रौतहटमा मेयरविरुद्ध पक्राउ पुर्जी

रौतहट, १८ चैत । गाँजा तस्करीको मुद्दामा रौतहटको इशनाथ नरपालिकाका मेयरलाई पक्राउ गर्न पुर्जी जारी गरिएको छ । मकवानपुर जिल्ला अदालतले उनलाई पक्राउ गर्न अनुमति दिएको हो ।

रौतहट जिल्ला प्रहरी कार्यालयलाई मकवानपुर जिल्ला प्रहरी कार्यालयले पत्राचार गर्दै ईशनाथ नरपालिकाका मेयर सन्तोष मेहता र उनका भाइ मोहन मेहतालाई पक्राउ गर्न आग्रह गरिसकेको छ । मोहन नेकपाको इशनाथ समिति अध्यक्ष हुन् ।

११ माघमा हेटौंडा उपमहानगरपालिका १९ नेवारपानीमा रौतहटको डुमरिया स्वास्थ्य चौकीको बा २ झ १७४९ नम्बरको एम्बुलेन्समा ३० किलो ६०० ग्राम गाँजा प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले एम्बुलेन्समा ९१ हजार रुपैयाँ बरामद गरेको थियो ।

एम्बुलेन्समा तीन वटा झोलामा ६ वटा पोका बनाएर हेटौंडातर्फ गाँजा ल्याउँदै गर्दा भारतीय नागरिक विनोद सहनी र एम्बुलेन्स चालक रौतहट डुमरियाका महम्मद खलिद र अशोक कुमार पक्राउ परेका थिए ।

मेयरका भाइ तथा नेकपाका नगर अध्यक्ष मोहन मेहता एम्बुलेन्स सञ्चालन समितिको अध्यक्षसमेत हुन् ।

Loading...