जानेको ज्ञान अर्को पुस्तालाई हस्तान्तरण गर्ने पनि हो ।

त्यो प्रकृति र सिर्जनशीलता देख्नै नपाइ हुर्किरहेछ हाम्रो नयाँ पुस्ता जो अझ निराशावादी, आक्रामक र नकारात्मक हुँदै गइरहेकोछ । मैले देखेको संसारमा जहाँ–जहाँ प्रकृतिले सम्भावनाहरू र अवसरहरू दिएको छ त्यहाँ–त्यहाँ मानिसहरू बढी अल्छी देखिएका छन् र कम सिर्जनशील देखिएका छन् । अनि उनीहरू क्षणिक सजिलो कामका पछाडि दौडिरहेका देखिन्छन् र सधैँ जोखिममा छन् । अफ्रीकी देशहरू र हाम्रो पाटोका देशहरूमा यो प्रवृति धेरै देखिने गरेको छ ।

तर पनि आशाहरू सकिएका छैनन् । कोरोना भाइरसले प्रताडित गरेको वर्तमान अवस्थामा संसारभरि एउटा लहर देखिएकोछ । धेरैभन्दा धेरै मानिसहरू आफ्नो देश फिरिरहेका छन् । सहरमा हुनेहरू आ–आफ्ना गाँउहरूमा फिरिरहेका छन् ।

सबै मानिसहरू प्रकृतिको नजिक र आफ्नाहरूको नजिक पुग्न लालायित छन् । त्यसैले संकटबाट सिर्जित यो अवस्थाको सदुपयोग गर्दै हामी अगाडिको यात्रालाई सकारात्मक दिशामा निरन्तरता दिन सक्छौं । यो अवसरको सदुपयोग गरौं ।

नयाँ सुरुआत

इतिहासलाई नियालेर हेर्ने हो भने संसारका धेरैजसो देशहरूको विकासको सुरुआत मरता क्या न करता भनेझैं लडाइँका चपेटामा परेर, भोकमरीमा परेर, वर्षौंको विद्रोहबाट हजारौं नागरिक मारिएपछि, देशविहीन बनेपछि भएका छन् । जापान, युरोपका धेरै देशहरू, भियतनाम, कोरिया इथियोपिया, रुवान्डा, ईजरायल, अष्ट्रेलियालगायतका धेरै देशहरू विभिन्न संकटमा परेर नागरिकहरूको जीवन तहसनहस भएपछि गरिएका नयाँ सुरुआतबाट माथि उठेका तथा उठिरहेका देशहरू हुन् ।

हामी प्रायः यस्ता कुनै संकटबाट उनीहरू जसरी गुज्रिएका छैनौं । हाम्रा माथि उठ्ने धरातलहरू केही कमजोर भएका छन् तर ध्वस्त भएका छैनन् । हामीले हाम्रो परम्परालाई परिष्कृत गर्दै, हाम्रो एकअर्कासँगको सहकार्यलाई बढाउँदै, प्रकृतिले दिएको अपार सम्भावनाहरूलाई सदुपयोग गर्न सक्ने हो भने हामी केही वर्षभित्रै सिर्जनशील, सक्रिय र सुखी जीवनका हकदार हुन सक्छौं । हामीले सहकार्यलाई घनिभूत बनाउँदै परिश्रमी, दीगो लक्ष्य केन्द्रित र निरन्तर लागिरहने हुनुपरेको छ ।

प्रकृतिले दिएका अवसरहरूको सदुपयोग गर्दै हामी प्रकृतिमैत्री खेती, ग्रामिण पर्यटनलाई बढावा दिँदै बहुसंख्यक नागरिकहरू बसोवास गरिरहेका हाम्रा ग्रामिण इलाकाहरूलाई उत्पादन, रोजगार र आम्दानीका श्रोतहरूका रूपमा विकास गर्न सक्छौं । हामीसँग हाल आयातमा निर्भर रहेको दुई खर्बभन्दा धेरैको आन्तरिक कृषि वस्तुहरूको बजार छ ।

हाम्रा सुरुका उत्पादनहरू तिनै वस्तु केन्द्रित हुनुपर्छ । उत्पादित वस्तुहरूको परिणाम सानो हुँदा हामीले दुरदराजका हाम्रा उत्पादन एकाईहरूलाई देशका ठूला बजारहरू र प्रशोधन उद्योगहरूसँग जोड्न सकिरहेका छैनौं । यो बेला हामीले भयो भने कृषि सहकारीमार्फत या स्थानीय र प्रदेश सरकारहरूले सहकार्य गरेर अथवा सरकारी, निजी र सहकारी क्षेत्रको साझेदारीमा कृषि उत्पादनहरू संकलन गर्ने र बजारीकरण गर्ने केन्द्रहरू सुरु गर्नुपर्ने जरुरी भएको छ ।

जसले सानोसानो रूपमा भइरहेका दुरदराजका कृषि उत्पादनहरूलाई बजारसँग जोड्ने छन् । जब उत्पादनहरूले बजार पाउनेछन् र आम्दानी गाँउमा पुग्नेछ अनि थलापरेका हाम्रा उत्पादन एकाइहरू पुनः जागृत हुनेछन् । त्यो बेला राज्यले किसानहरूलाई जति सकिन्छ सघाउन प्रयास गर्ने हो, अथवा होस्ठेमा हैंसे थप्ने हो ।

यो प्रयासबाट हामीले थला परेर खिया लागेको कृषिमा आधारित ग्रामिण अर्थतन्त्रलाई जागृत गर्नसक्छौं । जब यो चल्न थाल्छ अनि अरु धेरै सम्भावनाहरूलाई जोड्दै लैजान सक्छौं । यसरी हामीले नयाँ सुरुआत गर्नसक्छौं । आउनुहोस् पहिला सकारात्मक बनौं अनि सिर्जनशील बनौं र नयाँ सुरुआतको थालनी गरौं ।

Loading...