मनको संक्रमण रोक्ने उपायहरू

dfg
रामप्रसाद पौडेल

समय समयमा त्रासदी छाउँछ, लाग्छ यो संसारको नियम नै हो । संसारको कोलाहल, भागदौड, तँछाड-मछाड र खिचातानीबाट केही समयको विश्रामकै लागि भए पनि शायद, यो धरामा त्रासदी फैलिन्छ ।

हुनसक्छ, यो हामीले नदेखेको, नमानेको, नटेरेको र कतिपय मानिसहरूले मृत घोषित गरेको ईश्वरको प्रयोजन हो । त्रासदीहरू कहिलेकाहिँ एउटा क्षेत्रमा सीमित हुन्छन् त कहिले संसारै ढाक्नेगरि फैलन्छन् ।

गत बीस वर्षको अवधिलाई फर्केर हेर्ने हो भने सेप्टेम्बर ११ को अमेरिकामाथिको विमान आक्रमणपछि आतंकवादको त्रासदीले संसारै ढाकेको पाइन्छ ।

भन्नेहरूले अब तेस्रो विश्वयुद्ध सुरू भयो भन्न पनि भ्याए ।सन २००१ को हमलाको बद्लामा अमेरिकाले पाकिस्तान, अफगानिस्तान र इराकमाथि आतंकवाद विरूद्धको सैन्य कारवाही सुरू गर्यो ।

सन २०१८ सम्म आइपुग्दा उक्त सैन्य कारवाहीमा परि ५ लाख ७ हजार मानिसले ज्यान गुमाएको रेकर्ड पाइन्छ । सन् २०११ देखि सुरूभएको सिरिया माथिको कारवाहीले पनि हालसम्म ५ लाखभन्दा बढी मानिसको ज्यान लिइसकेको छ ।

केही वर्षको अन्तरालमा सुनामी आयो, त्यसले लगभग आधा विश्वलाई बढारेर गयो ।सन् २००४ मा आएको सो सुनामीले १४ वटा देशका २ लाख ३० हजार मानिसहरूको ज्यान लियो । अडकल बाजहरूले संसार खतरामा छ, अब जलप्रलयले संसार सकिने भयो भन्न भ्याए ।

केही वर्षपछि इबोला नाम गरेको भाइरसको प्रकोप देखियो । त्यसले जम्माजम्मी २८ हजार ६ सय सैंतीस जनालाई संक्रमण गर्यो र ११ हजार ३ सय जनाको ज्यान लिएर गयो ।अनि बीचबीचमा सार्स भाइरस देखियो, हाइटीमा भुइँचालो गयो, नेपालमा पनि भुइँचालो गयो, अष्ट्रेलियामा भीषण आगलागी भयो इत्यादी ।

यी सबै कहरहरूले मानिसहरूलाई उनीहरूले बिर्सँदै गरेको मानवीयताको पाठ पुनःस्मरण गराएर गयो ।मानिसहरूमा करूण रस र शान्त रस पैदा गराउन यी कहरहरू सफल भए । यस्ता कहरहरूपछि केही समयकै लागि मात्रै पनि किन नहोस् मानिसहरूमा मरेर जाने जीवनमा केका लागि मरिमेट्नू भन्ने भाव पैदा भयो ।

तर त्यस्तो भाव धेरै समय टिक्न सकेन मानिसहरू फेरि पनि आफ्नो औकातमा फर्किए । अरूलाई पछार्ने, लुट्ने, ठग्ने र सताउने कार्यमा लिन हुन थाले । अनि यसैगरि मानिसहरूमा मृत्युचेत स्मरण गराउन महामारीहरू र विपद्हरू आउन आवश्यक भयो ।

प्रसंगतिर लागौं, शरीरको संक्रमणको उपचार हुन्छ, मनको संक्रमणको कुनै इलाज हुँदैन । भनाई नै छ कि चिन्ताले नै मानिसलाई चित्ताको बाटो देखाउँछ । कोही कोही मानिसहरू हुन्छन् जसले सारा दुनियाँको चिन्ता लिने जिम्मेवारी उठाउँछन् । २०७२ मा गएको भुइँचालोमा मेरी सानीआमा मनको संक्रमणको कारणले बित्नुभयो ।

मुख्य भुइँचालोमा उहाँ सुरक्षित हुनुहुन्थ्यो । त्यसपछि उहाँको दिमागमा यस्तो त्रास पस्यो कि उहाँले भन्न थाल्नुभयो-“यो भुइँचालोले मलाई लैजाने रहेछ ।“ ४/५ दिनपछि सानो पराकम्प गयो । उहाँ नजिकैको चउरमा हुनुहुन्थ्यो । “लौ मार्यो” भनेर चउरमै थचक्क बस्नुभएको उहाँ फेरि कहिल्यै उठ्नुभएन । उहाँको मनमा संक्रमण फैलिइसकेको थियो । कसैले त्यसको इलाज गर्न सकेन र उहाँ बित्नुभयो ।

आज अहिले यो लेख लेखिरहँदासम्म ५ जनामा कोरोनाको शारीरिक संक्रमण प्रमाणित भएको देखिएको छ । तर त्यसभन्दा हजारौं गुणा बढी मानिसलाई कोरोनाको मानसिक संक्रमण भइसकेको हुनसक्छ । सामाजिक सञ्जालतिरको मानिसहरूको अभिव्यक्ति पढ्दा पनि त्यस्तो विरक्तभाव मुखरित भएको देख्न सकिन्छ ।

रोगसँग लड्ने क्षमता मानिसले बनाएको औषधिमा भन्दा ज्यादा ईश्वरले बनाएको शरीरमा हुन्छ । शरीरले अवस्थाअनुसार प्रतिरोध गर्ने क्षमता आफैं विकास गर्न सक्छ, तर त्यसका लागि मानिसको मन स्वस्थ हुनुपर्छ । मनले निर्देशन गर्ने हो शरीरले काम गर्ने हो । निर्देशन दिने मन नै कमजोर छ भने मानिसको शरीरले काम गर्न सक्दैन ।

यो एउटा कमजोर हाकिमले कर्मचारीहरूलाई काममा खटाएजस्तै हो । हाकिममा अभिप्रेरित गर्ने कला र शक्ति छ भने उसका कर्मचारीहरूले अनुशासनमा रहेर काम गर्छन्, अन्यथा सबैकुरा लथालिङ्ग हुन जान्छ ।

हाम्रो मन पनि हाम्रो शरीरको हाकिम हो । जबसम्म हाम्रो मन स्वस्थ रहन्छ, तबसम्म हामीलाई सानोतिनो आँधीले ढाल्न सक्दैन ।

सकारात्मक सोच राख्ने मानिसहरूको मन अरू मानिसहरूको तुलनामा बढी स्वस्थ हुन्छ । जे कुरामा पनि चिन्ता गर्ने र नकारात्मक मात्रै सोच्ने मानिसहरू तुलनात्मक रूपमा दुर्बल हुन्छन् । मानिसले कसरी आफ्नो मनलाई स्वस्थ राख्न सक्छ भन्ने बारेमा केही उपयोगी उपायहरू सुझाउन चाहन्छुः

१. पहिलो कुरा त हामीले दुनियाँको जिम्मेवारी आफ्नो काँधमा लिन छोड्नुपर्छ । हामी धेरैपटक सित्तैंमा भारी बोकेर हिँड्ने गधा बनिदिन्छौं । हाम्रो आफ्नै सीमितता छ, हाम्रो आफ्नै भारवहन क्षमता छ । हाम्रो क्षमताभन्दा धेरै भारी हामी बोकेर हिँड्न सक्दैनौं । जब आफूले बोक्न नसक्ने भार हामी उठाउने प्रयत्न गर्छौं तब हामी ‘बर्न आउट’ हुन्छौं ।

२. दोस्रो कुरा हामीले के बुझ्नुपर्छ भने यो संसार हाम्रो इच्छाले चल्दैन । ब्रम्हाण्डको आफ्नै नियम छ । हामीले आफ्नो इसारामा दुनियाँलाई नचाउने अभीष्ट गर्छौं भने हामी असफल हुन्छौं । यहाँसम्म कि हाम्रो आफ्नो परिवार र कहिलेकाहिँ आफ्नो शरीरसमेत हाम्रो इच्छामा चल्दैनन् । यस्तो बेला हामीले उनीहरूको स्वतन्त्र अस्तित्वलाई स्वीकार्न सक्नुपर्दछ । त्यसो भयो भने हाम्रो मनले थेग्न नसक्ने भार उठाउन पर्दैन र हाम्रो मन स्वस्थ हुन सक्छ ।

३. अरूसँग तुलना गर्ने कुराले हामीलाई अस्वस्थ बनाउँछ । हाम्रो आफ्नै स्वतन्त्र अस्तित्व छ । हामी आफ्नै स्वरूपमा बनिएका छौं । अरूसँग आफूलाई नाप्नु हाम्रो ठूलो कमजोरी हो । त्यही कमजोरीले हामीलाईअस्वस्थ बनाउँछ र अन्ततः पराजित बनाउँछ ।

अतः यहाँहरू सबैको मन सुरक्षित र स्वस्थ रहन सकोस् भन्ने कामना गर्दछु । स्वस्थ मनले हजारौं युद्धहरू जित्न सकिन्छ । हामी कोरोनाजस्तो मामुली रूढीबाट पराजित हुने होइन, हामीले अरू सयौं युद्धहरू लड्न बाँकी नै छ ।

Loading...