अपराध उस्तै सजाय फरक–फरक

माधव काफ्ले

विराटनगर, १३ चैत । सरकारले कोरोना भाइरस फैलन नदिनका लागि आह्वान गरेको लकडाउनको आज तेस्रो दिन । पहिलो दिनभन्दा दोस्रो दिन विभिन्न स्थानहरू सुनसान रह्यो । आज तेस्रो दिन पनि लकडाउन जारी नै छ ।

दोस्रो दिन केही ठाउँमा भने मानिसहरूले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका आह्वान गरेको लकडाउनको अवज्ञा गरे । दोस्रो दिन सरकारको आह्वान उल्लंघन गर्नेविरुद्ध प्रहरी प्रशासन खरो रूपमा प्रस्तुत भयो ।

प्रहरी मात्र नभएर सशस्त्र प्रहरी र नेपाली सेनापनि पहिलो दिनको तुलनामा दोस्रो दिन खरो रूपमा प्रस्तुत भयो । अझ, दोस्रो दिन त सुरक्षाकर्मी मात्र नभएर मेयर पनि लकडाउन नमान्नेकोविरुद्धमा भाटा बोकेर सडकमा उत्रिए ।

उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो लकडाउनको अवज्ञा गर्नेविरुद्ध भाटा लिएर सडकमा उत्रिएका थिए । उनले केही मोटरसाइकलमा सवार व्यक्तिलाई भाटा पनि बर्साए । जनप्रतिनिधि आफैं लकडाउनको उल्लंघन गर्नेहरूविरुद्ध भाटेकारवाहीमा उत्रिएको यो पहिलो घटना थियो ।

कानूनअनुसार जनप्रतिनिधिले सर्वसाधारणलाई कुटपिट गर्न पाउँदैछन् । उनीहरू सम्झाउन निस्कनुपर्ने हो । र, लकडाउन अवज्ञा गर्नेविरुद्ध कारवाही गर्ने काम सुरक्षाकर्मीको हो । बरु जनप्रतिनिधिहरू चिकित्सक र मेडिकल सामाग्री व्यवस्थापनका गर्न लागिपर्नुपर्ने हो ।

यता, सुरक्षाकर्मीले भने पैदल हिँडेर लकडाउन उल्लंघन गर्नेदेखि लिएर साइकलमा तथा मोटरसाइकलमा सवार भएर सरकारको आह्वान अवज्ञा गर्नेलाई सजाय दिएको देखियो । प्रहरीले लकडाउन अवज्ञा गर्नेलाई ‘मुर्गा’ बनाउनेदेखि लिएर भाटे कारवाहीसमेत गरेको थियो ।

सामाजिक सञ्जालमा भाइरल भएका भिडियो हेर्दा प्रहरीले पैदल हिँड्दै गरेका महिलामाथि पनि लाठी चार्ज गर्‍यो । धेरैको सवारी साधन नियन्त्रणमा लियो र धेरैलाई सर्तकता केन्द्रमा केही समय राखेर कोरोना भाइरसबाट बच्न अपनाउनुपर्ने सर्तकताबारे प्रशिक्षण दिएर छोडियो ।

सरकारले लागू गरेको नियम पालना गर्नु आम नागरिकको कर्तव्य हो । प्रहरीसामु सर्वसाधारण पनि उत्तिकै अटेर देखिएका थिए । सरकारले आफ्ना लागि नभएर नागरिककै भलोका लागि लकडाउनको आह्वान गरेको हुनाले अटेर गर्ने नागरिकमाथि सजाय दिएको कुरा ठीकै हो ।

यता, प्रहरीले नागरिकको बाध्यता बुझिदिनु पनि पर्ने हो । तर, यहाँ त्यस्तो देखिएन । केही भिडियोमा प्रहरीले भीडभाडमा नभएर एक्लै हिँडेको अवस्थामा सवाल नगरी लाठी बर्साएको पनि देखिएको थियो ।

सामाजिक सञ्जालमा भाइरल भएका केही भिडियो हेर्दा सुरक्षाकर्मीले बराबरी अपराध गरेता पनि सजायमा विभेद गरेको देखियो । पैदलयात्री, साइकलयात्री र मोटरसाइलमा हिँड्नेको तुलनामा कारमा हिँड्नेले सजाय कम पाए । भाइरल भिडियोमा पैदलयात्री, साइकलयात्री र मोटरसाइकलमा हिँड्नेले धेरै सजाय पाएको देखियो ।

जबकी प्रहरीले लकडाउनको अवज्ञा गरेकाले कारलगायत चार चक्के साधन पनि नियन्त्रणमा लिएको थियो । यद्यपि, मोटरसाइकल जत्तिको संख्यामा चार चक्के साधनहरू नियन्त्रणमा छैनन् ।

यस विषयमा सामाजिक सञ्जालमा टीका–टिप्पणीहरू भइरहेका छन् । कसैले लकडाउनको दोस्रो दिन प्रहरीले गरेको व्यवहार ठीक मानेका छन् त कसैले सजायमा विभेद भएको बताइरहेका छन् । कसैले प्रहरीलाई धन्यवाद दिएका छन् भने कसैले प्रहरीको व्यवहारमा विभेद भएको जनाएका छन् ।

भारतमा लगाइएको ‘जनता कर्फ्यू’को अवज्ञा गर्नेलाई भारतीय प्रहरीले पिटेको भिडियो हेरेका हेरेका सामाजिक सञ्जाल प्रयोगकर्ताले नेपालमा पनि त्यो सुरु भएको भन्दै खुशी पनि व्यक्त गरेका छन् ।

नेपालको कानून हेर्ने हो भने प्रहरीले सर्वसाधारणलाई त्यसरी दुर्व्यवहार गर्न मिल्दैन । यसैले प्रहरी प्रधान कार्यालय, नक्सालले सुनसरीको खनारस्थित सर्वसाधारणमाथि लाठी बर्साउने दुवैजना प्रहरीलाई विभागीय कारवाही गर्ने तयारी गरेको छ ।

Loading...