कोरोनाका कारण स्पेनमा मर्नेहरूको संख्या चीनको भन्दा धेरै

एजेन्सी, १३ चैत । कोरोना भाइरस सङ्क्रमणका कारण स्पेनमा मर्नेहरूको सङ्ख्या चीनको भन्दा धेरै पुगेको छ ।

स्पेनमा कोरोना भाइरसका कारण कूल ३ हजार ६ सय ४७ मानिसले ज्यान गुमाएका छन् ।

चीनको भन्दा त्यो ३ सय ६० जनाले धेरै हो । चीनमा ८१ हजारमा सङ्क्रमण फैलिएपनि ज्यान गुमाउनेको सङ्ख्या ३२ सयभन्दा केही बढी बताइएको छ ।

बिबिसीका अनुसार स्पेनकी उपप्रधानमन्त्री कार्मेन काल्भोलाई पनि भाइरस सङ्क्रमण देखिएको छ ।

स्पेनमा खासगरि राजधानी मड्रिड सबैभन्दा प्रभावित भएको छ भने उत्तरपूर्वी क्याटलोनियामा पनि तीव्र गतिमा सङ्क्रमण बढिरहेको पाइएको छ ।

त्यहाँका सांसदहरूले देशमा लगाइएको आपतकालीन स्थितिलाई थप दुई साताले बढाएर ११ अप्रिलसम्म र्पुयाउनका लागि मतदान गर्दैछन् ।

त्यहाँ अत्यावश्यक सामान किनमेल गर्न वा कामका लागि निस्कन पाउनेगरी घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या सबभन्दा धेरै इटलीमा छन् । त्यहाँ ७ हजार ५ सय भन्दा धेरै मानिसले ज्यान गुमाइसकेका छन् ।

Loading...