हिमाली र पहाडी गाउँको खबर : खाद्यान्न र औषधिको अभाव हुनथाल्यो, स्वास्थ्य सामग्री अझै प्राप्त भएन

विराटनगर, १८ चैत । संखुवासभाको भोटखोला गाउँपालिका प्रमुख तेम्बा भोटेको गुनासो छ, –‘सबैभन्दा पछाडि पाारिएको दुर्गम ठाउँमा बसोवास गर्नेहरूलाई सरकारले पनि दिनुपर्नेजति चासो दिँदोरहेनछ ।’

किनभने चीनसँग सीमाना जोडिएको यो गाउँपालिका उपभोग्य वस्तुका लागि चीनकै सीमावर्ती बजारमा भरपर्ने गरेको थियो । तर कोरोना भाइरस संक्रमण रोक्न चीनले ५ माघदेखि बन्द गरेको किमाथाङ्का नाका अझै खोलेको छैन । यसैले यहाँ उपभोग्य वस्तुको चरम अभाव छ ।

नेपालले ११ चतैदेखि गरेको लकडाउनभन्दा अगाडिदेखि नै अघोषित लकडाउन भोगिरहेको यो पालिकामा भोकले मानिसहरू मरेका त छैनन् तर खाद्यान्नको चर्को अभाव छ । एकपल्ट नेपाली सेनाको हेलिकेप्टरले खाद्यान्न ढुवानी गरिदिएको थियो ।

अर्कोपटक गाउँपालिकाले आफैं ट्रयाक्टर प्रयोग गरेर सदरमुकामबाट ढुवानी गराएर ल्यायो । तर पछिल्लो पटक ल्याएको खादयान्न सकिसकेको छ । यसैले थप ढुवानी गराउनतर्फ पालिका लागेको छ ।

अध्यक्ष तेम्बाका अनुसार गाउँमा औषधि र स्वास्थ्य सामग्रीको चरम अभाव छ । अहिलेसम्म जिल्लाबाट केही सामग्री र कोही प्राविधिक र स्वास्थ्यकर्मी पुगेका छैनन् । पालिकामा मास्कसमेत छैन । सिटामोलको समेत अभाव छ ।

१४ हजार जनसंख्या भएको बिकट यो पालिकामा ज्वरो नाप्ने थर्मल गन पनि छैन । मान्छेहरू घरघरमा टीभी भएकोले कोरोना भाइरस संक्रमणको त्रासबारे जानकार छन् र केही सर्तक पनि छन् ।

तर उनीहरूलाई जाँच गर्ने कुनै व्यवस्था छैन । अध्यक्ष भोटे भन्छन्, –‘प्रदेश सरकारले अति दुर्गमबासीको पनि हेक्का राखेर औषधि र स्वास्थ्य सामग्री पठाइदिए हुनेथियो ।’

खाद्यान्न अभाव सुरु हुन थालेको छ, पालिकाले सेनिटाइजर आफैं उत्पादन गरेको छ

सिक्किम र झापासँग सीमाना जोडिएको दुर्गम हिमाली जिल्ला ताप्लेजुङको सिदिङबा गाउँपालिकामा खाद्यान्न अभाव हुन थालेको छ ।

औषधि र स्वास्थ्य सामग्रीको पनि अभाव छ । यहाँ विदेशबाट आएका १२ जना होम क्वारेन्टाइनमा छन् ।

पालिका उपाध्यक्ष जीवनकुमार ताम्लिङ अ‍ैंचोपैंचोले धान्न छोडिसकेको जानकारी दिन्छन् । लकडाउनमा सिक्किमसँग जोडिएको कालीखोला सीमाना र झापातर्फको कार्तिकद्वार पूरै बन्द छ ।

१२ हजार जनसंख्या भएको यो पालिकामा सबैतिर गाडी पुग्दैन । एउटा वडाबाट अर्को वडा पुग्नपनि तीनदिनसम्म हिँड्नुपर्ने बाध्यता छ ।

हाटबजार सबै बन्दछन् । मानिसहरूमा हात धुनुपर्छ भन्ने चेतना बढेको छ । पालिकाले सेनिटाईजर आफैं उत्पादन गरेर प्रयोग गरिरहेको छ ।

स्वास्थ्य सुरक्षा सामग्री छैन, पालिकाले राहतकोष बनाएको छ

संखुवासभाको अर्को दुर्गम पहाडी मकालु गाउँपालिकाले कोरोना भाइरस संक्रमण रोकथामका लागि उच्च सर्तकता अपनाएको छ । तर ज्वरो आएका मानिसहरूलाई जाँच गर्ने सुरक्षित स्वास्थ्य सामग्री छैन ।

पालिका उपाध्यक्ष चमेली राई औषधिको पनि अभाव भएको जानकारी गराउँछिन् । उनका अनुसार गाउँमा हातधुनुपर्छ भन्ने चेतना बढेको छ । पालिकाले कोरोना कोष पनि बनाएको छ । खाद्यान्नको अभाव त छ तर हाहाकार छैन ।

आवश्यक खाद्यान्न आपूर्ति गर्न पालिकाले तैयारी गरिरहेको छ । सबैजना कृषक भएकोले भोकभोकै पर्ने अवस्था छैन । पालिकामा विदेशबाट आएका दुई जना होम क्वारेन्टाइनमा छन् ।

ओलाङचुङगोला नाका अझै खुलेको छैन

चीनसँग सीमाना जोडिएको हिमाली जिल्ला ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा पनि ५ माघदेखि नै चीनतर्फको नाका बन्द छ । यसैले नेपालतर्फको नाका ओलाङचुङगोलामा कुनै चालचुल छैन ।

अध्यक्ष सरोज लिम्बूका अनुसार पालिकामा १५ बेडको क्वारेन्टाइन बनाइएको छ । त्यहाँ भारतबाट आएका २ जनालाई राखिएको छ । गाउँलेहरूले कोरोना भाइरस संक्रमणबारे सर्तकता अपनाएपनि शहरबजारमा जस्तोचाहिँ छैन । ४ हजार जनसंख्या भएको यो पालिकामा खाद्यान्न र औषधि अनि स्वास्थ्य सामग्रीको अभाव छ ।

व्यपारीहरूलाई महंगोमा नबेच्न आग्रह गर्दै थप खाद्यान्न आपूर्ति गराउन पहल गरिहेको छ ।

अलैंची खेती हुने पालिका भएकोले प्रायले ढुवानी गरेको खाद्यान्न नै किनेर खाने गरेका छन् ।

सन्दकपुरमा खाद्यान्न र औषधिको अभाव छैन

भारतसँग सीमाना जोडिएको इलामको सन्दकपुर गाउँपालिकामा लकडाउनमा नाका पूरै बन्द छ । पर्यटकीय क्षेत्र भएपनि लकडाउनपछि पर्यटक छैनन् ।

विदेशबाट आएका एक जना शंकास्पद व्यक्ति फेला परेका थिए तर उनी विराटनगरमा उपचार गराएर फर्किइसकेका छन् । खाद्यान्नको समस्या छैन ।

पालिका अध्यक्ष उदयबहादुर राईका अनुसार सबै व्यापारीहरूलाई महंगो शुल्क नलिई खाद्यान्न बिक्री गर्न निर्देशन गरिएको छ । आवश्यक खाद्यान्न पालिकाले समन्वय गरेर सदरमुकाम इलामबाट आपूर्ति गराइरहेको छ ।

अत्यधिक पानी पर्ने ठाउँ भएकोले मानिसहरू आआफनो खेतबारीमा सक्रिय छन् । औषधिको कुनै समस्या छैन ।

स्वास्थ्यकर्मीलाई दैनिक १ हजारसम्म भत्ताको व्यवस्था छ

खोटाङको विकट खोटेहाङ गाउँपालिकाले उदयपुर र भोजपुरसँग जोडिएको नाका पूरै लकडाउन गरेको छ । नाकामा हेल्थडेस्क राखिएको छ ।

पालिका अध्यक्ष प्रदीप राईका अनुसार डेस्कमा खटिने स्वास्थ्यकर्मीलाई दैनिक एक हजार भत्ताको व्यावस्था छ । स्वास्थ्य चौकीमा खटिनेले दैनिक पाँच सय भत्ता पाउँछन् ।

सुरक्षाकर्मीलाई ईन्धन र खाजा खर्च उपलव्ध छ । पालिकाको ९ वटै वडा र पालिकामा गरेर ५० बेड क्वारेन्टाइन बनाइएका छन् ।

बाहिरबाट आएका १२ जना होम क्वारेन्टाइनमा छन् । औषधी र खाद्यान्नको अभाव छैन । पिपीई पनि दुई थान प्राप्त भैसकेको छ ।

पालिकाले कोरोना रोकथाम गर्न विभिन्न समिति बनाएको छ । बैठक नियमित बस्ने गरेको छ ।

Loading...