चीनमा मृत्यु हुने पहिलो दुई बिरामी लामो समयदेखि धूम्रपान गर्थे

एजेन्सी, १३ चैत । चिकित्सकहरूले यथासम्भव प्रयास गर्दा पनि कोरोना भाइरसबाट संक्रमित केही बिरामीलाई बचाउनै नसकिएको अनुभव बताएका छन् ।

बिबिसीमा उल्लेख गरिए अनुसार वुहानको जिन्यितान अस्पतालमा मृत्यु भएका पहिला दुई बिरामीका विषयमा ल्यान्सिट मेडिकल जर्नलमा लेखिएको छ ।

स्वस्थ भए पनि उनीहरूले लामो समयदेखि धुम्रपान गर्ने गरेको कारण उनीहरूको फोक्सो कमजोर भएको देखा परेको थियो ।

पहिलो बिरामी ६१ वर्षीय पुरुष थिए जो गम्भीर निमोनियाबाट पीडित भएपछि अस्पताल पुगेका थिए ।

उनलाई सास फेर्न निकै कठिन भइरहेको थियो ।

भेन्टिलेटरमा राख्दा पनि उनको फोक्सोले काम गर्न सकेन र बिस्तारै उनको मुटुले पनि काम गर्न छोड्यो ।

अस्पताल भर्ना गरिएको ११ दिनपछि उनको मृत्यु भयो ।

त्यस्तै, अर्का बिरामी पनि ६९ वर्षीय पुरुष थिए । उनलाई सास फेर्न गाह्रो हुने व्यथा लागेको थियो ।

उनको उपचार गर्न एम्को नामक उपकरणको प्रयोग गरिएको थियो ।

एम्को भनिने बाहिरी यन्त्रको सहायताले रगतमा अक्सिजन दिने प्रणाली प्रयोग गरिन्छ ।

त्यो कृत्रिम फोक्सोजस्तै हो जसले शरीरको रगतलाई बाक्लो नलीको सहायताले बाहिर निकाल्छ त्यसमा अक्सिजन भर्छ र फेरि भित्र पठाउँछ ।

तर भाइरसको प्रभाव बढ्दै गएका कारण त्यो पर्याप्त भएन । गम्भीर निमोनिया र रक्तचाप निकै तल झरेपछि सेप्टिक शकका कारण उनको मृत्यु भयो ।

Loading...