लकडाउनमा बालबालिकाहरूलाई ‘गूड टच’ र ‘ब्याड टच’ बुझाऔं

सविन घिमिरे

सिविनले चाइल्ड हेल्पलाइन र नेपाल प्रहरीको स्रोतबाट लिएको तथ्यांकअनुसार सन् २०१८ मा नेपालमा बलात्कार र यौन हिंसाका जम्मा ५ सय ९३ घटनाहरू घटे । जसमा १ सय ५४ घटनाहरू रिपोर्ट गरिएको थियो ।

यस तथ्यांकअनुसार ५ सय ९३ मध्ये २ सय २८ जना पीडितहरू १८ वर्षमुनिका, ८ जना १० वर्षमुनिका र ३५ जना हाडनाताकरणी पीडितहरू थिए । १ सय ३४ बालिका र ३९ जना बालकहरू बाल यौनहिंसा र अरुबाट आलोचित तथा भयभित हुने हिंसाबाट पीडित भए ।

एक सर्वेक्षणअनुसार बालिकाहरूमाथि यौनहिंसा गर्ने प्रायः ठूला उमेरका आफन्तहरू नै हुने गरेको पाइन्छ । बालबालिकाहरू आफ्नो घर तथा समाजमा सुरक्षित छन् भन्ने निश्चित नभएको यस अवस्थामा आमाबुबाले आफ्ना नानीहरूसँग केही समय बिताएर गूड टच र ब्याड टच (सही स्पर्श र गलत स्पर्श) विषयमा खुलेर कुरा गरेमा मात्र बालबालिकाले सही र गलतको बारेमा बुझ्न सक्छन् ।

किताबी ज्ञानलाई मात्र महत्व दिने आमाबुबाहरूले यस्ता जीवन उपयोगी शिक्षा आफ्नो घरमै दिन समय निकाल्नुपर्छ । बालबालिकाहरूलाई दिइएको यस्ता ज्ञानहरूले समाजको अपराध नरोकिए पनि आफूले आफूलाई त्यस्ता अपराधहरूबाट बचाउन सक्छन् ।

विश्व नै लकडाउनको अवस्थामा छ र कोभिड–१९ ले महामारी रूप लिइरहेको यति बेला विश्वनै लकडाउनको स्थितिमा गुज्रिरहेको छ । नेपालले पनि लकडाउनको घोषणा गरिसकेको छ । यस बेला घरको सबै परिवार एकै ठाउँमा रहने समय भएको कारण बालबालिकाहरूलाई गूड टच र ब्याड टच सिकाउने उत्तम अवसर हो ।

यस लकडाउनको केही समय निकालेर बालबालिकाहरूलाई जीवनभर कामलाग्ने गूड टच र ब्याड टचको बारेमा सिकाउन सके यस समयको सही सदुपयोग हुन सक्छ ।

बच्चालाई राम्रो र नराम्रो स्पर्शको बारेमा सिकाउने सबैभन्दा उपयुक्त समय कहिले हो ?

७ वर्षको उमेरदेखि १३ वर्षको उमेरका बालबालिकाहरू यौन हिंसाको शिकारमा सबैभन्दा जोखिममा पर्ने भनिएता पनि अपराधीहरूले प्रतिरोध गर्न नसक्ने शिशुलाई प्रारम्भिक रूपमा शिकार गर्दछन् । यस कारणले गर्दा, जति बेलादेखि बच्चाहरूले अभिभावकको वचनहरू बुझ्न सक्षम हुन्छन्, त्यो नै राम्रो र नराम्रो स्पर्शको बारेमा कुरा गर्ने उत्तम समय हो ।

बच्चासँग कसरी राम्रो र नराम्रो स्पर्शको बारेमा कुरा गर्ने ?

सर्वप्रथम, हामीले आफ्नो बच्चासँग बालमैत्रीपूर्ण भाषामा उनीहरूले बुझ्ने गरेर कुरा गर्नुपर्दछ । बच्चालाई सधैं बच्चा जस्तो भएर सम्झाउनु एउटा उपाय हुन सक्छ । बच्चाहरूलाई यस्तो कुराहरू गर्दा वा सिकाउँदा एकान्तभन्दा सबै भएको ठाउँमा सम्झाउनुपर्छ । यसो गर्दा उनीहरूले सही र गलत टचको बारेमा राम्रोसँग सम्झन्छन् र सुरक्षाको विषयमा ज्ञान पाउँदछन् ।

हामीले बच्चाहरूलाई डर र त्रासको वातावरण दिनुहुँदैन । उनीहरूसँग सधैं साथी जस्तो व्यवहार गर्नुपर्छ । यस्तो व्यवहारले गर्दा बालबालिकाहरूले अभिभावकलाई आफ्ना कुराहरू नलुकाई बताउन सक्छन् । उनीहरूको शरीरको विभिन्न गोप्य तथा अन्य अंगहरूका नामहरू र ती अंगहरूलाई सुरक्षित राख्नु महत्त्वपुर्ण कुरा हो भनेर उनीहरूलाई सिकाउन पर्दछ ।

शब्दहरूको चयनमा विशेष ध्यान दिनुपर्दछ । यसरी बताइरहँदा निजी अंगहरू (जस्तै स्तन, योनी, नितम्ब, लिङ्ग) को लागि सही रचनात्मक नामहरू प्रयोग गर्न लाज मान्नु हुँदैन । यसले गर्दा उनीहरूले अरुलाई सही ढंगले यसबारे बताउन सक्छन् । उनीहरूलाई अनुपयुक्त रूपमा छोइन्छ भने उनीहरूले यसलाई अरूलाई सहीसँग व्याख्या गर्न सक्दछन् ।

यसको साथै बालक र बालिकाको शरीरको बनावटको भिन्नताका बारेमा पनि बताउनुपर्दछ । यस्ता क्रियाकलापहरूमा विभिन्न पुस्तक तथा युट्युब भिडियोहरूको सहायता लिन सकिन्छ ।

गूड टच र ब्याड टचको बारेमा यसरी सिकाउन सकिन्छ

बालबालिकाहरूलाई गूड टच र ब्याट टचको बारेमा धेरैभन्दा धेरै बताउनु आवश्यक छ । कस्तो छुवाइलाई गूड टच र कस्तो छुवाइलाई ब्याड टच भन्ने सिकाउन सके उनीहरू कसैको यौनहिंसाबाट सुरक्षित हुनको लागि सतर्कता अपनाउन सक्छन् ।

उनीहरूकै हात मिलाएर, अंकमाल गरेर, हाइफाइभ गरेर यस्ता कुराहरू सेफ टच हो भनेर बालबालिकाहरूलाई सिकाउनु पर्दछ । तर यी कुराहरू उनीहरूको इच्छाविपरीत कसैले गरे त्यसबाट सतर्क हुने कुराहरू सिकाउन पनि भुल्नु हुँदैन । यस्तो प्रकारको छुवाइले उनीहरूलाई असहज वा असुरक्षित महसुस भए त्यसलाई वेवास्ता गर्न सक्ने अधिकार पनि उनीहरूमा छ भनेर आफ्ना बच्चाहरूलाई बताउनुपर्दछ ।

विभिन्न उदाहरणहरू दिएर उनीहरूलाई सेफ टचको बारेमा सिकाउन सजिलो हुन सक्छ । जस्तै डाक्टर तथा आमाहरूले उनीहरूको अंग छुन्छन् र त्यो उनीहरूको शरीरमा कुनै प्रकारको समस्या छ कि भनेर जाँच्न गरिएको हो भनेर बताइनु पर्दछ । तर डाक्टरहरूले पनि आमाबुबाको उपस्थितिमा मात्र छुन सक्छन् भनेर बताउन भुल्नुहुँदैन । यसबाहेक अरु कसैले पनि उनीहरूको अंग छुन वा कपडा खोल्नको लागि प्रेरित गर्न सक्ने छैन भनेर उनीहरूलाई भन्नुपर्दछ ।

आफ्ना बच्चाहरूलाई गूड टच र ब्याड टचको बारेमा बताउनका लागि स्विम सूटको उदाहरण दिन सकिन्छ । उनीहरूलाई स्विमिङ गर्ने क्रममा लगाइने कस्ट्यूमले शरीरको जुनभाग ढाकिन्छ, ती निजी अंग भएको तथा तिनलाई कसैले पनि छुन पाउँदैन भन्ने कुरा बुझाउन सकिन्छ ।

यदि कुनै व्यक्तिले उनीहरूका ती अंगहरूमा छोएमा अथवा छुने प्रयास गरेमा तुरुन्त आफ्ना बुबाआमालाई अथवा स्कूलमा शिक्षकलाई भन्नुपर्छ भनेर सम्झाउनु पर्छ । बालबालिकाले उनीहरूको शरीरमा केवल उनीहरूको मात्र अधिकार हुन्छ भन्ने कुरा स्पष्ट बुझ्नु पर्दछ ।

कतिपय अवस्थामाआफू दुर्घटनामा पर्दा, चोटपटक लाग्दाअरुले सहायताको निम्ति छुन सक्छन् भनेर पनि उनीहरूलाई बुझाउनु पर्दछ । बालबालिकाहरूलाई शारीरिक चोट पु¥याउने असुरक्षित टचको बारेमा पनि जानकारी दिनुपर्दछ ।

कसैले पिट्ने, घोच्ने, चिमोट्ने, लात्ती हान्ने, धकल्ने जस्ता क्रियाकलापहरू गरे त्यसबाट सावधान रहने कुराहरू पनि उनीहरूलाई सिकाउनु पर्दछ । त्यस्ता क्रियाकलापहरू जो कोहीले गर्ने प्रयास गरे आमाबुबालाई बताउनुपर्छ र अरुलाई त्यस्तो व्यवहार आफूले गर्नु कानूनविपरीत र अमानवीय हो भनेर उनीहरूलाई सिकाउनुपर्दछ ।

कसैले उनीहरूको गोप्य अंग हेर्न तथा छुन र त्यस्तो कार्य गर्न प्रेरित गर्नु असुरक्षाको संकेत हो भनेर बालबालिकाहरूलाई सिकाउनु नितान्त आवश्यक कुरा हो ।

गूड टच र ब्याड टचको कुराहरू सिकाएपश्चात उनीहरूले बुझे कि बुझेनन् भनेर केही क्रियाकलापहरूको उदाहरण दिएर उनीहरूले सही छुट्याउन सकेका छन् कि छैनन् भनेर थाहा पाउन सकिन्छ ।

असुरक्षित स्पर्श भए वा हुनखोजे के गर्ने ?

यदि कसैले आफूलाई गलत स्पर्श गर्न खोजे त्यो व्यक्तिलाई “नाईं”, “रोक्नुस्”, “मलाई यो मन पर्दैन”, “मलाइ नछुनुहोस्” जस्ता शब्द प्रयोग गरेर त्यसलाई इन्कार गर्ने र त्यहाँबाट उनीहरू भाग्न पनि सक्ने कुरा सिकाउनु पर्दछ ।

कति व्यक्तिहरूले बच्चाहरूलाई खराब नियतले छुएर यी कुराहरू गोप्य राख्नको लागि भन्दछन् भनेर आफ्नो बच्चाहरूलाई जानकारी दिनुपर्दछ । कस्ता कुराहरू गोप्य राख्ने र कस्ता कुराहरू गोप्य नराख्ने भनेर उनीहरूले छुट्याउन सक्ने शिक्षा हामीले दिनुपर्दछ ।

उनीहरूलाई उनीहरूको कुरा सुन्न र सुनाउन सक्ने वातावरण अभिभावकहरूले बनाउनु पर्दछ । जसको कारण उनीहरूले गोप्य भनिएको तर गोप्य राख्न नहुने कुराहरू निस्फिक्रीसाथ सुनाउन सक्दछन् ।

आजको समयमा बालबालिकाहरू जति खुलेर रहन्छन् त्यति नै उनीहरूका लागि तथा अभिभावकका लागि पनि राम्रो हुनेछ । अभिभावकहरूको अर्को दायित्व यो पनि हुन्छ कि कसैले बालबालिकाहरूलाई असुरक्षित स्पर्श गरेको थाहा पाए, त्यसबारे बालबालिकाहरूलाई बताउनुपर्छ ।

र, अन्त्यमा अभिभावकहरूले गूड टच र ब्याड टचको शिक्षा एकपटकको वार्तालापबाट मात्र बालबालिकाहरूले सिक्न सक्दैनन् भनेर बुझ्नुपर्दछ । निरन्तर घरमा यस बारेमा शिक्षा दिइरहन सके उनीहरू दिन प्रतिदिन जान्ने र बुझ्ने हुँदै जान्छन् ।

विद्यालयको शिक्षामा पनि गूड टच र ब्याड टचको बारेमा खुलेर शिक्षा नदिनु हाम्रो लागि बिडम्बना हो । गूड टच र ब्याड टचको बारेमा सबै विद्यार्थीहरूलाई शिक्षक–शिक्षिकाहरूको उपस्थितिमा छुट्टै क्लास दिन सके धेरै बालबालिकाहरूलाई यौन हिंसाबाट सुरक्षित राख्न सहयोग पुग्न सक्छ ।

स्कुलमा बच्चाहरूलाई नाता सम्बन्धको मर्यादाको बारेमा बताइन्छ । तर ती नजिकका आफन्तहरूबाट पनि बच्चा असुरक्षित हुन्छन् भनेर आमाबुबाहरूले ख्याल गरेका हुँदैनन् जसका कारण धेरै बालबालिकाहरू मानसिक रोगको शिकार बन्छन् ।

त्यसैले बालबालिकाहरूलाई बाल्यकालदेखि नै गूड टच र ब्याड टच तथा यौनशिक्षा दिन अत्यन्तै आवश्यक छ ।

Loading...