भोक भन्दा डरलाग्दो के हुन्छ (कविता)

-सम्झना काफ्ले





भोक भन्दा डरलाग्दो के हुन्छ ?
हिजो राति
रित्तो पेट सुतेका मेरा सन्तानलाई सोध
ती निर्दोष र अबोध मनहरुलाई
एक छाक भातको तृप्ति सोध
रुँदा रुँदै
आँसुका दागहरुले मैलिएका
मलिन अनुहार नियालेर हेर

हे प्रभु छौ कतै तिमी भनेसमुद्रमा
चिसो सर्पको विछ्यौनाको मदमस्त निँद छोडेर
जागा होइदेऊ
यता धर्तीमा सास न निभुन्जेल
बाँच्ने अभिशाप पाएका
मै जस्ता जीवनहरुको बाध्यता बुझिदेऊ
तर मलाई एउटै प्रश्नको उत्तर चाहियो प्रभु
किन दियौ त यो जिन्दगी ?

मानवता मरेको यो वस्तीमा
दुई खुट्टे राक्षसहरुको बिगबिगी हेर
अनुहार हेर्दा
सभ्य र सुसंस्कृत
उज्यालो पहिरनका
नक्कली मुखुण्डो भिर्नेहरु
ठूला ठुला भव्य महलमा बस्नेहरु
मेरो अस्तित्वलाई
नालीको कीरा देखिदिन्छन्
बडो शानले
झिलिमिली दोकानहरुमा
पानीसरी पैसा बगाउँछन् र उन्मत्त हुन्छन्
मेरो
एक मूठा साग किन्न मोलमोलाई गर्छन्
पाँच रुपियाँ घटाएर किन्न खोज्छन्
घृणाले नाक चेपार्दै
मलाई ठग भन्ने बिल्ला भिराउँछन्

सडक किनारामा धुलो र धुवाँ
जाडो र गर्मी
बटुवाहरुको तिरस्कृत हेराई खेपेर
अपमानको विष निलेर साग बेच्नु मेरो नियति
किन दियौ प्रभु तिमीले यो जिन्दगी ?

Loading...