कोरोना भाइरसबाट बच्न दीर्घरोगीले अपनाउनुहोस् यस्तो सतर्कता

विराटनगर, १६ चैत । कोरोना भाइरसले सबै उमेर समुहका व्यक्तिहरूलाई असर गर्छ । तर, पहिलादेखि नै स्वास्थ्यमा विभिन्न समस्या हुने व्यक्ति तथा दीर्घरोगीहरू बढी खतरामा हुन्छन् ।

धेरै उमेर तथा उच्च रक्तचाप, मधुमेह, मुटुरोगी, दमजस्ता दीर्घकालीन रोग भएका बिरामीहरू कोरोनाको उच्च जोखिममा पर्ने गरेको देखिन्छ ।

केही व्यक्तिमा भाइरसको संक्रमण भएको केही दिनपछि अवस्थामा सामान्य हुन्छ । तर, दीर्घरोगीहरूमा भाइरससँग लड्नको लागि शरीरमा इम्युनिटी कम भएका कारण अवस्था खतरापूर्ण हुन गइ मृत्यु समेत निम्त्याउन सक्छ ।

कोरोना भाइरसका लक्षण सुख्खा खोकी लाग्नु, शरीरको तापक्रम बढ्नु, श्वासप्रश्वासमा समस्या आउनु सामान्य फ्लु जस्तै हुन्छन् ।

७० वर्ष नाघेका व्यक्ति कोरोना भाइरसको उच्च जोखिममा हुन्छन्, चाहे उनीहरूमा कुनै दीर्घकालीन समस्या होस् या नहोस् ।

७० वर्षमुुनिकालाई दम र श्वासप्रश्वाससम्बन्धी समस्या, हेपाटाइटिस, पार्किन्सन, मधुमेह, अधिक तौल भएमा, उच्च रक्तचाप, मुटु र मिर्गौलासम्बन्धी रोग, एड्स भएका मानिसलाई जोखिम आउने सम्भावना धेरै रहेको पाइएको छ ।

गर्भवती महिला र बच्चामा कोरोनाको जोखिम हुन्छ भनेर पुष्टि नभए पनि सतर्क हुनुपर्छ । गर्भावस्थामा सामाजिक सम्पर्क कम गर्नुपर्छ ।

धूम्रपान गर्दा कोरोनाको संक्रमणपछि थप जटिलता हुन सक्ने देखिएको छ । धूम्रपान गर्नेलाई श्वासप्रश्वास र निमोनियाको खतरा धेरै हुने हुँदा कोरोनाको जोखिम कम गर्नका लागि धुम्रपान त्याग्नु नै राम्रो हुन्छ ।

दमका बिरामीले आफ्नो साथमा ‘इनहेलर’ अनिवार्य बोकेर हिँड्नुपर्छ । मधुमेह तथा उच्च रक्तचाप भएका व्यक्तिलाई खोकी लाग्ने, शरीरको तापक्रम बढ्ने र सास फेर्न समस्या भएमा तुरुन्तै सुगर र रक्तचाप जाँच गराइहाल्नुपर्छ ।

एक हप्तासम्म घरमै बसेर सतर्कता अपनाउँदा पनि लक्षण हराएन भने चिकित्सकको सल्लाह लिनुपर्छ । सामान्य स्वास्थ्य समस्या भए पनि दैनिक सेवन गर्ने औषधि छोड्नुहुन्न ।

Loading...