लकडाउन र यसका चुनौतीहरू

डा. निकेश राजभण्डारी/सविन घिमिरे

कोभिड १९ ले महामारी रूप लिइरहेको यतिबेला विश्वनै लकडाउनको स्थितिमा गुज्रिरहेको छ । नेपालले पनि लकडाउनको घोषणा गरिसकेको छ । भारतले २१ दिने कर्फ्यु लगाएसँगै नेपालमापनि यो स्थिति आउन सक्ने अनुमान गरिएको छ । तर लगभग एक महिनाको लागि लक नै हुने स्थिति नेपालमा आयो भने हामीलाई यसले कसरी असर गर्नेछ ? सबै नागरिकहरू जीवनयापन गर्न सक्ने वातावरण हामीकहाँ छ त ?

यहाँ धेरै दिनको लागि खाना भन्डारण गर्न सक्ने क्षमता भएकाहरू धेरैजना छन् । तर त्योभन्दा धेरै पर्याप्त मात्रामा कमाउन नसक्ने र धेरै दिनसम्म पुग्ने खाना भन्डारण गर्न नसक्ने नागरिकहरू छन् । दिनभरि काम गरेर बेलुका खानु पर्ने स्थितिका मानिसहरू धेरै छन् । चिकित्सा दृष्टिकोणबाट विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले दिएको सिफारिसअनुसार यस प्रकारको जोखिम तथा विशेष गरेर स्वास्थ्य प्रणालीको भार कम गर्ने उत्तम तरिका सामाजिक अन्तर्क्रिया कम गर्नु नै हो ।

यसले गर्दा इटालीमा देखिएको जस्तो छोटो अवधिमा संक्रमितको संख्या तीव्र रूपमा बढ्न नदिन लकडाउनले मद्दत गर्न सक्दछ । किनकी यदि त्यस्तो भयावह अवस्था भयो भने हाम्रो जस्तो स्वास्थ्य प्रणाली कमजोर भएको देशलाई सम्हाल्न अझ गाह्रो पर्नेछ । एक महिनाको लागि हाम्रो देश लकडाउन भयो भने महामारी फैलिनबाट त जोगिरहेका हुन्छौं तर अन्य चुनौती तथा समस्याहरू हामीसँग प्रशस्तै छन् ।

भविष्यमा निम्तिन सक्ने यस्ता समस्याहरूको समाधानका योजनाहरू तत्काल सरकारले बनाएको नियम पालना गर्न सके भविष्यमा आउने संकट टार्न पनि सहज हुन सक्छ । डब्ल्यूएचओले पहिले नै हामी कस्तो प्रकारको भाइरससँग लडाइँ गर्दैछौं भन्ने बारे निश्चित नभएको तर धेरै मानिसहरू थोरै वा हल्का लक्षणहरूबाट संक्रमित छन् भनेर जानकारी दिसकेको छ ।

यसले ती संक्रमितहरूलाई भाइरसको सम्भावित वाहक बन्न मद्दत गर्दछ, जसले गर्दा तिनीहरूको सम्पर्कमा आउने अधिकांश व्यक्तिहरूलाई संक्रमित गर्दछ । त्यसैले हाम्रो जस्तो देशमा लकडाउन एउटा विकल्प हो । लकडाउन एउटा बाध्यात्मक परिस्थिति हो । यो एक होम क्वारेनटाइनको अवस्था पनि हो । कोरोनाको महामारी एक स्थानबाट अर्को स्थानमा नफैलियोस् भन्नको लागि अपनाइएको सुरक्षा पद्धति हो, लकडाउन ।

हाम्रा चुनौती, समस्या र विकल्पहरू

देश बन्द हुँदा दैनिककाम गरेर खाने परिवारहरूलाई निकै गाह्रो भइरहेको छ । तर कोरोनासँग बचेर जीवन बचाउनु नै पहिलो प्राथमिकता भएकाले ती समस्याहरूको विकल्प सोच्न सकिन्छ । सरकारले दैनिक उपभोग्य सामानहरूको पहँुच सहज हुने भनेपनि व्यस्थापनको कमजोरी र सुरक्षाको दृष्टिकोणले गर्दा भनेजस्तो सहज भएको छैन । सेवादाताहरूको सुरक्षाको ग्यारेन्टी लिन सक्ने क्षमता राज्यले राख्न नसके यस परिस्थितिले भोकमरी र अभाव सृजना गर्दैन भन्न सकिँदैन ।

यसबारे सरकारले तत्कालै कार्यहरू थालनी गर्नुपर्दछ । देशमा तीन तहको सरकार छ । स्थानीय तहका प्रत्येक वडाले आफ्ना वडामा बसोबास गर्ने प्रत्येक नागरिकहरूको लागि हटलाइन नम्बर उपलब्ध गराउन सक्छन् । प्रत्येक वडाले आफ्नो वडामा बसोबास गर्ने अस्थायी तथा स्थायी नागरिकहरूको अवस्था थाहा पाउनु पर्दछ । यस अवस्थामा गरिब तथा विपन्न वर्गहरूको बारेमा खोजी–खोजी जानकारी लिनुपर्ने दायित्व स्थानीय सरकारको रहेको छ ।

कुनै पनि नागरिक भोकभोकै नमरून् भनेर खोजी–खोजी व्यवस्थापन गर्ने कार्यमा स्थानीय सरकार लागिपर्नु पर्ने आवश्यकता देखिन्छ । यतिबेला हामी एक प्रकारको युद्धको लडाइँ गरिरहेको अवस्थामा राज्यको सारा शक्ति यसैमा खर्च गरिनुपर्दछ । रोजगारदाता, उद्योग तथा कम्पनीहरूले कुनैपनि मजदुर या कर्मचारीहरूको एक पैसा पनि काट्नुहुँदैन । कुनै पनि मजदुर, कर्मचारी तथा किसानहरूको आम्दानी रोकिनु हुँदैन ।

ज्यालादारी गर्नेहरूको लागि प्रत्येक वडाले दुई छाक खाना खाने उचित व्यवस्था मिलाउनुपर्दछ । यस्ता परिवारहरूले घरभाडा तिर्न सक्दैनन् त्यसैले घरभाडा लगाउनेहरूले सके केही महिनाको भाडा मिनाहा गरिदिने र स्थिति सामान्य भएपश्चात किस्ता–किस्ता गरेर तिर्ने व्यवस्था मिलाउन सके ठूलो सहयोग हुनेछ । यसरी मद्दत गर्ने घरबेटीहरूलाई सरकारले घरभाडा कर मिनाहा या छुट गर्नुपर्दछ ।

हरेक बैंक, सहकारीलगायतका वित्तिय संस्थाले आफ्ना ग्राहक या सदस्यहरूलाई ब्याज नलिने, घटाउने अथवा यस्तै केही राहत प्याकेज घोषणा गर्न सके धेरै राहत मिल्न सक्दछ । टेलिफोन या इन्टरनेट प्रदायकले सके सित्तैंमा, नसके भारी छुटमा आफ्ना सेवा उपलब्ध गरे लकडाउनको स्थितिमा धेरै राहत हुनेछ । यसदेखि बाहेक देशैभरिका चिकित्सकहरूलाई सुरक्षित राख्नु पहिलो आवश्यकता हो । धेरैभन्दा धेरै चिकित्सकहरूलाई पूर्णदक्ष बनाउनेतर्फ जोड दिनसके संक्रमितको संख्या बढे पनि आत्तिनुपर्ने स्थिति सृजना नहुन सक्छ ।

त्यस्ता चिकित्सकहरूलाई अहिलेदेखि नै देशैभरिको आइसोलेशन सेन्टरमा खटाउने कार्यमा ढिला गर्नुहुँदैन । यसदेखि बाहेक कोरोनाको जाँचको नतिजा चाँडै दिनसक्ने उपकरणहरू प्रत्येक प्रदेशमा व्यस्था गर्न सकियो भने महामारी नियन्त्रणमा धेरै नै सहज हुन सक्छ । अन्य अत्यावश्यक उपकरणहरू उपलब्ध गराउन राज्यको कोष कन्जुस्याइँ नगरी खर्च गर्नु अहिलेको आवश्यकता र बाध्यता हो । हालसम्म चिकित्सक, एम्बुलेन्स चालक, अस्पतालका कर्मचारी, नर्स तथा सम्वेदनशील क्षेत्रमा काम गर्ने कर्मचारीहरूको लागि सरकारले पीपीई व्यवस्था गर्न सकेको छैन । यसले गर्दा उनीहरू एकदमै असुरक्षित छन् ।

यदि, कुनैपनि चिकित्सकलाई कोरोनाको संक्रमण छ भने उनीहरूले पीपीईजस्ता सुरक्षा उपकरण प्रयोग नगरेको कारण उनीहरू संक्रमण सार्ने माध्यम पनि बन्न सक्छन् अथवा अन्य संक्रमितहरूबाट पनि उनीहरू सुरक्षित हुन सक्दैनन् । चिकित्सकहरू प्लास्टिक रेनकोटको भरमा डराई–डराई काम गरिरहेका छन् । गमबुट पालैपालो प्रयोग गर्नुपर्ने कस्तो बिडम्बना ? सुरक्षाको अभाव महशुस भए औषधि पसलहरू नखुल्न सक्छन्, दैनिक उपभोग्य सामानहरू उपलब्ध गराउने सेवादाताहरूले संक्रमण सर्ने डरले नागरिकहरूलाई सेवा नदिन सक्छन् । यस्तो परिस्थिति आए अर्को समस्या तथा भोकमरी नागरिक तथा राज्यले भोग्नुपर्ने अवस्था आउन सक्छ ।

यसलाई मध्यनजर गर्दै राज्यले चिकित्सक, अस्पतालका कर्मचारी, प्रहरी, औषधि पसले, दूध तथा खाद्यान्न सेवा प्रदान गर्ने सेवादाताहरूलाई पीपीई जस्ता अन्य सुरक्षा साधनहरू उपलब्ध गराउनै पर्छ । यसमा राज्यले बेलैमा ध्यान दिएन भने आउन सक्ने भयावह अवस्थामा आत्मसमर्पण गर्नुदेखि बाहेक अन्य विकल्प हुनेछैन । त्यसैले पीपीईजस्ता सुरक्षा पहिरन आफ्नै देशमा निर्माण गर्ने क्षमता राख्ने नेपाल आविष्कार केन्द्रजस्तो संस्थालाई सरकारले प्रोत्साहन गर्नुपर्दछ । वर्तमान स्थितिमा अन्य देशहरूको सहयोग मागेर भएपनि यी कुराहरू तत्काल पूर्ति गर्नुपर्ने आवश्यकता रहेको छ ।

अहिलेको परिस्थितिमा लकडाउन गरिनु ठूलो कुरा होइन तर यस परिस्थितिको सामना गर्दा अर्को चुनौती हाम्रो अगाडि खडा भएको छ । त्यस्तै लकडाउन साम्य भएपछिका परिस्थितिहरूलाई सामना गर्न हामी कति तयार छौं भन्ने अहम् प्रश्न पनि खडा भएको छ ।

यदि लकडाउन धेरै दिनसम्म जारी रहने परिस्थिति आयो भने मानिसहरूसँग खानेकुरा मात्र नभई औषधिको पनि अभाव हुन सक्छ । यदिमानिसहरूले औषधि सहजै प्राप्त गरेनन् भने यसले फेरि धेरै मानिसहरूमा अन्य रोगहरूको जटिलता निम्त्याउन सक्छ । त्यसैले अति आवश्यक सामाग्रीहरू नागरिकहरूलाई सहज नभएपनि उपलब्ध गराउन सक्ने संयन्त्र राज्यले विकास गर्नुपर्दछ । कोभिड संक्रमितलाई नपर्खी तत्कालै प्रत्येक नागरिकको कोरोना जाँच गर्ने सुविधा राज्यले व्यवस्था गर्न सके कोरोनाविरुद्धको युद्ध जित्न नेपाललाई सहज हुनेछ ।

अहिलेको परिस्थितिलाई मध्यनजर गर्दा मानिसहरू भेला हुन नदिने कार्यलाई थप कडाइका साथ निरन्तरता दिँदै कर्मचारीहरूलाई सकेसम्म घरबाटै काम गर्ने वातावरण मिलाउने सक्ने कार्यालयहरूले यसलाई निरन्तरता दिनुपर्दछ । अति आवश्यक कार्यको लागि कार्यक्षेत्र जानुपर्ने भए उच्चसतर्कता अपनाउनुबाहेक अन्य विकल्प छैन ।

नागरिकहरूलाई स्वास्थ्य परामर्शको लागि टोल स्वास्थ्य सेवातत्काल व्यवस्था गर्न सके अस्पतालको चाप कम गर्न र संक्रमण पहिचान गर्न सहज वातावरण उपलब्ध गराउन मद्दत गर्दछ । हामी कसरी दक्षिण कोरियाको नेतृत्व पछ्याउन सक्छौं ? सबैभन्दा पहिले एउटा राज्यभित्र एक वा दुई केन्द्रहरूमा जानुको सट्टा परीक्षणको सजिलो उपलब्धता हुनु आवश्यक छ । परीक्षण तथा उपचारको लागि प्रत्येक अस्पतालमा छुट्टै प्रवेशद्वारका साथ छुट्टैकक्ष निर्माण गर्न सके संक्रमण फैलिने प्रक्रिया न्युन हुन सक्छ ।

चीन र कोरियाले अपनाएका पद्धति

चीनले त्यहाँको नागरिकहरूलाई डिजिटल प्रविधि र एप्समार्फत ज्वरो तथा कोरोना जाँच गर्ने व्यवस्था मिलाउनुका साथै त्यसबाट संक्रमण पत्ता लागेका व्यक्तिहरूलाई जीपीएस ट्रयाक गरी घरबाटै अस्पताल पुर्‍याउने व्यवस्था गर्‍यो । वुहानले कोरोनाको युद्ध जित्नुको एक कारण यो पनि हो । नेपालमा पनि विभिन्न आईटीको टिमलाई सामेल गराई यस प्रकारको प्रविधिमार्फत धेरैभन्दा धेरै नागरिकको परीक्षण गर्न सक्छ ।

यसले गर्दा इटालीको जस्तो बिजोग परिस्थिति रोक्न मद्दत गर्न सक्छ । यसदेखि बाहेकका अन्य जुनसुकै प्रविधि तथा विकल्पहरू अवलम्बन गर्न राज्य तथा नागरिक नचुकोस् । राज्यको खर्चले धानेन भने अन्तर्राष्ट्रिय सहयोगको लागि हात फैलाउन परे त्यो पनि गरिनुपर्दछ ।

भएसम्मको संयन्त्र प्रयोग गरि पहिला यस महामारीबाट नेपाललाई बचाउने कोशिस गरौं । यो लडाइँ कुनै एक पक्ष, जात, समुदाय तथा व्यक्तिको होइन । यो बेला बडो बुद्धिमानी तथा संयम भएर प्रतिपक्षको भावनालाई त्यागेर एक मनको हुन पर्दछ । सरकारले नागरिकलाई, नागरिकले सरकारलाई साथ दिएर अगाडि बढ्नु अहिलेको परिस्थितिको माग हो ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस विश्वभरि फैलिरहेको बेलामा दक्षिण कोरियाले बुद्धिमत्तापूर्ण उपाय अपनाएर कोरोना भाइरसविरुद्धको लडाइँमा जित हासिल गर्दै आएको छ । अहिलेसम्म दक्षिण कोरिया न्यूनतम लकडाउनको साथ समस्याको सामना गर्न सबैभन्दा सफल भएको छ ।

दक्षिण कोरियाका मानिसमा संक्रमण हुँदा पनि त्यहाँ लकडाउन तथा अन्य कठोर उपाय अपनाइएन । दक्षिण कोरियाका परराष्ट्रमन्त्री काङ युङ वाले छिटो परीक्षण र राम्रो उपचार गरेका कारण कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या कम भएको जानकारी दिएका छन् । त्यहाँ ६०० भन्दा बढी परीक्षण केन्द्र खोलेको र ५० भन्दा बढी ड्राइभ इनस्टेसनमा स्क्रीनिङ गरेको उनले बताए ।

मानिसहरूको तापक्रम र गलामा भएको समस्या जाँच्न जम्मा १० मिनेट र कोरोना परीक्षणको रिपोर्ट एक घन्टाभित्र आउने व्यवस्था मिलाएको जानकारी पनि उनले दिए । देशभरि संक्रमण जाँच्नका लागि ठूला भवन, होटल, पार्किङ लट र सार्वजनिक स्थानहरूमा थर्मल इमेजिङ क्यामरा लगाइएको कारणले ज्वरो आएको मानिसको तत्काल पहिचान गर्न यसबाट सहज भयो ।

त्यहाँ मानिसहरूलाई कल गरेर भेटघाट गर्ने सल्लाह दिइएको छ । दक्षिण कोरियाले आफ्नै किट विकास गर्न सफल भएको छ, जुन उनीहरूले ५ लाखभन्दा बढी व्यक्तिको लागि प्रयोग गरिरहेका छन् । यसलाई अन्य देशहरूमा पनि निर्यात गरेका छन् । हाल कोरियाले प्रतिदिन २० हजार व्यक्तिलाई जाँच गरिरहेको छ जुन संसारको कुनै पनि देशभन्दा बढी हो ।

भाइरसको छिटो पहिचान र नागरिकको सहयोगमा सरकारको निर्देशन अनुशरण गर्दा कोरियामा प्रतिदिन ८०–९० संक्रमित कम गर्न सहज भएको छ । हामी कोरिया तथा अन्य देशजस्तो प्रविधिमा अगाडि छैनौं । धेरै मानिसहरू थाहै नपाई कोरोना संक्रमित भएको र संक्रमण फैलाउने माध्यम भएको डब्लुएचओले जानकारी गराइसकेको र अन्य देशको अवस्था हेर्दा पनि हामीले सक्ने गरेर स्क्रिनिङको संख्या बढाएर जतिसक्दो धेरै मानिसहरूमा संक्रमण भएनभएको साधारण अड्कल निकाल्न सक्छौं ।

कोरोना संक्रमित व्यक्तिहरूमा सुरुसुरुमा कुनै लक्षण देखा नपर्न सक्छ । लक्षण देखा परेका संक्रमितको प्रतीक्षा नगरी धेरैभन्दा धेरै मानिसहरूको परीक्षण गर्ने कार्यलाई अगाडि बढाउन सके आतिनुपर्ने अवस्था सृजना नहुन सक्छ ।

Loading...