मेरो गाउँमा लकडाउन

शशाङ्क पौडेल

ओइ कहाँ हिँडेको ?
– मेडिकलसम्म सर ।
को बिरामी ?
– म आफैं सर ।
के भाको छ ?
– ग्यासको समस्या
लकडाउन थाहा छैन ? हिजो–अस्ति औषधि लान सक्दिैन थिइस् ।
– आजैदेखि सुरु भयो पेट दुख्न ।

माथिको संवाद म र एकजना प्रहरी हवल्दारबीचको हो । म विगत केही वर्षदेखि एक नम्बर प्रदेशको राजधानी विराटनगर बसेर पूर्णकालीन पत्रकारिता गर्दैछु । कोरोना भाइरसको संक्रमण रोकथामका लागि ११ चैतदेखि देश लकडाउनमा गएपनि मैले उच्च सर्तकता अपनाएर घरबाटै पेशा धानिरहेको थिएँ ।

घरबाट खबर आयो जसरी पनि औषधि लिएर आउनु भनेर । बुबाको औषधि सकिएको थाहा पाएपछि म १५ चैत शनिबार बिहान अत्यावश्यक औषधि घर पुर्‍याएर भोलिपल्ट विराटनगर फर्र्कें । बाटोमा मेरो मोरङको बेलबारी नगरपालिकामा पर्ने डाँगीहाट चौकमा अस्थायी प्रहरी चौकी डाँगीहाटमा कार्यरत प्रहरी हवल्दारसँग मेरो जम्काभेट भयो ।

बाटोमा भेट हुँदा उनले चाबी खोसेर बेलुका मोटरसाइकल लिन आउने रुखो आदेश दिए । मैले आफ्नो परिचय खुलाउन चाहिनँ । जनताका सेवकले चाबी खोसेपछि लुरुलुरु पैदल हिँडेर औषधि पसल पुगें । औषधि लिएर फर्किएपछि चाहिँ मसँग रहेको प्रेस पास देखाएँ । पत्रकार भन्ने थाहा पाएपछि उनले सरक्क मोटरसाइकलको चाबी दिए ।

कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले घोषणा गरेको लकडाउनपछि धेरैले मैले जस्तै चेतावनी पाउने गरेको थाहा पाएँ । कारणवस बजार पुग्नेहरूले पनि प्रहरीको हप्की खानुपर्छ । मोटरसाइकलमा गए चाबी खोसिएको प्रशस्तै उदाहरण पाइए । यतिखेर गाउँघरतिर प्रहरीहरू दादाझैं बनेका छन् । हुनतः जब विपतको अवस्था आउँछ, तब प्रहरी र सरकारी कर्मचारीहरू नागरिकमाथि हाबी हुने चलन नेपालमा पुरानै हो । सायद संकटको बेला उनीहरूलाई अधिकार पनि धेरै हुन्छ होला वा उनीहरू आदेशअनुसार दादा बन्न बाध्य हुनुपर्छ होला ।

हुनतः गाउँहोस वा शहर हुन त मान्छेहरू पनि कम्ताका छैनन् । घरबाट ननिस्कन भनेर सरकारले बिन्ती गर्दा पनि टेरे पो । ठूलो महामारी नभोगेर हो की किन हो, कोरोनाले विश्वमा हजारौं मानिस मारिसक्दा पनि नेपालीहरूले अझै चेतेका छैनन् । चुर्ना परेजस्तो काम नभएपनि सुनसान सडकमा डुल्न निस्कन्छन । कति त अभाव भए जस्तो हटिया गर्न हिँडछन् । चौकमा दूरी नबनाइकन झम्म भेला भएर गफिन्छन् । हरे, यस्तालाई त प्रहरी दाइहरूले लाठो नहाने के गर्ने होला त फेरि । म आफैँ अलमलिन्छु ।

बेलबारी–५ मा खेतमा काम गर्दै गरिरहेकाहरूलाई समेत सशस्त्र प्रहरीले फर्काएपछि दैनिक ज्यालादारीमा काम लगाउने र काम गर्न जानेहरू पनि त्रासमा छन् । मेरो गाउँमा कोरोना भाइरस संक्रमणबारे भ्रमहरूचाहिँ धेरै रहेछन् । कोरोना यसरी सर्छ, उसरी सर्छ अनि सर्दैन भनेर हल्ला फैलाउनेहरूको तँछाड–मछाड नै छ ।

सायद मानिसहरू आधिकारिक रेडियो र टिभीका समाचार हेर्ने सुन्नेभन्दा पनि फेसबुकमा लेखेका उडन्ते कुरा र त्यहाँ लिंक गरेका युटुबेहरूका अनलाइनलाई ज्याद विश्वास गर्न थालेकोले होला । गाउँमा सबैसँग स्मार्ट मोवाइल छ । डाटा प्याक लिएका छन्, अनि फेसबुक र टिकटकमा रमाएका छन् । मानौं कोरोनाको विश्व महामारीको त्रासका बेला पनि मेरो गाउँमा मानिसहरू जागेका छैनन् । बरु मोबाइलले गर्दा घोप्टे युगमा फर्किएका छन् ।

पल्लो गाउँ चन्द्रपुरमा एक जना युवा भर्खरैमात्रै विदेशबाट आएका रहेछन् । उनको अवस्था बुझ्न वडा अध्यक्षसहित प्रहरी पुग्दा उनी घरमै रहेछन् । ती युवालाई क्वारेन्टाइनमा छन् कि, होम क्वारेटाइनमा ? स्थानीय सरकारले जानकारी गराएन । छिमेकीको बारे जानकारी नपाउँदा गाउँमा अफवाह फैलिएको छ । जसले छिमेकका गाउँमा झनै त्रास फैलिएको छ ।

कोरोनाको सम्भावित जोखिम नियन्त्रणका लागि गाउँलेहरूले एक गाउँबाट अर्काे गाउँ जान अघोषित प्रतिबन्ध लगाएका छन । मूलबाटोबाहेक प्रायः टोलमा तगारो लगाइएको छ । अपरिचित व्यक्तिहरू आएर कोरोना भाइरस नफैलाउन भनेर गाउँले युवाहरूले त्यसरी टोलको बाटो थुनेका अरे ।

मेरो गाउँमा कोरोना भाइरस संक्रमण होलाकी भनेर सबैमा त्रास छ । साबुन पानीले हात धुनेहरू बढेका छन । सकभर सर्तकता अपनाएका छन् । वल्लोघर पल्लोघरबाहेक हिँडडुल प्रायः बन्द । विदेशबाट आएका र नयाँ मान्छेहरूको खुब खोजिनिधि हुने गरेको छ । विदेशबाट एक महिनाअघि आएका मानिसहरू होम क्वारेन्टाइमा बसेका छन् । तर उनीहरूले सर्तकता अपनाए–नपनाएको अनुगमन हुनेगरेको छैन ।

कोरोना भाइरसको संक्रमणको त्रास जति भएपनि गाउँको दैनिक जीवन सामान्य ढंगले चलिरहेको छ । यतिबेला बर्खे धान रोप्ने चटारो छ । कोही हिलो बनाउन, कोही बिउ काढ्न त कोही रोप्न व्यस्त छन् । वस्तुभाउ चराउनेक्रम उस्तै छ । परिवारमा बस्दा पनि अवस्था सामान्य छ ।

गाउँमा बेलाबेला खसी, सुँगुर काट्ने काम भइरहेको छ । मात्र बजारमा नियमित काट्न छाडिएको छ । गाउँमा मिलेर गाउँलेहरूले काटेर खाने गरेका छन् । कुखुरा, हाँस, तित्रा किनबेच भैरहेको छ तर घरबाट मात्र ।

गाउँमा प्रायःले मंसिरमा धान भित्र्याएका छन । अनिकाल लाग्ने बेला भैसकेको छैन । बारीमा जेनतेन बैगुन, साग, बोडी, खोर्सानी, टमाटर, सिमी, बन्दाकोभी आदि सिजनल तरकारी फलेकै छन् । यसैले धेरै गाउँलेहरू भोकमरी लाग्ला भनेर आत्तिएका छैनन् । मात्र कोरोना फैलिएर गाउँतिर नआवोस् भन्ने मात्र चिन्ता छ ।

लकडाउने गर्दा मेरो गाउँ सुनसान छ । मानिसहरू घरघरमा छन् । तर दैनिक जनमन गरिखानेहरूले जेनतेन एक हप्ता धानेपनि लकडाउन थपिएपछि समस्या पर्न थालेको छ । तर शहरमा जस्तो स्वार्थी समाज हुँदैन गाउँमा धन्न । यसैले उधारो, अ‍ैचोपैंचो उनीहरूले पाइरहेका छन् । तर सधैँ यसरी पुग्दैन । उनीहरूलाई स्थानीय सरकारले घरघरमा खाद्यान्न लगेर दिए हुनेथियो ।

गाउँ गाउँमा पालिकाहरूले जनप्रनिधिहरूमार्फत कोरोना नियन्त्रण समिति बनाएका छन् । यसैले कसको घरमा को नयाँ मान्छे आयो भन्ने थाहा पाउन गाह्रो भएको छैन । तर मेरो गाउँमा विदेशबाट आएका मानिसहरू अलग्गै क्वारेन्टाइनमा जानचाहिँ मान्दैनन् । खै क्वारेन्टाइनमा बस्यो भने नसरेको कोरोना पनि सल्कन्छ भन्ने गलत बुझाइ भएर पो हो कि ।

क्वारेन्टाइन भनेको रोग लागेको नलागेको १४ दिन अलग्गै बसेर प्रारम्भिक परीक्षण गर्ने विधि हो । यसले त त्यहाँ बस्ने व्यक्तिलाई झनै फाइदा हुन्छ । किनभने क्वारेन्टाइनमा १४ दिन बसिसकेपछि संक्रमणको लक्षण देखिएन भने ढुक्क हुन पाइन्छ । संक्रमणको लक्षण देखिएमा उपचार गराउन सहज हुन्छ ।

फेरि क्वारेन्टाइनमा सरकारले निःशुल्क खानासहित सुरक्षित बासको पनि व्यावस्था गरिदिएकै छ । तर मेरो गाउँमा मानिसहरूले क्वारेन्टाइनलाई नै कोरोना अस्पताल जस्तो बुझेकोले समस्या छ । होम क्वारेन्टाइन सुरक्षित हुन्छ जस्तो मलाई लाग्दैन । किनभने हाम्रो परिवारिक संस्कार, हाम्रो घरको बनोट अनि घरमा भएका आफन्तजन बालबालिकाहरू सबैले सधैँ सर्तकता अपनाउँछन् भन्नेमा चाहिँ मलाई अलि शंका लाग्छ ।

आए जेहोला परेको बेहोरौंला भन्ने हाम्रो अटेरी प्रवृत्ति जो छ । यसैले यो क्वारेन्टाइनकाबारे सकारात्मक सन्देश फैलाउन सबै लाग्नुपर्छ । मैले गाउँको एक दिने बसाइमा धेरै साथीभाइसँग भेट्ने मौका नपाए पनि वल्लोघर पल्लोघरका लागि चाहिँ सम्झाउन भ्याएँ ।

तर पनि मेरो गाउँमा अझै मानवता मरेको छैन । लोकतन्त्र बहालीका लागि भएको १९ दिने दोस्रो जनआन्दोलनमा पनि कोही भोकले मरेनन् । हो आजकल कोरोना भाइरसले वर्तमान युगलाई चुनौती दिइरहेको छ । यो चुनौती हामी सबै मानवहरूलाई हो ।

हामीले संसार बचाउनु छ । यसैले विश्व महाविपत्तिको बेला कसैले कसैको मुख ताक्नु हुँदैन । एकले अर्कालाई सहयोग गर्नुपर्छ । अ‍ैचोपैंचो अदानप्रदान गर्नुपर्छ । विपतका बेला बाँडेर खायो भने माया बढ्छ अरे । केटाकेटी हुँदा हामी खुब फलाक्थ्यौं, ‘एक्लै खाको गू खाको, बाँडेर खाको खीर खाको ।’

Loading...