८ सय बेडकाे आइसोलेशन वार्ड तयार गर्न मन्त्रीको निर्देशन

विराटनगर, १३ चैत । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि १ नम्बर प्रदेश सरकारले थप ८ सय आइसोलेशन वेड तयार गर्ने निर्णय गरेको छ ।

नेपालमा हालसम्म तीनजनालाई कोरोना संक्रमण देखिएको छ । ती मध्ये दुई उपचारमा छन् ।

विरामी बढ्ने निष्कर्ष निकाल्दै प्रदेश सरकारले तत्काल आठसय बेड बनाउन अस्पतालहरुलाई सर्कुलर जारी गरेको छ । बिहीबार सामाजिक विकास मन्त्रालयमा भएकाे छलफल पछि मन्त्री जीवन घिमिरेले बेड तयार गर्न सर्कुलेशन जारी गरेका हुन् ।

‘सुरुवाती अवस्थामा जागरण अभियानसँगै २८ वेड तयार गरेका थियौं ।’ सामाजिक विकास मन्त्री घिमिरले भने ‘ थप एक विरामी भेटिदा ५० बेडको अस्पताल तयार गर्याै । तर अर्काे विरामी भेटिएपछि एक हजार वेड पूर्याउन सर्कुलर जारी गरेका छौं ।’

बिहीबार नोबेल मेडिकल कलेजमा २००, विराट मेडिकल कलेजमा १००, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २००, कोशी अस्पतालमा १००, मेची अस्पतालमा ५० र बिएमसी अस्पताललाई १५० बेड तयार गर्न निर्देशन दिएको बताए ।

अस्पतालहरुलाई तत्काल आइसोलेशन वार्डको तयारी थाल्न निर्देशन दिइएको उनले बताए । ‘ निजी– सरकारी भन्ने कुरा आउँदैन्, अस्पतालहरु राज्यको ऐन कानुन अनुसार चलेका छन् ।’ उनले भने ‘ आइसोलेशन निर्माणको सर्कुलर परीक्षा पनि हो ।’

निजी अस्पतालहरुले संकटको समयमा पन्छिन नमिल्ने बताउँदै उनले सरकारको निर्देशन कार्यान्यन नभए कानुन अनुसार अघि बढ्ने बताए ।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि प्रदेश १ मा एक हजार ३ सय ३१ बेडको क्वारेन्टाइन स्थल निर्माण गरिएकाे छ ।

कोरोना संक्रमित र संकास्पदको उपचारका लागि प्रदेशमा २३२ बेडको आइसोशेलन वार्ड तयार भइसकेकाे छ ।

Loading...