‘कतारमा भगवान भरोसा बित्दैछन् दिनहरू’

उद्धव काफ्ले, मोरङ (हाल कतार)

चीनको वुहानबाट सुरु भएको नोबेल कोरोना भाइरस अर्थात् कोभिड १९ ले महामारीको रूप लिइरहेको छ।

यसले विश्वलाई नै त्रसित बनाइरहँदा कतारमा काम गर्ने हामी नेपालीहरू भने दोब्बर त्रसित्र छौं, नेपालमा रहेका परिवार आफन्तजनको र परिवारभन्दा सात समुन्द्र पारि रहेको यो ज्यानको ।

विश्व स्वास्थ्य संगठनले समेत महामारीको रूपमा घोषणा गर्दै नेपाललाई समेत कोरोनाको जोखिमयुक्त देश भनेको छ । जसबाट परदेशमा रहेर परिवारका निमित्त दिनानुदिन खट्ने मजस्ता परदेशीहरूको आधा मासु नै घटेको छ ।

कम्पनीमा रहेर ड्यूटीमा हुँदा पनि नेपालमा कोरोना संक्रमणको स्थितिबारे जानकारी लिएको हुन्छु । परिवारलाई प्राथमिकतामा राखेर पाँच वर्षअघिदेखि परिवारजनबाट टाढा रहेको यो ज्यान पनि कोरोनाबाट जोगाउन कसरत गरिरहेको छु ।

बरु नेपाल सरकारले आफ्ना देशवासीलाई सुरक्षित राख्नका लागि लकडाउन गरेको छ । प्रायः सबै जनाले घरमा बस्न पाएका छन् । सरकारले घरमै बसेर आफू सुरक्षित रहनुस् भन्दा पनि नेपालीहरू बाहिर डुल्ने र घुम्ने गरेको खबर सुनिन्छ । तर, आफूलाई भने कम्पनीले घरमै बसेर सुरक्षित रहनुस् भनेको छैन ।

मेरो कर्मभूमिमा देशैभरि लकडाउन छैन । औद्योगिक क्षेत्रको स्टेट नम्बर १ देखि ३३ सम्म २ हप्तादेखि बन्द भएपनि दोहामा चाहिँ हल्का खुल्ला नै छ । ड्यूटी पनि हल्का फल्का काम चलिरहेको छ ।

सवारी साधान, रेल, प्लेन सबै बन्द छन् । पार्क, मार्केट, सार्वजनिक स्थानमा मान्छे भेला हुन पाउँदैनन् । बाहिर एक जनाभन्दा बढी मानिसलाई हिँड्न दिएको छैन । कम्पनीमा बजार मन्दिका कारण छिट्टै छुट्टी पाइन्छ । त्यैपनि ६ देखि ८ घण्टा काम गर्नुपर्छ ।

अफिस बोइ भएका कारण काम खासै अफ्ठेरो छैन । तर, घर र ज्यानको चिन्ताले काम गर्न मन लाग्दैन ।

यसैगरी सबैभन्दा डर ड्यूटी आउन र जान हुन्छ । कम्पनी र कोठा नजिकै छन् । अहिले कम्पनीले उसको साधनमा ल्याउने–पठाउने गर्दैन । यसैले आफूलाई असुरक्षित महसुस गरिरहेको छु । हिँड्दै कम्पनी र कोठा गर्नुपर्छ । बाटोमा अलिकति भीडभाडमा परिएमा प्रहरीले घर पठाइदिन्छ ।

घर पनि सहजै जान पाए त हुन्थ्यो नि ! यहाँबाट अस्ति भर्खरै डिपोर्ट भएका नेपालीका दुःख सुनेको थिएँ । उनीहरूले डस्टबिनमा फालेको खाना खाँदै नेपाल पुगेको सुनाएका थिए । यहाँ पनि कोरोनाका केसहरू सुनिरहेको छु ।

यसैले यहाँ जिन्दगी भगवान भरोसा छ । पुलिसले पक्रिएमा नेपाल पुगिन्छ । मसँग काम गर्ने नेपाली दाजुभाइ छैनन् । तर, मसँग बस्ने २०–२५ जना नेपाली छन् । उनीहरू सबैको समस्या मेरोजस्तै छ ।

Loading...