हेल्लो ! के छ गाउँको खबर ?

विराटनगर, १२ चैत । झापा मेचीनगरपालिका १० नागरडुब्बाका ७६ वर्षीय कपिमुनी लम्साल सपरिवार आफ्नै घरको क्वारेन्टाइनमा बसिरहेका छन् । साँझ बिहान बाहिर जानुपर्दा उनी मास्क प्रयोग गर्छन् तर घरभित्र बस्दा गर्दैनन् । साबुनपानीले हातधुनपर्छ भन्ने उनलाई हेक्का छ । यसैले धारामा साबुन राखिएका छन् ।

घरमा आउने सबैलाई उनी हात धोएर मात्र पिँढीमा आउन सुझाउने गरेको बताउँछन् । उनका अनुसार गाउँमा मान्छेहरू बाहिर खासै निस्किदैनन् । काम परे वल्लोघर पल्लोघरचाहिँ आउने–जाने गर्छन् तर सर्तक भएर । गाउँमा गाडीघोडा चलेका छैनन् यसैले व्यापार व्यवसाय पनि ठप्प छ । मानिसहरू खेतमा पनि खासै काम गर्दैन । वस्तुभाउका लागि घाँसपराल जोहो गर्ने र तीनलाई चरनमा लाने ल्याउने कामचाँही सबैले गर्ने गरेका छन् ।

मोरङ केरावारी गाउँपालिका–२ जेफालेका भीम ठकुरी कोरोना भाइरसबारे गाउँका सबैजना सचेत भएको बताउँछन् । पर्यटकीय क्षेत्र भएकोले यहाँ आन्तरिक पर्यटकहरू धेरै आउँछन् । तर कोराना फैलन नदिन यहाँ सञ्चालन भएका सबै घरका होमस्टे अनिश्चितकालका लागि बन्द गरिएका छन् ।

जेफाले सामुदायिक होमस्टे समितिका सचिवसमेत रहेका ठकुरीका अनुसार गाउँमा नयाँ मानिसहरूको आवतजावत ठप्प छ । गाउँमा हातधुनुपर्छ भन्ने चेतना भएपनि मास्क भने प्रयोग गर्दैनन् । ठकुरी भन्छन्, ‘जनसँख्या थोरै छ पहाडको चिसो ठाउँ भएकोले मान्छेहरू सकेसम्म सर्तक हुन खोज्छन् ।’

मोरङ केराबारी गाउँपालिका निवासी पत्रकार किशन शाहीका अनुसार गाउँको बजार भएपनि केराबारीमा लकडाउनको पूर्ण प्रभाव परेको छ । पहिलो दिन मानिसहरूले लकडाउन पालना गर्न बेवास्ता गरेका थिए । तर बुधबार प्रहरीले हर्पान थालेपछि मानिसहरू घरघरमा बस्न थालेका छन् । बजारबाहिरका गाउँमा पनि मानिसहरूको खासै चहलपहल छैन ।

मानिसहरू कोरोना भाइरस नआइदिए हुनेथियो भनेर चिन्तित छन् । मजदूर अभाव भएकोले निर्णण कार्यहरू पनि ठप्प छन् । मानिसहरू रेडियो, टिभी र मोबाइलबाट चनाखो भएर कोरोना भाइरसबारे खबर बुझने काम गर्छन् ।

मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित शनिश्चरे बजार क्षेत्र पनि सुनसान छ । मानिसहरू प्रायः सबै घरघरमा छन् । स्थानीय पत्रकार मोहन भट्टराईका अनुसार निर्माण कार्य सबै ठप्प छन् । कृषकहरूको आफ्नो दैनिकीमा असर छैन । उनीहरू सामान्य कामकाज गरिरहेका छन् ।

कानेपोखरी गाउँपालिका–६ का बासिन्दा पदमकुमार श्रेष्ठका अनुसार कोरानाको त्रास गाउँमा सबैमा छ । मानिसहरू खुलेर हिँडडुल गर्दैनन् । गाउँघर पनि सुनसान प्रायः लाग्छन् । परिवार भेला भएर विदेशमा रहेकाहरुको हालखबर बुझ्ने र उनीहरूको चिन्ता गर्ने धेरै छन् ।

उर्लाबारीका पत्रकार सरोज बस्नेतका अनुसार उर्लाबारी नगरपालिकामा लकडाउनको असर पूरै परेको छ । यातायात र आवतजावत सबै ठप्प छ । तर गाउँतिर भने मानिसहरू दैनिक कामकाजमा व्यस्त छन् । कोरोनाबारे सुनेबुझे पनि उनीहरूले खासै सर्तकता अपनाउने गरेका छैनन् ।

मोरङ सुन्दरहरैंचा–१ माइतीघर भइ हाल विराटनगरमा बसोवास गर्दै आएकी ईन्दिरा भट्टराईका अनुसार गाउँमा कोरोना भाइरसको त्रास बढेको छ । मरिमराउमा पनि मानिसहरू मलामी जान र कार्जेमा भेला हुन छाडेका छन् । गाउँमा नयाँ र विदेशबाट आएका मान्छेहरू एकदमै खोजिनिधि हुनथालेको छ ।

रंगेलीनगरपालिका–३ रन्जनी निवासी रविध्वज अधिकारीका अनुसार गाउँमा मान्छेहरूको हिँडडुल कम भएको छ । मास्क कसैले लगाउँछ धेरैले लगाउँदैनन् । वल्लोघर पल्लोघरबाहेक अन्यत्र हिँड्न छाडेका छन् । पहिले जस्तो झुण्डझुण्डमा भेला हुने पनि गर्दैनन् । दैनिक घरको काम भने गर्ने गरेका छन् । प्रायको ध्यान रेडियो–टिभीको समाचारमा हुने गरेको छ ।

सुन्दरहरैंचा ११, पथ्थरघट्टाकी कोपिला काफ्ले कोरोनाका कारण गाउँ नै त्रसित रहेको बताउँछिन् । विदेशबाट गाउँ फर्किएकाहरूको खोजिनिधि बढेको उनको भनाइ छ । गाउँमा हालै मात्र विदेशबाट आएका केही मानिस आएको कारण गाउँ नै त्रसित भएको उनले सुनाइन् ।

७० वर्षीय कोपिलाले सतर्कताका साथ घरमा बसेको बताइन् । आफू ‘होम क्वारेन्टाइन’मा बसेको सुनाउँदै उनले अत्यावश्यक काममा बाहेक अरु कामका लागि घरबाहिर निस्किन डर लागेको बताइन् ।

अनावश्यक हल्लाको कारण गाउँ त्रासमा रहेको बताउँदै उनले भनिन्, ‘कोरोना संक्रमितको संख्या तीन पुग्यो भनेपछि हामी अझ धेरै सतर्क भएका छौं । तर, विभिन्न सञ्चारमाध्यमले मोरङकै कतिपयलाई कोरोना आशंका गरिएको बताएपछि अझ गाउँमा त्रास फैलिएको छ ।’

यता, सुन्दरहरैंचा ११ कै कमला तिमल्सिनाले गाउँमा लकडाउनको पालना भइरहेको सुनाइन् । ‘गाउँमा कोरोनाको त्राससँगै लकडाउनको पालना पनि भइरहेको छ । अत्यावश्यक कामबाहेक घरबाहिर निस्किएका छैनौं । बाटो सुनसान नै छ,’ उनले भनिन् ।

यसैगरी उनले लकडाउनको कारण केही मानिसहरूले राजमार्ग नभएर भित्रि बाटो प्रयोगमा ल्याएको पनि बताइन् । उनले भनिन्, ‘केही मानिसको हुल इटहरीबाट भित्रि बाटो हुँदै पैदल पथ्थरघट्टा आइपुगेका थिए । उनीहरू इटहरी गएर सलकपुर फर्किँदै गरेका रहेछन् । पैदल बाटो ८ किलोमिटर हिँडेर यहाँ आएका थिए ।’

Loading...