विराटनगरका धर्मशालालाई क्वारेन्टाइन बनाइने

२२० बेड क्वारेन्टाइन तयार


विराटनगर, १३ चैत । कोरोना संक्रमण फैलन सक्ने जोखिम बढेपछि विराटनगर महानगरपालिकाले २२० बेडको क्वारेन्टाइन तयार पारेको छ । विभिन्न संस्थाहरुको सहयोगमा २ सय २० वेडको क्वारेन्टाइन तयारी अवस्थामा राखको हो ।

विराटनगरमा रहेको मारवाडी सेवा सदन, अतिथी सदन, जैन भवन, काली सेवा सदन, रामजानकी सेवा सदन क्वारेन्टाइनका लागि प्रयोग गरिने छ ।

बिहीबार भएको छलफलमा ती संस्थाहरुले आफ्नो भवनलाई प्रयोग गर्न दिने सहमति गरेका छन् ।

बिहीबार अतिथि सदनका अध्यक्ष दिनेश गोल्छा, मारवाडी सेवासदनका अध्यक्ष देवकीनन्दन अग्रवाल, जैन भवनका अध्यक्ष जितेन्द्र गोल्छा, काली मन्दिर सेवा सदनका उपाध्यक्ष सुदर्शन श्रेष्ठ, रामजानकी सेवा सदनका अध्यक्ष शिवशंकर अग्रवाललसँग विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले छलफल गरेका थिए ।

छलफलका क्रममा ती सेवासदनहरुका कोठाहरु क्वारेन्टाइनका लागि प्रयोगमा ल्याउने सहमति भएको हो ।

एटेज ट्वाइलेट वाथरुमसहितको कोठाहरु क्वारेन्टाइनमा बस्न आउनेहरुलाई प्रयोग गर्न दिइनेछ ।

विराटनगरमा रहेको अतिथि सदनमा ४० ,मारवाडी सेवासदनमा २० ,कालीसेवा सदनमा २० ,रामजानकी सेवासदनमा २० ,जैन भवनकाे २० डवलवेडको कोठाहरु क्वारेन्टाइनमा प्रयोग गरिने छ ।

महानगरले विरानगर स्थित वडा– १९ मा रहेको बैझनाथपुर स्वास्थ्य चौकीमा २० बेडको क्वारेन्टाइन बनाइएको छ ।

यी दुवैमा गरी २ सय २० वेड क्वारेन्टाइनका लागि तयारी अवस्थामा राखिएको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिए ।

उनले विभिन्न सामाजिक संघसंस्था तथा धार्मिक स्थलमा समेत आबस्यक परेको अवस्थामा थप क्वारेन्टाइन विस्तार गर्न सकिने बताए ।

Loading...