झापामा लकडाउन प्रभावकारी

भद्रपुर, १२ चैत । नेपालमा फेला परिसकेको कोभिड–१९ को सङ्क्रमण फैलिन नदिने उद्देश्यले सरकारले घर बाहिर ननिस्कन दिएको आदेशलाई झापाका नागरिकले पूर्णरूपमा पालना गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले अत्यावश्यकबाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको बताउँदै लकडाउनको उल्लङ्घन नभएको बताए ।

उनले भने, “सबैले लकडाउन हाम्रै लागि हो भनेर सरकारी आदेशको पालना गरिरहेकै छन् । हिजो अली उल्लङ्घन भएको थियो, आदेश नमान्नेका सवारी साधान नै नियन्त्रणमा लिएपछि आज पूर्ण पालना भएको छ ।”

प्रवक्ता श्रेष्ठले लकडाउनको प्रहरीले अनुगमन गरिरहेको र झापामा सबैतिर सर्वसाधारण घरभित्रै बसेको जानकारी आएको बताउँदै किराना पसल, पेट्रोलपम्प, दूध डेरीलगायतका अत्यावश्यक पसललाई खुल्न दिइएको जानकारी दिए ।

कार्यालय प्रमुख तथा प्रहरी उपरीक्षक कृष्ण कोइरालाले झापाका १५ स्थानीय तहमा विगत सात दिनदेखि विदेशबाट आउने व्यक्तिको लगत सङ्कन गरिरहेको बताए । उनले सामाजिक सञ्जालमै विभिन्न वडाका टोल विकास समिति, पूर्वप्रहरी, जनप्रतिनिधि र स्थानीयवासीलाई १५ दिनअघिदेखि विदेशबाट आएका व्यक्तिका बारेमा प्रहरीलाई जानकारी दिन आग्रह गरे ।

उपरीक्षक कोइरालाले सामाजिक सञ्जालमार्फत नै वर्तमान अवस्थालाई बुझेर आफू सुरक्षित रहन र सुरक्षित गराउनसमेत उनीहरुलाई अनुरोध गरेका छन् । बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराईले सरकारले घर बाहिर हिँडडुल नगरी सात दिनसम्म सुरक्षित बस्न दिएको आदेशलाई झापाली सचेत नागरिकले स्वागत गरेको बताए । रासस

Loading...