एजेन्सी, १९ चैत । बलिउडकी प्रसिद्ध गायिका कनिका कपूर पाँचौं पटकपनि कोरोना भाइरस पोजिटिभ भएको पुष्टि भएको छ ।
११ दिनदेखि अस्पतालमा उपचार गराइरहेकी कनिकाको कोरोना परीक्षणमा पाँचौं पटकसम्म पनि रिपोर्ट पोजेटिभ देखिएको आजतकले जनाएको छ ।

लखनउको संजय गान्धी पोस्ट ग्राजुएट इन्स्चीट्युट अफ मेडिकल साइन्सका डाक्टरले २० मार्चदेखि भर्ना भएकी गायिकाको अवस्था अहिले सामान्य रहेको बताएका छन् ।
संजय गान्धी पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्सका निर्देशक आरके धिमानका अनुसार कनिकालाई कोरोनाका गम्भीर लक्षणहरू देखिएका छैनन् ।
उनलाई आइसीयुमा भर्ना गरिएको खबर झुटो रहेको कनिका आफैंले आफ्नो इन्स्टाग्राममार्फत जानकारी दिएकी थिइन् ।
कनिका ९ मार्चमा लण्डनबाट फर्किएकी थिइन् । लण्डनबाट फर्केको केही दिनमा लखनउ पुगेकी उनी केही पार्टीहरूमा समेत सहभागी भएकी थिइन् ।
यसैबीच जब उनलाई रुघा–खोकी ज्वरो आयो, उनी अस्पताल पुगिन् ।
त्यसपछि उनी संक्रमित भएको जानकारी प्राप्त भयो ।
लण्डनबाट फर्किएपछि आफूलाई आइसोलेट गर्नुको साटो उनले पार्टी गरेको भन्दै सोसल मिडियामा उनको निकै आलोचनासमेत भएको थियो ।