कोरोना भाइरस सम्पूर्ण मानवजातिका लागि खतरा

विराटनगर, १३ चैत । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले कोरोनाभाइरस महामारीलाई सम्पूर्ण मानवताका लागि खतरा भन्दै त्यसविरुद्ध सम्पूर्ण मानव लागिपर्नुपर्ने बताएका छन् ।

उनले देशहरूको एक्लाएक्लै लडाइँ पर्याप्त नहुने बताउँदै आधारभूत स्वास्थ्य सेवासमेत नभएका जोखिमपूर्ण देशहरूलाई राष्ट्रसंघले दुई अर्ब डलर कोषको मद्दत गर्ने घोषणा गरेका छन् ।

एन्टोनियोले यो महामारीलाई विकसित मुलुकहरूमा नियन्त्रण गरेर यसलाई विकासोन्मुख देशहरूमा डढेलो जसरी फैलन दिइन्छ भने दसौँ लाख मानिसको ज्यान जान सक्ने बताएका छन् ।

त्यतिमात्र नभएर यसले भाइरसलाई स्वरूप परिवर्तन गर्ने अवसर पनि दिनेछ र परिवर्तित भाइरसले बनेका खोप पनि काम नलाग्ने गरि फेरि सबैलाई आक्रमण गर्न सक्ने हुँदा यो लडाइँ आधामात्र लड्न नसकेको बताए ।

यसबीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले परीक्षण, क्वारन्टीन तथा सङ्क्रमणका स्रोतको निरन्तर खोजीको आवश्यकतामाथि जोड दिएको छ ।

सङ्क्रमणबाट अति प्रभावित इटलीको प्रयासलाई प्रशंसा गर्दै विस्तारै उसका प्रयासले नतीजा ल्याउने राम्रा सङ्केत देखिएको डब्लुएचओले बताएको छ ।

Loading...