पटक पटक हात धुँदा छालालाई यसरी जोगाऔं

विराटनगर, १३ चैत । कोरोना भाइरस संक्रमणको जोखिमलाई कम गर्नका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)अन्तर्गत रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) र चिकित्सकहरूले बारम्बार साबुनपानीले हात धुन आग्रह गरिरहेका छन् ।

एकदमै छिटो फैलिरहेको कोरोनाको महामारीबाट बच्नका लागि बारम्बार साबुन पानीले हात धुने र स्यानिटाइजरको प्रयोग प्रभावकारी उपाय मानिन्छ ।

तर, सुक्खा मौसम, तथा ड्राइ छाला भएका मानिसहरूले बारम्बार हात­ धुँदा प्रत्यक्ष असर परिरहेको हुन्छ ।

बारम्बार किटाणुनासक साबुनको प्रयोग गरी बारम्बार हात धुनाले एलर्जी आउने, चिलाउने, छाला फुट्ने, रातो हुने, छाला निस्किने जस्ता समस्या आउन सक्छ ।

त्यस्तै, छाला पातलो हुने व्यक्तिमा स्यानिटाइजर र कडाखालको साबुनमा हुने रसायनले अरुको तुलनामा छिटो प्रभाव पार्छ ।

छालालाई सुक्खा हुन नदिन हात धुँदा ख्याल गर्नुपर्ने हुन्छ ।

खाना खानु अघि र ट्वाइलेट गएर आउँदाबाहेक हात फोहोर नभएको बेलामा हात धुनुको सट्टामा स्यानिटाइजरको प्रयोग गर्न सकिन्छ ।

सामान्यतया चिसो पानी कडाखालको हुने हुँदा छालालाई सुक्खा बनाउन सक्छ । चिसोपानी र धेरै रसायन भएको किटाणु नासकको साबुन प्रयोग गर्दा छाला फुट्ने सम्भावना बढेर जान्छ ।

भाइरस मार्नका लागि कम्तीमा पनि २० सेकेन्ड साबुनपानीले मिचेर हात धुन आवश्यक हुन्छ । तर, यो २० सेकेन्डभित्रमा छालाका कोषहरूमा असर पुग्न सक्छ ।

यसबाट बच्न मनतातो पानी प्रयोग गर्न सकिन्छ ।

कडा साबुन बारम्बार प्रयोगमा ल्याउँदा छाला सुक्खा हुने र फुट्ने समस्या ठोस साबुनको सट्टा तरल अवस्थामा रहेका ह्यान्ड वास वा मोस्चराइजरयुक्त साबुनको प्रयोग गरेमा छाला सुक्खा हुनबाट जोगाउन सकिन्छ ।

साबुनपानीले हात धोएर खुला छोड्दा हावाको कारणले छाला थप ड्राइ हुने हुँदा हात धोएपछि पनि बाक्लोखालको मोस्चराइजर, वा भ्यास्लिनको अनिवार्य प्रयोग गर्नुपर्छ ।

हात धोइसकेपछि प्रत्येकपटक मोस्चराइजरको प्रयोग गर्दा छाला फुट्नबाट बचिन्छ ।

पटक–पटक हात धोइरहनुपर्ने व्यक्तिका लागि पन्जाको प्रयोग मुख्य विकल्प हुन सक्छ ।

पन्जाको प्रयोगले हात धुने दर घटाउनुका साथै भाइरसको संक्रमणबाट पनि जोगाउँछ । तर, पन्जा निकालिसकेपछि हात धुन आवश्यक हुन्छ ।

Loading...