फोन वार्तापछि ट्रम्पले गरे चीनको प्रशंसा

एजेन्सी , १५ चैत । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनको प्रशंसा गरेका छन । चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग शुक्रवार भएको टेलिफोन वार्तापछि राष्ट्रपति ट्रम्पले चीनको प्रशंसा गरेका हुन । उनले चीनप्रति निकै सम्मान लेख्दै यस रोगबारे चीनसँग बलियो बुझाइ रहेको ट्वीट गरेका छन् ।

ट्रम्पले विश्वमा महामारी फैलाइरहेको कोरोना भाइरसलाई चिनियाँ भाइरसभनेपछि पछिल्ला साताहरूमा यी दुई देशबीच बारम्बार चर्काचर्की परेको थियो ।

तर फोनवार्तामा चिनियाँ राष्ट्रपति सीले कोरोना भाइरस महामारीसँग जुझ्न एकजुट हुनैपर्ने र चीन अमेरिकासँग मिलेर काम गर्न चाहेको बताएका थिए ।

उनले बेइजिङका कदमहरू खुला र पारदर्शी भएको पनि बताएका छन । आफनो देशमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गरेर चीनले अहिलेसम्म विश्वका झण्डै एक सय देशमा चिकित्सक र स्वास्थ्य सामग्री पठाइसकेको छ ।

राष्ट्रपति ट्रम्पले बेइजिङले कोरोना भाइरसको महामारीसँग जुझिरहेका देशहरूलाई सघाउने विषयमा नेतृत्वदायी भूमिका खेलिरहेको बताएका छन् ।

विश्वमै सबैभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमण अमेरिकामा पुष्टि भएपछि राष्ट्रपति ट्रम्पले त्यो आफ्नो देशमा बृहत् रूपमा गरिएका जाँचका कारण भएको बताए ।

अमेरिकामा अहिले १ लाख भन्दा बढी सङ्क्रमित पुष्टि भएका छन् ।

Loading...