चीनबाट ल्याइएका मेडिकल सामग्री सातवटै प्रदेशमा, प्रचण्डले पठाए चिनियाँ राष्ट्रपतिलाई पठाए पत्र

काठमाडौँ, १७ चैत । चीनको गोन्जाओबाट कोरोना भाइरस परीक्षण र उपचारमा प्रयोग हुने साढे १२ टन मेडिकल सामग्री आइतबार काठमाडौँ ल्याइएको छ ।

नेपालले खरिद गरेका र चिनियाँ सहयोगी संस्थाले उपलब्ध गराएका मेडिकल सामग्री नेपाल ल्याइएको हो । चीनबाट अनुदान तथा खरिद गरी ल्याइएका मेडिकल सामग्री सातवटै प्रदेशमा वितरण गरिने भएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल आइपुगेको र धरानबाट कोरोना भाइरसको नमुना परीक्षण सुरु भएको जानकारी दिएको छ ।

उनले छिट्टै अन्यत्र पनि विस्तार गरिने जानकारी दिँदै सीमा होलान्, विकसित देशलाई समेत हम्मेहम्मे परिरहेको महामारीविरुद्ध सरकार सम्पूर्ण रूपमा शक्तिका साथ लागेको छ, विनम्र अनुरोध छ, अहोरात्र खटिइरहेकालाई साथ दिनुहोस्, हौसला दिनुहोस् ज्ञावालीले भनेका छन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना भाइरस विरुद्धको लडाइँमा सहयोग गर्न चीन सरकारलाई आग्रह गरेका छन् । अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव एवं राष्ट्रपति सी चिनफिङलाई पत्र लेखी सो आग्रह गरेका हुन् ।

कोरोना विरुद्धको लडाइँमा चीनले प्राप्त गरेको सफलताप्रति बधाई दिँदै अध्यक्ष प्रचण्डले सोही खालको सहयोग नेपाललाई पनि गर्न आग्रह गरिएको उहाँका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए। अध्यक्ष प्रचण्डले तीन दिनअघि सो पत्र पठाएको सचिवालयले आइतबार जानकारी दिएको छ ।

कोरोना महामारीविरुद्ध लड्न पर्याप्त मेडिकल सामग्री आवश्यक रहेको स्पष्ट गर्दै अध्यक्ष प्रचण्डले यसबेला चीनले गर्ने सहयोगप्रति नेपाली जनता आभारी हुने पत्रमा उल्लेख गरेका छन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।

Loading...