क्वारेन्टाइनको व्यवस्थापन सेनाले गर्ने ,सुरक्षा प्रहरीले हेर्ने , प्रशासनले शंकास्पद व्यक्त्तिलाई पुर्याउने

विराटनगर,१५ चैत । कोरोना भाइरस संक्रमणको आशंकामा शंकास्पदलाई राखिने क्वरेन्टाइनको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनाले पाएको छ ।

प्रदेशभित्रका जिल्ला प्रशासन कार्यालयहरुले शंकास्पद व्यक्तीलाई अस्पताल र क्वारेन्टाइन स्थलसम्म पूर्याउने जिम्मेवारी पाएको छ ।

शनिबार मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको निर्देशन समितिको बैठकले क्वारेन्टाइनको जिम्मा सेना र व्यक्ती पूर्याउने जिम्मा प्रशासनलाई दिएको हो ।

त्यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई अस्पताल र क्वारेन्टाईन क्षेत्रको सुरक्षा गर्ने, संक्रमितहरुको सुरक्षा र लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउने जिम्मेवारी तोकेको छ ।

प्रदेश नम्बर १ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन विभिन्न समितिहरु पनि गठन भएका छन् ।

निर्देशन समितिको बैठकले मुख्यमन्त्रीको संयोजकत्वमा स्थानीय तह सम्पर्क, समन्वय, प्रचार प्रसार तथा जनचेतना समिति गठन भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीको संयोजकत्वमा क्वारेन्टाइन, परिबहन व्यवस्था तथा सुरक्षा व्यवस्थापन समिति गठन भएको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेको संयोजकत्वमा आइसोलेशन तथा विशिष्टिकृत अस्पताल एवं प्रयोगशाला सञ्चालन तथा व्यवस्थापन समिति गठन भएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियैतको संयोजकत्वमा दैनिक उपभोग्य वस्तु आपूर्ति व्यवस्थापन समिति गठन भएको छ । गठन भएका समितिहरुमा सम्बन्धित निकायका प्रतिनिधि सदस्य रहेका छन् ।

बैठकले कोरोना विरुद्धको अभियानमा खटेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, तथा कर्मचारीहरुलाई अतिरिक्त सुविधा प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेश सभाका सदस्यहरुलाई आफ्नो निर्वाचन क्षेत्रमा कोरोना विरुद्धको अभियानको संयोजन र अनुगमनको काम गर्ने निर्णय गरेको छ ।

प्रदेश सुरक्षा समितिलाई एक करोड ६८ लाख

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठिन प्रदेशका सुरक्षा समिति सञ्चालनका लागि प्रदेश सरकारले एक करोड ६८ लाख रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

मुख्यमन्त्री शेरधन राईको अध्यक्षमा शनिबार बसेको प्रदेश नं १ कोरोना जनसुरक्षा कोष, कोष सञ्चालक समितिको बैठकले प्रदेशका सुरक्षा समितिहरुलाई १ करोड ६८ लाख रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

Loading...