नरसंहारकारी कोरोना

बम थापा

शास्त्र भन्छ सतिदेवीको मृत्युपछि वर्षौं शिवजीले मृत शरीर बोकेर बिरक्तिँदै हिँडे । कहाँ पुगेनन् ? मै हूँ भन्ने देउदेउताले कसैगरी सम्झाउँदा नी क्यै सीप लागेन । अब सृष्टि कसोगरी चल्ला ? देउताहरूलाई ठूलो सकस् पर्‍यो । गर्मागर्मी पञ्चायतीसभा बस्यो ।

अन्तमा जुक्ति फुर्‍यो । मृत शरीर गलाउन झिंगाको सृष्टि भयो । नभन्दै मृत शरीर गल्दै गयो । उनी हिँडिरहे । ठाँउठाँउमा अङ्ग खस्दै गयो । अन्तमा, शिवजीको हात र काँध खाली भयो । वर्षौं भौतारिँदै हिँडेका लखतरान शिवजी कैलाशपर्वतमा गम्ल्याङ्ङ पल्टिए ।

ठूलो आवाज आयो । देउदेउताहरू के भो भनेर तर्सिए । ध्यान–दृष्टिले हेर्दा थाहा भो । शिवजी कैलाशपर्वत आएछन् । सबै देउता जम्मा भएर शिवजीलाई सम्झाउन, आडभरोसा दिन गए । भगवान शिवले मन भुलाए । फेरि सृष्टि सदाझैं चल्न थाल्यो ।

इतिहास पढ्दा जानकारी हुन्छ । बेलाकुबेला धर्तिमा उथलपुथल भैरहन्छ । विनाशसँगसँगै सृष्टि पनि हँुदै आएको देखिन्छ । लु हौ आज फेरि मानवजातिको संहार गर्ने यो कोरोना भन्ने डरलाग्दो जन्तु आइलाग्यो । अब संसारका दुईचारटा देश बाँकी छन् की कोरोनाले नछोको ? उत्तर निको भो ।

देश लकडाउन भो । लगत्तै दक्षिण झनै तीन साता लकडाउनमा गयो । भन्दैछ, तीन महिना उसले आफ्ना जन्तालाई रासनपानी सित्तैमा व्यवस्था मिलाउने रे । अब हाम्रो गति के होला ? भएका खेतीहरू, फाँटहरूमा अग्ला घरहरू ठडियो ।

समथर मैदान टुक्राटुक्रा भएर घरैघर र नँया शहरबजारले भरियो । रह्यो पहाडतिरको बाँकी बक्यौता । यताको के कुरा गर्नु र । बसाइँ सर्नेको लर्कोले रित्तेको घरगाम पातल्लिएर बिजोग ।

खेतबारी बँझिदै गयो । अन्नपात राख्ने धन्सार र बडेमानका भकारीहरू रित्ता भए । ससाना पोकापुन्तुरा पारेर दलिनतिर सिउरीकन जोगाउने रैथाने बालिको बीउ पनि विकासले खाइदियो । अब सिजन आँउदा हलगोरू नार्ने भुसतीघ्रे पाँसुलाहरूको काम भएन ।

धर्तिमा एकबाजी फेरि नरसंहारकारी कोरोनाले राज जमाउँदै गैराछ । छिमेकतिरबाट आउने अन्नपात अब आउन बन्द हुने होला । संसारमा सबैलाई आआफ्नै रन्को । कोरोनाले जेनतेन मैना त कटाउला । क्यै गरी यो के जाती कोरोना निको भो भने हाम्ले खाने के ? खल्तिभरि पैसा बोकेर के काम ? चीज किन्न पनि पाउन परो नि ।

त्यसैले अब गाम्घर कुनाकन्धरामा रहेकाहरूले घरमा भएका र छरछिमेकमा ऐंचोपैंचो गर्दै बारीकान्लामा बचेखुेका बीउ रोप्न थाल्नुस् । हातमा जे भेटिन्छ, माटोमा रोपिहाल्नुस् । हप्ता दश दिनमा उम्रिन्छ । मैना दिनमा हुर्किन्छ । दुई–तीन मैनापछि फल्छ । आफू पनि खानुस् । यता शहरबजारतिर बसेर मीठोमसिनो खाने थुतुनोहरूलाई पनि बजारीकरण गर्दै पठाउने मेसो मिलाउनुहोस् ।

गाम्घरतिर पाइने काब्रो, कोइरालो, भन्भने, सिस्नो, खोलेसाग, ठोट्ने, कुकरदाइने, कुरिलो, सागिना, चन्चने, लेङ्गुरो (निउरो), बोके, गिंठ्ठा, भ्याकुर, तामा, टुषा, कर्कलो खान छाड्नु भो कि ! काफल, चुत्रो, मुस्लरी, असिलो, घङ्गारु, काल्काफल, काफलमौवा, चिउरी, कटौजो, गोफ्ला फलफूल खान केटाकेटीले बिर्सेलान् ।

सिकाउँदै जानुहोस् । आफ्ना नानीहरूलाई चिनाउनुहोस् । खान पनि सिकाउनुहोस् । तलतिराट गएको मिनरल वाटर खानभन्दा तामाखानीको मुहानबाट पलाएको जरुवा पानी पिउन नछाड्नुस् ।

अब शहरबजारको छाँटछन्द गतिलो छैन । छिमेक तिराट आउला की ! भनेर आश गर्नुको भरोसा छैन । क्यै मेसोेमेलो नजुर्नसम्म जीउ धान्न आडभरोसा दिने हाम्रै गाम्घर हो । त्यसैले दाजुभाइ दिदीबैनी, साठेभाई दम्तरी सबैले कुटो कोदालो बजारौं ।

घरमा भा को बीउ बिजन झिकौं र रोपौं । ढिला नगरौं । क्यै त गर्न परो नी । मैना दुई मैना त जसोतसो चल्ला । तेश्रो मैनादेखि पो हाम्रो हालत के होला ? सम्झिँदा नी उकुसमुकुस हुन्छ ।

Loading...