महामारी रोक्न मृत्युचेत कायम राख्ने प्रयत्न गरौं

–रामप्रसाद पौडेल

मलाई कहिलेकाहिँ यस्ता प्रश्नहरुले साह्रै सताउँछ ।

किन मान्छे यो संसारलाई नै आफ्नो सम्झन्छ ? किन मान्छेलाई लाग्छ कि म यस संसारमा अनन्तसम्मको लागि आएको हुँ ?

dfg
रामप्रसाद पौडेल

किन मान्छे ‘म’ मा केन्द्रित हुन थाल्छ र अरुलाई वास्ता गर्दैन ? किन जब कतै अप्ठेरो पर्छ त्यतिखेर मान्छेले झनै अप्ठ्यारो स्थितिको सिर्जना गरिदिन्छ ? किन मान्छे आफ्नै बुद्धिले झन् झन् खाल्डोमा जाकिँदै गएको छ ?

यो लेख सुरु गर्नुभन्दा पहिले म तपाईंहरु सबैलाई एउटा प्रश्न सोध्ने अनुमति चाहन्छु, जुन प्रश्नको जवाफ तपाईंले मलाई दिनुपर्दैन आफूले आफैंलाई दिए पुग्छ ।

0नेपाल अब लकडाउनको अवस्थामा पुग्छ भन्ने हल्ला फैलिइरहँदा तपाईंहरु कति जनाले बोराका बोरा चामल थुपार्नुभयो, २/४ सिलिण्डर ग्याँसको जोहो गर्नुभयो र केही नुन–तेलको मेसो मिलाउनुभयो ? अवश्य नै धेरैजसोले आफूले सकेजति र बजारमा उपलब्ध भएसम्म भोलिको लागि प्रबन्ध गर्नुभयो ।

तर त्यसरी जोहो गरिरहँदा कसैले सोच्नुभयो कि मैले ४ बोरा चामल किनिरहँदा, मेरो कमजोर छिमेकीले १ बोरा पनि किन्न सकेको छैन ? के कसैले सोच्नुभयो कि मैले यसरी थुपारेको कारण एकाएक बजार भाउ बढ्न जान्छ र गरिब–मजदुरहरु भोकभोकै मर्नुपर्छ ? तपाईंहरु कसैको मनमा आयो कि मैले थुपारेको अन्न खान नपाइकनै म मर्न पनि सक्छु ? वा मैले थुपारेको अन्न खाइसक्दा पनि अहिलेको अवस्था ज्यूँका त्यूँ रहिरहन सक्छ ? अवश्य नै सोच्नुभएन र तँछाडमछाड गर्दै आÇनो सुरक्षाको लागि तपाइँ लागिरहनुभयो ।

निश्चय नै संकष्टको घडीमा आÇनो सुरक्षा पहिलो प्राथमिकतामा पर्नुपर्छ नै त्यसको विरोधी म कदापि होइन । तर जुन हरकत हामी देखाउँछौं र अरुको छातिमा टेकेर हामी आफू अग्लिन खोज्छौं त्यो भने सर्वथा निन्दनीय छ ।

हामी जन्मिँदा कस्तो स्वभाव लिएर जन्मियौं कसैले पनि एकिन भन्न सक्दैन, तर हामी अहिले जे छौं त्यो भने हाम्रै समाजले बनाइदिएको हो । हामीले अग्रजहरुबाट कस्तो शिक्षा र संस्कार पायौं त्यही अनुसार हामी हाम्रो वर्तमान जिइरहेका छौं ।

अमेरिकामा कुनै कुराको लागि लाइन बस्नुप¥यो भने त्यहाँको राष्ट्रपति पनि लाइनमा बस्छ, तर हाम्रो देशको ठुटे नेता पनि पावर देखाउन आउँछ ।

विकसित मुलुकहरुमा आफूलाई जति माया गरिन्छ, त्यति नै अरुको आदर पनि गरिन्छ । तर हाम्रोमा भने मबाहेक अरु जेसुकै होस् भन्ने सोचले जरा गाडेर बसेको छ ।

अरुलाई सत्तोसराप गर्न हामीले पिएचडी गरिसकेका छौं । फलानो देश यस्तो, फलानो उस्तो भनेर हावा गफ हाँक्न हामीलाई कसैले उछिन्न सक्दैन । बिहानहुँदो चिया पसलहरु र साँझ परेपछि भट्टी–पसलहरु यस्तै गफहरुले भरिने गर्दछन् ।

जसको बारेमा धारेहात लगाएर गफ गरिन्छ उनीहरु संसारलाई नै चक्मा दिनेगरि विकासको उचाई चढिसके, हामी गफ हाँकेर बस्नेहरु भने सँधै जहाँको त्यहीँ छौं । हामी कर्मशील हुन कहिल्यै जानेनौं, जो कर्मशील छ उसलाई हामीले मान्छे नै गनेनौं ।

हामी त यति नराम्रोसँग पथभ्रष्ट भयौं कि लुच्चा, ठग, गफाडी, शोषक र सामन्तहरुलाई हामीले ठूलो बनायौं ।

किसान, मजदुर र परिश्रमीहरुलाई हामीले तल्लो स्तरमा झारिदियौं । हाम्रो देशमा सबैजना जान्ने मात्रै भए, सिक्ने कोही भएनन् । जबसम्म सिक्ने काम हुँदैन तबसम्म हामी कतै पनि पुग्न सक्दैनौं ।
हेर्नुहोस्, हामी सबै मानव हौं । तपाइँको धुत्र्याइँले तपाईं दुई पाइला अघि बढ्नुभयो होला, अरु दुई पाइला पछाडि नै होलान् ।

तपाइँले आलिसान महल खडा गर्नुभयो होला, अरु झुपडीमा बसिरहेका होलान् । तपाइँ विदेशी ह्विस्की तान्नुहोला, तपाइँको छिमेकी लोकल ठर्रामै मस्त होला । यी सबै कुराले केही फरक पार्दैन । किनभने हामी सबैको पुग्ने ठाउँ एउटै हो । पार्थिव रुपमा भन्ने हो भने हरेक मानिसको यात्रा चिहानभन्दा पर हुनै सक्दैन । यो सत्यतालाई म ‘मृत्युचेत’ भन्न रुचाउँछु ।

यदि हामीमा मृत्युचेत छ भने हामी मानव बन्न सक्छौं । हामीले आफूलाई जस्तै अरुलाई पनि दुख्छ भन्ने कुरा बुझ्छौं ।

मलाई जस्तै छिमेकीलाई पनि भोक लाग्छ, मलाई जस्तै गाउँलेलाई पनि रहर लाग्छ भन्ने कुरा बुझ्छौं । मैले देखेको जस्तै सपना अरुले पनि देख्छन् भन्ने कुरामा जब हामी सहमत हुन्छौं, हामी कहिल्यै पछुतोको तराजुमा जोखिनुपर्दैन ।

मृत्युचेत भएको मान्छेले कसरी आफू अघाएर छिमेकी भोको भएको हेरेर बस्न सक्छ ? मृत्युचेत भएको मान्छेले कसरी अरुलाई पछारेर आफू उभिने आँट गर्न सक्छ ? मृत्युचेत भएको मान्छेले कसरी यो संसारै मेरै हो भन्ने भ्रममा आÇनो सम्पूर्ण जीवन नै लुटाउन सक्छ ?

समयले हामीलाई फेरि पनि एकचोटि सोच्ने मौका दिएको छ । कोरोना त्रासकै कारण किन नहोस् हामी जिन्दगीको भागदौडबाट विश्राम लिने अवस्थामा पुगेका छौं ।

यतिखेर म यहाँहरु सबैलाई एकछिन भएपनि घोत्लिएर सोच्न आग्रह गर्न चाहन्छु । के तपाईंले आजभन्दा अघि जे गरिरहनुभएको थियो, सबै असल थियो ? के तपाईंले गरेको कामले कसैलाई पनि आघात पुगेको थिएन ? के तपाइँको विगतले तपाईंलाई शान्ति दिइरहेको छ, कि पछुतो भइरहेको छ ?

अहिलेको कहरबाट उन्मुक्ति पाइएछ भने अब उप्रान्त मृत्युचेत कायम राख्ने प्रयत्न गरौं । याद गरौं हामी अरुलाई घोच्न, बिझाउन र सताउनका लागि सृष्टि गरिएका प्राणी होइनौं । हामी त अरुभन्दा श्रेष्ठ र प्रेम बाँड्ने जीवहरु हौं ।

Loading...