विराटनगरमा डेरामा बस्नेलाई चैत महिनाको भाडा मिनाहा

माधव काफ्ले

विराटनगर, १७ चैत । विराटनगरका एक घरबेटीले चैत्र महिनाको कोठा भाडावापतको रकम नलिने घोषणा गरेका छन् ।

विराटनगर–४ राजवंशीचौकका एक घरबेटीले कोरोना भाइरस महामारीका कारण आफ्नो घरमा भाडा लिएर बस्ने मानिसलाई भाडा तिर्न दुःख नहोस् भन्दै चैत महिनाको कोठा भाडावापतको रकम नलिने घोषणा गरेका हुन् ।

राजवंशी चौकदेखि पश्चिम घर भएका घरबेटी देवेन्द्रराज रेग्मी र जानुका रेग्मीले आफ्नो घरमा कोठाभाडामा बसेका सबैलाई सहज हुने भन्दै चैत महिनाको भाडा मिनाहा गरेका हुन् ।

‘कोरोना भाइरसले गर्दा कसैलाई असर नपरोस् र घरभाडा तिर्न गाह्रो भएका कारणले सास्ति खेप्नु नपरोस् भनेर उहाँले आफ्नो घरमा बस्ने सबैको चैत महिनाको घरभाडा मिनाहा गर्नुभएको हो’, डेरा लिएर बस्ने लेटाङका योगराज दाहालले बताए ।

यसैगरी घरबेटी देवेन्द्रले आफ्नो घरमा लागेको ४ वटा कोठा भाडामा लागेको र सबैलाई यो महामारीका बेलामा एक महिनाको भाडा मिनाहा गरेको जानकारी दिए ।

उनले भने, ‘लकडाउनका बेला उहाँहरूलाई भाडा तिर्न मुस्किल भएको हुँदा हामीले यो महिना भाडा नलिने विचार गरेका हौं । यस्तो बेलामा एकले अर्कोलाई सहयोग गर्नुपर्छ ।’

आफू माथिल्लो तल्लामा बसेको र तल्लो तल्ला पूरै भाडामा लगाएको उनले जानकारी दिए ।

Loading...