आ-आफूमा भो डर (कविता)

-शारदा कार्की

`कोरोना अब भित्रियो शहरमा, हिँड्नू कतै हुन्नरे
आफन्ताहरु छेउ सम्म नगई, बस्नू अलग्गै अरे
कैले भन्दछ बाहिरै तिमी बस, कैले नजाउ कतै
कस्तै दूर्मय प्राण घातक भए, त्यो रोग फाल्थ्यौ उतै

लागेकैछ कली भयो खलिबली, गाथा भनेकै जसो
त्यस्तै हो कि कसो पिता वचनती, साकार भो कि कसो
ऐले देश महाँ विपत्ती बलियो, आयो कता तर्कने
छोप्यो है अब ता यता अझउता,योविश्वनै थर्कने

रूगा खोकी ज्वरो अक्षुण गहिरो, लागे उपचारमा
जानू नत्र घरै महाँ सर सफा, बस्नू सदाचारमा
आफन्त सँग फोनमा सहजले, गर्नू कुरा हुन् अरु
खेल्नू खेल घरै जहान सँगमा, पढ्नू र लेख्नू बरु

सुन्सानैछ यहाँ र गाउँ घरमा, बाटो खुला देखियो
घुम्नू डुल्नू भएन कत्ति अब ता, निक्कै कठिन् खेपियो
छोराछन् पर देशमा मछु घरै, छोरी उनैका घर
पीडा देश विदेशको नव ब्यथा, दूर्भाष सुन्दै छु र

झ्याप्पै बन्द भयो सबै शहरयो,आ-आफूमा भो डर
बाँचौं बाँच्न सिकाउँ यो समयमा,बस्तैछु आफ्नै घर
आयो विश्व भरि लुकेर नबसौं, गर्दै गरौं सामना
जाओस् झट्ट उतै सबै खुस रहून्, आरोग्यको कामना

विराटनगर नेपाल

Loading...