एक लाख बढी क्वारेन्टाइन बेड, घरमै आउँछ अत्यावश्यकीय सामान

काठमाडौं १३ चैत । सरकारले काठमाडौँ उपत्यकाका वासीको घर वा टोलमा अत्यावश्यकीय वस्तु ढुवानी गर्न मिनिट्रकको व्यवस्था गर्ने तयारी गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा रहेको टोल फ्रि नम्बर ११३७ मा उपभोक्ताले खान नपाएको भन्ने गुनासो आएपछि मिनिट्रकमार्फत अति आवश्यकीय खाद्य ढुवानीको व्यवस्था गर्न लागेको हो ।

ती मिनिट्रकलाई विशेष पास उपलब्ध गराएर अति आवश्यकीय खाद्यान्न जस्तो चामल, दाल, तेल, नुन, आलुलगायतका ढुवानी गर्नसकिने गरी तयारी भएको मन्त्रालयले जनाएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

सरकारले कोरोना भाइरस कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि देशभर उच्च सतर्कतासाथ एक लाख ३० हजार क्वारेन्टाइन बेडको निर्माण लक्ष्यसहित कार्यलाई तीव्रता दिएको छ ।

सरकारले राजधानी काठमाडौँमा पाँच हजार क्वारेन्टाइनका लागि ठाउँको पहिचान र व्यवस्थापन कार्य अगाडि बढाएको छ । क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नगरकोटका होटल व्यवसायीसँग बुधबार बिहान भेट गरी क्वारेन्टाइनका लागि होटल उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।

मन्त्री भट्टराईले व्यवसायीसँगको भेटघाटमा विश्व र मानव समाज नै गम्भीर सङ्कटबाट गुज्रिरहेको वर्तमान अवस्थाबाट मुक्तिका लागि सबैको सहकार्य, सहयोग र समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि नागरिकको अनुशासन प्रमुख भएको स्पष्ट पार्नुभयो । गोरखापत्र दैनिकमा खबर छ ।

Loading...