अफिसमा बसेरभन्दा घरमा बसेर गरिने काम बढी प्रभावकारी

विराटनगर, १३ चैत । नेपालमात्रै नभएर विश्वका कयौँ देशहरूमा कोरोना भाइरसको संक्रमण हुन सक्ने जोखिमका कारण भएको लकडाउनका कारण मानिसहरूलाई घरबाहिर जान प्रतिबन्ध लगाइएको छ ।

स्कुल, कार्यालय तथा विभिन्न व्यवसायहरू बन्द भएको समयमा धेरैजसो कार्यालयका कामहरू घरबाट गर्न सुरु गरिएको छ ।

लकडाउनले अफिसको काम घरमै बसेर गर्ने ट्रेन्ड बढेको बेलामा अनलाइनमार्फत् गरिने कामहरू बढेको अध्ययनले देखाएको छ ।

अफिसमा गएर काम गर्नुभन्दा घरमा बसेर काम गर्न नसकिने धेरैको भनाइ हुन्छ तर, अध्ययनले अफिसमा बसेरभन्दा घरमा बसेर गरिने काम बढी प्रभावकारी रहेको देखाएको छ ।

अफिसमा गएर काम गर्नेले दैनिक औसत १ घण्टा अफिस जान, आउन र त्यसको तयारी गर्नको लागि छुट्याउने गर्छ ।

त्यसमध्ये पनि ट्राफिक जामका लागि पनि समय खर्च हुने गर्छ ।

अनुसन्धानले जागिर छाड्ने एक चौथाइले घरबाट अफिस टाढा भएको कारण जागिर छाड्ने गरेको पायो ।

स्वतन्त्र कामदारका (फ्रिलेन्स वर्कर) को प्लेटफर्मको रुपमा रहेको एयरटास्करले गरेको अध्ययनमा घरभन्दा टाढा अफिस हुने कर्मचारीहरूका हकमा घरमा बसेर गर्ने काम बढी प्रभावकारी भएको पाइयो ।

एयरटास्करले अध्ययनका क्रममा करिब १ हजार जनामा गरेको सोधमा बहुमतले घरबाटै गरिने कामलाई आफूले बढी प्राथमिकता दिने गरेको पाइएको हो ।

अनुसन्धानले अफिसमा गएर काम गर्ने भन्दा घरबाटै काम गर्नेले धेरै आराम गर्नसक्ने र बढी काम गर्न सक्ने दाबीसमेत गरेको छ ।

घरमा काम गर्नेले अफिसमा गएका कर्मचारीभन्दा दैनिक ४ मिनेट बढी आराम गर्नुका साथै अफिसमा गएर काम गर्नेले भन्दाले महिनामा १.४ दिन अर्थात् १ वर्षको १६.८ दिन बढी काम गर्ने गरेको दाबी छ ।

अफिसमा काम गर्नेले खाजा खाने समय बाहेक पनि दैनिक ३७ मिनेटको समय कामविहीन भएर बस्ने गर्छ । जबकी घरमा बस्नेले २७ मिनेट मात्रै त्यसरी आइडल भएर बस्ने गर्छ ।

दैनिक १० मिनेट थप बचत अफिस जान र आउन लाग्ने समयलाई आफ्नो व्यक्तिगत स्वास्थ्य, व्यायाम, सरसफाइ र मनोरञ्जनमा बढी समय दिन सकिने अध्ययनमा उल्लेख गरिएको छ ।

अनुसन्धानमा १७ प्रतिशत कर्मचारीले कार्यक्षेत्रमा हुने निगरानी मन नपरेको समेत बताए ।

बचतको हिसाबमा पनि घरमा बसेर गर्ने कामले अफिस जाँदा र आउँदा हुने इन्धनको खपत, सार्वजनिक सवारीको भाडाको बचत गर्नसक्ने भएकोले कामलाई थप उत्पादनशील बनाउने अनुसन्धानको दाबी छ ।

तर, अनुसन्धानको घरमा बसेर काम गर्नेहरूलाई दुईवटा समस्या देखाएको छ ।

कामको प्रोडक्टिभिटिबारे शंका, घरको समय र अफिसको समयलाई व्यवस्थापन गर्न नसकेको कारणले मनोवैज्ञानिक रुपमा विक्षिप्त भइरहेका देखायो ।

एयरटास्करकै अनुसन्धानमा सहभागी २९ प्रतिशतले आफूलाई समयको व्यवस्थापन गर्न निकै गाह्रो परेको बताए ।

Loading...