एक परिवारलाई मासिक एक सिलिन्डर, कोरोना संक्रमणको जानकारी १४ घण्टा ‘लुकाइयो’

काठमाडौं, १३ चैत । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनको अवधि लम्बिन सक्ने र ग्यास बिक्री वितरणमा समस्या हुनसक्ने भएकाले महिनामा एक परिवारलाई एउटा सिलिन्डर उपलब्ध गराइने भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री–वितरणमा नयाँ वितरण नीति तथा प्रणाली लागू गरी सो व्यवस्था गरेको हो ।

त्यसका लागि बिक्रेताले उपभोक्ताको नाम, ठेगाना नागरिकता नम्बर र फोन नम्बरसहितको तथ्याङ्क राख्नुपर्नेछ । सो तथ्याङ्क जिल्ला प्रशासन कार्यालय वा निगमले अनुगमनका बेला वा जुनसुकै बेला पनि बिक्रेतासँग माग्न सक्नेछ । ग्यास उद्योगले डिलर बिक्री गरेको सिलिन्डरको परिमाण र डिलरले उपभोक्तालाई बिक्री गरेको परिमाण नियमित रूपमा परीक्षण गर्नुपर्नेछ ।

निगमका अनुसार ग्यास उद्योगले बिक्रेतालाई पठाउने ग्यास सिलिन्डरको परिमाण, बिक्रेताको नाम, ठेगाना, प्यान वा भ्याट नम्बरलगायतका विवरण खुलाउनुपर्नेछ । निगमको स्वीकृतिबिना ग्यास बिक्री गर्न पाइने छैन । आजको गोरखापत्र दैनिकमा खबर छ।

सञ्चार माध्यमहरूबाट बुधबार दिउँसो खबर फैलियो– मुलुकभित्रै तेस्रो व्यक्तिमा कोभिड–१९ संक्रमणको पुष्टि । तर अनलाइनहरूमा मुख्य समाचार बनिसक्दासम्म पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा कार्यरत चिकित्सकलाई मात्र हैन, निर्देशकलाई समेत त्यसबारे पत्तो थिएन । जबकि संक्रमित बिरामी त्यही अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन् ।

बिरामीमा कोभिड–१९ संक्रमण देखिएको सूचना बाहिरिएलगत्तै त्यसबारे बुझ्न उक्त अस्पतालका निर्देशक डा। सागरकुमार राजभण्डारीलाई सम्पर्क गर्दा उनले अनभिज्ञता जनाए । ‘हामीले उपचार गरिरहेको बिरामी, हामीलाई नै रिपोर्ट आएको छैन,’ उनले भने, ‘यहाँ डाक्टरहरू सबैले मलाई कराइरहेका छन् । मैले के जवाफ दिने ?’

लगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटालाई सम्पर्क गर्दा उनले भने, ‘म पनि विवरण खोज्दै छु, पाएको छैन । आधा घण्टामा कल गर्नुस् न है ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

Loading...