सुकुम्बासी बस्तीमा खाद्यान्न वितरण

झापा, १३ चैत । दैनिक मजदूरी गरेर जीवन गुजारा गर्ने झापाको भद्रपुर १० र ९ का सुकुम्बासी वस्तीमा एक निजी विदालयले खाद्यान्न उपलब्ध गराएको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनका कारण काममा जान नपाएपछि गुजारा गर्नै मुस्किल परेपछि भद्रपुर १० स्थित प्रज्ञा एकाडेमीले सुकुम्बासी वस्तीका एक सय परिवारलाई खाद्यान्न उपलब्ध गराएको हो ।

भद्रपुर नगरपालिकाको समन्वयमा प्रतिपरिवार ५ किलो चामल र आधा केजी दाल वितरण गरेको प्रज्ञा एकाडेमीका प्रिन्सिपल इशुभ पाण्डेले जानकारी दिए ।

भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, १० नम्बर वडा अध्यक्ष टेकबहादुर खड्का, भद्रपुर ९ का कार्यवाहक वडाअध्यक्ष राम दाहाल, नगर शिक्षा शाखा प्रमुख प्रेमबहादुर भुजेललगायतको टोली बुधबार सुकुम्वासी बस्तीमा पुगेर सुरक्षितसाथ खाद्यान्न वितरण गरेको थियो ।

यसअघि पनि विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत बजार क्षेत्रमा १५ सय मास्क वितरण गरेको थियो ।

Loading...