१० वर्षअघि बनेको ‘कन्टेजन’ र अहिले फैलिएको कोरोना भाइरस बीचको समानता

एजेन्सी, १३ चैत । सन् २०११ मा सार्वजनिक भएको अङ्ग्रेजी फिल्म ‘कन्टेजन’लाई केही समययता गुगलमा खोज्ने क्रम बढेको छ ।

म्याट डेमन, ज्यूड ल, ग्वेइनेथ प्याल्ट्रो, केट विन्स्लेट र माइकल डग्लसजस्ता ख्यातिप्राप्त कलाकारले अभिनय गरेको भए पनि फिल्म खासै सफल भने भएको थिएन ।

कन्टेजन निर्माण गर्ने कम्पनी वार्नर ब्रदर्स फिल्म स्टूडिओका अनुसार गत डिसेम्बरमा उसको सूचीमा उक्त चलचित्र २७०औँ स्थानमा थियो ।

त्यति बेला भर्खरै चीनबाट कोरोना भाइरसको सङ्क्रमणको खबर आउन थालेको थियो ।

गत फेब्रुअरी २६ तारिखमा प्यालट्रोले फेस मास्क लगाएको तस्बिर सामाजिक सञ्जालमा राखेपछि उक्त चलचित्रप्रति धेरैको चासो बढेको थियो ।

फिल्ममा एक व्यवसायीको भूमिकामा रहेकी महिलाको रहस्यमय तथा घातक भाइरसका कारण मृत्यु हुन्छ ।

चीन गएका बेला उक्त भाइरसबाट उनी सङ्क्रमित भएको चलचित्रमा देखाइएको छ ।

पछिल्लो समयमा कोन्टेजन प्रख्यात हुँदै जानुको कारण चीनसँग सम्बन्धित विषय वस्तु भएकाले पनि हो ।

कोरोना भाइरस पनि पहिलोपटक चीनमा देखा परेको थियो ।

प्याल्ट्रोले अभिनय गरेको चरित्रकी महिला एमईभी–१ नाम दिइएको भाइरसबाट सङ्क्रमित हुन्छिन् ।

वध गरिएको एउटा सुँगुर चलाएका हङ्कङका पाक्शास्त्रीसँग हात मिलाएपछि उनलाई उक्त सङ्क्रमण भएको फिल्ममा देखाइएको छ ।

सुँगुरमा भने चमेराबाट भाइरस सरेको देखाइएको छ ।

घर फर्किएपछि उनी बिरामी पर्छिन् र अन्ततः उनको मृत्यु हुन्छ ।

उनका छोराको पनि त्यसको केही समयमा मृत्यु हुन्छ । तर पतिको पात्र भने स्वस्थ रहन्छन् । कोन्टेजनमा वास्तविक अवस्थासँग मिल्ने कैयौँ समानता छन् ।

कोरोनाभाइरस सङ्क्रमणको महामारी विश्वव्यापी हुनु र उक्त चलचित्रको कथाबीच समानता भएका कारण तीन महिनापछि कोन्टेजनको स्थानमा उल्लेख्य सुधार भएको छ ।

Loading...