एजेन्सी, १३ चैत । कोरोना भाइरसको संक्रमणको जोखिमलाई न्यूनीकरण गर्नका लागि मानिसहरू हातलाई साबुन पानीले बारम्बार धुने तथा स्यानिटाइजरको प्रयोग गरिरहेका छन् ।
तर, कतिपय मानिसहरूलाई कति बेला साबुन पानीको प्रयोग गर्ने र कति बेला स्यानिटाइजरको प्रयोग गर्ने विषयमा थाहा नभएको देखिन्छ ।
घरमा रहँदा साबुनपानीले हात धुनु सबैभन्दा उपयुक्त मानिन्छ ।
केही फोहोर सामानलाई छुदा वा बिरामीको सम्पर्कमा आएपछि साबुनपानीले हात धुन अनिवार्य हुन्छ ।
हातखुट्टामा देखिने खालको फोहोर छ भने फोहोर हटाउनका लागि साबुन पानीको प्रयोग गर्नु पर्छ ।
खाना खानुअघि, दिसा–पिसाब र बच्चाको डाइपर परिवर्तन गरेपछि हातका किटाणु मार्न साबुनपानी नै उपयुक्त हुन्छ ।
घरबाहिर रहँदा सबै ठाउँमा साबुनपानी उपलब्ध नहुने अवस्थामा स्यानिटाइजरको प्रयोग गर्न सकिन्छ ।
स्यानिटाइजरले सफा राख्नेभन्दा पनि हातमा नदेखिने किटाणु तथा जीवाणुलाई हटाउने काम गर्छ ।
अल्कोहलको मात्रा औसतमा ६० प्रतिशत भएको स्यानिटाइजरको प्रयोग उपयुक्त हुन्छ ।
खोक्दा, रुघा लाग्दा, हाच्छिउँ गर्दा स्यानिटाइजर प्रयोग गर्नु उचित हुन्छ । अहिले रसायनयुक्त स्यानिटाइजर पाउने भएको हुँदा स्यानिटाइजर खाना खाने समयमा प्रयोग गर्नुहुँदैन ।
अल्कोहलको मात्र ज्यादा भएका स्यानिटाइजरले आगो लाग्न सक्ने हुदा खाना पकाउँदा वा आगो जन्य काम गर्दा यसको प्रयोग उचित हुँदैन ।
स्यानिटाइजरलाई बच्चाहरूको पहुँचबाट टाढा राख्नुपर्छ ।
दुई वर्षभन्दा मुनिका बच्चाका लागि स्यानिटाइजरको प्रयोग गर्नु हुँदैन ।
सामान्यदेखि अल्कोहलयुक्त स्यानिटाइजरमा हुने रसायनिक तत्वले अनुहारमा हानि पुर्याउन सक्ने हुँदा अनुहार वा मुखमा स्यानिटाइजर लगाउनुहुँदैन ।
मानिस साबुनपानीको सट्टामा स्यानिटाइजर प्रयोग गर्न थालेका छन्, जुन गलत हो ।