समस्या परे फोन गर्नुहोस्, राति १२ बजे घरमै आउछौं, तर बाहिर ननिस्कनुहोस्

विराटनगर, १३ चैत । कोरोना संक्रमणको त्रास फैलिएपछि सरकारले लक डाउन गरेको छ । तर विराटनगरमा लकडाउनको पूर्ण पालना भएको छैन ।

कोरोना संक्रमण रोकथामका लागि स्थानीय सरकारले सर्वसाधारणलाई आग्रह गरिरहेको छ । तर सडकमा निस्कनेको संख्या भने घटेको छैन ।

‘घरमै बस्नुहोस्, समस्या परे हामीलाई सम्पर्क गनुहोस् ।’ विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली भन्छन्, ‘राति १२ बजे मसहित महानगरको टोली आउन तयार छ ।’

विराटनगर महानगरपालिकाले वडास्तरमा जनप्रतिनधी र स्वास्थ्यकर्मीको टोली शंकास्पद व्यक्तिको पहिचानका लागि परिचालन गरेको छ ।

शंकास्पद व्यक्तीलाई कोशी अस्पताल ल्याएर स्वास्थ्य परीक्षण गरी होम क्वारेन्टाइन वा प्रदेश सरकारले स्थापना गरेको क्वारेन्टाइनमा राखिने उनले बताए ।

आफ्नो घर टोलमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई फोन गर्न उनले आग्रह गरे ।

‘तपाईंको घरमा अथवा वर पर कोही शंकास्पद बिरामी छन् भने मलाई वा पदाधिकारी र स्वास्थ्यकर्मीलाई फोन गर्नुहोस्,’ उनले भने, ‘हाम्रो नम्बर सार्वजनिक छ । शंकास्पद भए जानकारी गराउनुहोस् राति १२ बजे पनि आउछौं ।’

मेयर पराजुलीका अनुसार विराटनगर महानगरपालिकाले पनि छुट्टै क्वारेन्टाइन निर्माण गरेको विराटनगर–१९ वैजनाथपुरमा क्वारेन्टाइन निर्माण गरेको हो ।

कोरोना संक्रमण रोकथामका लागि महानगरपालिकाले बजारमा निर्मलीकरण अभियान पनि सुरु गरेको उनले बताए ।

Loading...