निको भए पनि कोरोना भाइरस पुनः सक्रिय हुन सक्ने

विराटनगर, १२ चैत । कुनै पनि भाइरसको संक्रमण एकपटक भएपछि शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढ्छ र फेरि उक्त व्यक्तिमा संक्रमण नदोहोरिने सामान्य मान्यता रहेको छ ।

तर, कोरोना भाइरस अर्थात् कोभिड १९ संक्रमणपछि निको भएका कयौँ व्यक्तिमा गरिएका परीक्षणमा भने भाइरस ‘पोजिटिभ’ देखिएको छ ।

७० वर्षीय एक व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएकोपछि उनलाई टोक्योको एक अस्पतालमा आइसोलेसनमा राखिएको थियो ।

जापानको टेलिभिजन च्यानल एनएचकेका अनुसार ती व्यक्ति पूर्ण रूपले कोरोना भाइरसमुक्त भएको कारण पछिल्ला परीक्षण नेगेटिभ देखिएपछि उनलाई अस्पतालले डिस्चार्ज गरिदिएको थियो ।

सामान्य दैनिकीमा फर्किएका ति व्यक्तिलाई केही दिनमै ज्वोरो आएर स्वास्थ्य बिग्रन थाल्यो ।

त्यसपछि चिकित्सकले उनको पुनः कोरोना भाइरस परीक्षण गर्दा पोजिटिभ पाइयो ।

दोस्रो पटक अस्पताल जाने यो जापानमा पहिलो र एकलो घटना नभएर दोस्रो पटक भाइरस पोजिटिभ देखिएका घटना थुप्रै भेटिएका छन् ।

स्पेनिस नेसनल सेन्टर फर बायोटेक्नोलोजी (सीएसआईसी) का अनुसन्धानकर्ता लुई एखुआनेसका अनुसार कोरोनाबाट अहिलेसम्म कम्तिमा १४ प्रतिशत संक्रमण दोहोरिएको घटना पाइएको छ ।

अनुसन्धानबाट नयाँ भाइरस संक्रमण फेरि नभई सुषुप्त भएको पहिलेकै भाइरस शरीरमा आफै बढेको अर्थात् ‘बाउन्सिङ ब्याक’ भएको खुलेको छ ।

कुनै भाइरस मानिसको शरीरभित्र तीन महिना वा सोभन्दा बढी समयसम्म रहन सक्छ ।

अनुसन्धानकर्ता एखुआनेसले जब व्यक्तिको प्रतिरोधात्मक शक्ति कमजोर हुँदै जान्छ पहिलेदेखि शरीरमा सुषुप्त रहेको भाइरस पुनः सक्रिय हुन सक्ने बताएका छन् ।

Loading...