व्यक्तिगत जोखिमलाई वेवास्ता, राष्ट्रका लागि सेवाको मात्र वास्ता

विराटनगर, १३ चैत । शरीरमा सेतो गाउन र मुखमा सामान्य मास्क र हातमा ग्लोव । भन्सार यात्रु शाखाको साँघुरो कोठा । मच्छर र झिँगाको आतंङक उस्तै । कोरोना भाइरस पत्ता लगाउनका लागि ज्वरो जँचाउनेहरूको दिनभरि ओइरो । तर जोखिमको कुनै पर्वाह नै गरेनन बरु देशभित्र कुनैपनि हालतमा कोरोना नछिरोस् भन्ने चिन्ता मात्र गरिरहे ।

विश्व महामारीका रूपमा फैलिरहेको प्राणघातक कोरोना भाइरसको संक्रमण रोकथाम गर्न विराटनगर–जोगबनी नाकामा २२ फागुनदेखि ११ चैतसम्म व्यस्त भएर ८ जना नेपाली स्वास्थ्यकर्मीहरू निरन्तर खटिरहे । उनीहरू बिहान ६ देखि १२ र दिउँसो १ देखि ८ बजेसम्म चार–चार जनाको शिफ्ट बनाएर निरन्तर भारतबाट नेपाल आउनेहरूको ज्वरो जाँच र सोधपुछमा निरन्तर खटिए ।

लकडाउनको दोस्रो दिनदेखि नेपाल–भारत दुवैतर्फ नाका बन्द भएकोले उनीहरूले सास फेर्न पाएका छन् । तर उनीहरूले अझै हेल्थडेस्को डयुटी भने छाडेका छैनन । दुई जना स्वास्थ्यकर्मी कथमकदाचित कोही आइहाल्ला कि भनेर चौकन्ना भएर अझै हेल्थडेस्कमा बसेका छन् ।

‘हामीलाई नाकामा खटिँदा आफूलाई कोरोना संक्रमण होला र मरौंला भन्ने पटक्कै चिन्ता भएन । बरु देशभित्र केहीगरी कोराना छिर्ला कि भन्ने मात्रै पीर भयो’, स्वास्थ्यकर्मी (अहेब) सुबानन्द चौधरीले भने । उनका अनुसार सबैजना कोभिड–१९ को संक्रमण नेपालमा नफैलियोस् भनेर जस्तोसुकै धपेडी र जोखिम भएपनि हेल्थडेस्कमा संक्रमण जोखिमका पर्वाह नगरी निरन्तर खटिरहेका छन् ।

कोरोना भाइरस भारतबाट भित्रिने जोखिमबढेपछि केन्द्र र एक नम्बर प्रदेश सरकारको निर्देशनमा विराटनगर महानगरपालिकाले जोगबनी नाकामा २२ फागुनदेखि हेल्थडेस्क राखेको हो । सुरुमा चार जना स्वास्थ्यकर्मी मात्रै राखेर भारतबाट आउनेहरूको ज्वरो जाँच गर्न थालिए पनि पार नलागेपछि थप चारजना थपेर दुई शिफ्ट ज्वरो जाँच र सोधपुछ गर्न थालियो ।

२२ फागुनदेखि ११ चैतसम्म विराटनगर–जोगबनी नाकाबाट डेढलाख मानिस नेपाल भित्रिए । उनीहरूले दुई शिफ्टमा बसेर दैनिक १ हजारदेखि २४ हजार जनासम्मको ज्वरो जाँच गरे । तर जाँचगर्दा उनीहरू कोही पनि बिचलित भएनन् ।

हेल्थ डेस्कमा खटिएकी स्वास्थ्यकर्मी दिलमाया परियारले भनिन्, ‘डयुटीमा खटिँदा हामी कसैले पनि जोखिमको पर्वाह गरेनौं बरु कतै कोरोना संक्रमित नेपाल छिर्लान् कि भनेर सधैँ होशियार बन्ने चिन्ता मात्रै गरिरह्यौं ।’

कोरोना भाइरसका शंकास्पद व्यक्ति पत्ता लगाउन र प्राथमिक उपचारका लागि विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखाबाट सुबानन्द चौधरी, प्रकाश सुवेदी, दिलमाया परियार, निलम यादव, सुलोचना श्रेष्ठ, उषा मेहता, सञ्जितकुमार सिंह र सीता खडिवडा खटिएका थिए । उनीहरू सबैको एउटै स्वर छ, ‘संकट परेका बेला सेवकहरूले निजी हैन राष्ट्रको स्वार्थलाई ठूलो मान्नुपर्छ ।’

Loading...