जाभी बार्सिलोनाको प्रशिक्षक बन्न तयार

एजेन्सी, १६ चैत । स्पेनिस खेलाडी जाभीले आफू बार्सिलोनाको प्रशिक्षक बन्न तयार रहेको बताएका छन् ।

पूर्वखेलाडीसमेत रहेका जाभीले आफू बार्सिलोनाको स्थायी प्रशिक्षक बन्नका लागि तयार भएको बताएका हुन् ।

xavi

उनले आफू बार्सिलोनाको प्रशिक्षक बन्न क्षमतावान रहेको बताउँदै क्याप नोउ फर्किने मनसाय बनाएको बताए । दुई महिनाअघि उनले बार्सिलोनाको प्रशिक्षक बन्न अस्वीकार गरेका थिए ।

आफ्ना प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेलाई बर्खास्त गर्दै बार्सिलोनाले पूर्वखेलाडी जाभीलाई प्रशिक्षकका लागि प्रस्ताव राखेको थियो ।

बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेको दुई महिनापछि उनले आफू प्रशिक्षक बन्नका लागि तयार रहेको बताएका हुन् ।

स्पेनिस न्यूजपेपर ‘ला भंगुआर्डिया’सँग अन्तवार्ता दिने क्रममा कतारी क्लब अल सादका प्रशिक्षक जाभीले आफू बार्सिलोनाको प्रशिक्षक बन्न तयार रहेको बताए ।

‘म यसमा स्पष्ट छु कि, म बार्सिलोना फर्किन चाहन्छु,’ उनले भने, ‘म यो कुरालाई लिएर धेरै उत्साहित छु ।

अब मैले आफूमा बार्सिलोनाको प्रशिक्षक बन्ने क्षमता पाएको छु । मेरो विचारमा अब म त्यहाँका खेलाडीलाई प्रशिक्षण दिन सक्छु ।’

‘तर, म उनीहरूलाई के स्पष्ट गराउन चाहन्छु भने मैले मेरो प्रोजेक्ट जीरोबाट सुरु गर्नेछु र म आफैं त्यसको निर्णय लिनेछु’, उनले थपे ।

आफूले बार्सिलोनाको प्रस्ताव अस्वीकार गर्नुको कारणबारे पनि उनले बोलेका थिए ।

‘मसँग त्यस्तो कुनै समस्या थिएन, जसलाई लुकाउनु परोस् । म ती आत्मविश्वासी मानिससँग काम गर्न इच्छुक थिएँ । तर, अल सादसँगको सम्झौताका कारण मैले बार्सिलोनामा काम गर्न सकेको थिइनँ ।’

Loading...