Rumpum

Rumpum Advertisement

महामारी रोकथामका लागि सहयोगी बनौं

महामारी रोकथामका लागि सहयोगी बनौं
सुरेन्द्र मल्ल

देश नै लकडाउन भएको अवस्था छ, यस्तो कठिन अवस्थामा कसलाई घरमा परिवारसँग बस्न रहर हुँदैन र ? म पनि घरमा आराम गरेर बसिरहेको थिएँ, यत्तिकैमा एउटा नयाँ नम्बरबाट फोन आयो, कसको रहेछ भनेर हतार हतार उठाएँ ।

प्रायः हामी यो हस्पिटलबाट बोलेको हामीलाई यो समूहको रगतको आवश्यकता पर्याे भन्ने फोनहरू आइरहेका नै हुन्छ । त्यो फोन पनि रगतको लागि नै आएको थियो । म फलानो मेरो मान्छे दुर्घटनामा परी तत्काल उसलाई एबी पोजिटिभ रगतको खाँचो परेको छ कतैबाट उपलब्ध गराइदिनुहुन्छ की भन्दै एकजना युवकले भन्नुभयो ।

यो सुन्नासाथ मन भारी भयो र मन्द स्वरमा भएपनि मसँग अहिले तत्काल नै त कोही हुनुहुन्न तर म समूहका साथीहरूसँग बुझेर केही समय पछि कलब्याक गर्छु भनेर फोन राखें । लकडाउनले गर्दा मानिसहरू घरबाट बाहिर जान नसकेको यो अवस्थामा कहाँबाट रक्तदाता खोज्ने भन्ने पीरले एकछिन त अलमल्ल परे । तर समूहका सक्रिय साथीहरूलाई फेसबुक ग्रुपच्याटमार्फत सोध्न थालें ।

कोशी हस्पिटलमा हामीलाई एबी पोजेटिभ रगतको आवश्यकता परेको रहेछ अलि अर्जेण्ट नै छ अरे कसैसँग छ रक्तदाता छन् की ? समूहका साथीले मसँग हुनुहुन्छ तर उहाँलाई लिन जानुपर्छ भन्नुभयो । मैले तुरुन्तै बिरामीको भिजिटरलाई कल गरेर सोधें रक्तदाता हाम्रो समूहका साथीसँग हुनुहुन्छ तर उहाँलाई लिन जानपर्छ तपाईंसँग साधन छ की के छ अवस्था ?

बिरामीलाई हेर्ने की रक्तदाता लिन जाने भनेर अवाक उनको बोली सुनें म आफैं पनि केही बोल्न सकिनँ । त्यसमाथि पनि उहाँ विराटनगरभन्दा बाहिरबाट आउनुभएको रहेछ साधन नभएको कारण म आफैं रक्तदातालाई लिएर आउँछु तपाईं पनि केही समयपछि ब्लड बैंक आउनुहोला भनेर फोन राखें ।

आमाले छेउमै बसेर मेरो सबै कुरा सुन्दै हुनुहुन्थ्यो । म तयार भएर निस्कन अघि नै आमाले यस्तो बन्द भएको बेलामा फेरि तलाईं समाजसेवी बनेर किन निस्कनुपर्‍यो भन्दै रिसाउनु भयो । मैले पनि स्वभाविक नै लिए आमाको रिसलाई, किनकी एउटा आमालाई आफ्नो सन्तानको मायाले त्यति भन्नु सायद जायज नै हो ।

रगतको अति नै आवश्यक छ रहेछ यसकारण म जानैपर्ने भयो भनेर आमालाई सम्झाउँदै म तयार भएर घरबाट रक्तदातालाई लिन निस्कें । रक्तदातालाई लिएर ब्लड बैंक जाने क्रममा बाटोमा तैनाथ एक प्रहरीले रोक्नुभयो तर हामी रगत आवश्यक परेर रक्तदानको लागि जान लागेको भनेपछि उहाँले हामीलाई जाने अनुमति दिनुभयो ।

ब्लड बैंक पुगेर बिरामीको भिजिटरलाई सम्पर्क गर्दा उहाँ पनि त्यहि ब्लड बैंकमै पुगिसक्नु भएको रहेछ । सम्पूर्ण प्रक्रियापश्चात रक्तदान गराएर रक्तदता र म बिरामीको भिजिटरसँग बिदा मागेर निस्कियौं । रक्तदातालाई पुनः घर छोडेर म पनि घर पुगें । रिसले फुलिएर बसिराख्नु भएको आमाले ए आइपुगिस्, लाठी भेटेनस् बाटोमा भन्दै कराउँनुहुदै थियो ।

उहाँले अझ थप्दै, समाजसेवा गर्छु भन्दै हिँड्छस् भाइरसको बारेमा थाहा छैन तलाईं ? मान्छेसँग धेरै सम्पर्कमा बस्नुहुन्न भन्ने थाहा छ की छैन ? म पनि मुस्कुराउँदै आमालाई सम्झाउने प्रयास गर्दै थिए । जिम्मेवारी नै त्यस्तै छ आमा, हस्पिटलमा रगत नपाएर बिरामी छटपटाइरहेको म घरमा आनन्दले बसेर कसरी हेरिरहुँ तपाई आफैँ भन्नु त ? यदि त्यो बिरामीको ठाउँमा आफ्नै कोही भएको भए यसरी नै घरमा आनन्दले बस्न मन मान्थ्यो र ?

पक्कै पनि बन्द, प्रकोप जस्तो अवस्थामा पनि हामीलाई जान कर लाग्थ्यो नि होइन र ? यति भन्न नपाउँदै आमा भावुक हुनुभयो । त्यसपश्चात आमाले भन्नुभयो ठीकै छ अबदेखि सतर्कता अपनाएर मात्र घर बाहिर जा, महामारी यस्तो अवस्थामा अरुलाई बचाउँने भन्दैमा आफ्नो ख्याल नै नगर्ने होइन तर आफ्नो नी ख्याल राखेर काम गर्नु ।

महामारी होस् या प्राकृतिक प्रकोप, आ–आफ्नो तर्फबाट जिम्मेवार रहने हो भने केही हदसम्म भएपनि समस्यामा एक अर्काको सहायक बन्न सकिन्छ ।